प्रेस्टिज कार्पेटको डिजिटल प्रिन्टमा हामीले फड्को मारेका छौं «

प्रेस्टिज कार्पेटको डिजिटल प्रिन्टमा हामीले फड्को मारेका छौं

काठमाडाैं- राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) बिहीबारबाट शुरु हुँदै छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म एक्स्पो आयोजना गर्दै छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यले गर्न लागेको एक्स्पोले आर्थिक गतिविधि सुस्त भइरहेका बेला बजार चलायमान हुने अपेक्षा लिएको छ । स्वदेशी कार्पेट उत्पादनमा ७५ प्रतिशत बजार हिस्सा ओगटेको प्रेस्टिजले छुट्टै पहिचान बनाउन सफल भएको छ ।

पेस्टिजले एक्स्पोमा स्टल राखेको छ र सो स्टलमार्फत आम जनमानसमा कम्पनीले उत्पादन गरेका र बिक्री वितरण गर्दै आएको कार्पेटको जनाकारी दिने छ । ३६ वर्ष अगाडि वितरकबाट सुरु भएको कम्पनीले विगत ६ वर्षदेखि उद्योग स्थापना गरेर स्वदेशी उत्पादनलाई उपभोक्तामाझ पुर्‍याउँदै आएको छ । जस्तो सोच उस्तै प्रिन्ट भन्ने नारासहित डिजिटल कार्पेट उत्पादन गर्दै आएको प्रेस्टिजका प्रबन्ध निर्देशक अनिल महेश्वरीसँग कारोबारले गरेको कुराकानीको सारः

नेपालमा कार्पेट बजारको अवस्था कस्तो छ ?
नेपालको फर्निसिङ बजार राम्रो र विकास हुने क्रममा छ । यसको बजार कहिल्यै पनि कम हुँदैन, विस्तारै बढ्दै जाने हो । नेपालमा कार्पेटको बजार कति हो त्यसको एकिन तथ्यांक भने छैन ।

यसमा हाम्रो आन्तरिक उत्पादन कति छ र बाहिरबाट कति आयात हुन्छ, आउने अघिल्लो वर्षदेखि अभाव कम भएको हिसावले बढीजसो आन्तरिक उत्पादनले धानेको छ । नेपालमा प्रयोग हुने कार्पेटको ९५ प्रतिशत हिस्सा आन्तरिक उत्पादनले धानिरहेको छ ।

तपाईंहरुले नै विगत ६ वर्षदेखि उत्पादन गरिरहेको प्रेस्टिज कार्पेटको बजार कस्तो छ ?
हामीले सन् २०१८ बाट प्रेस्टिज कार्पेटको उत्पादन सुरु गरेका हौं । माग बढ्दै गएपछि युरोप र अमेरिकाबाट विदेशी मेसिन र प्रविधिसमेत भित्र्याएका छौं । कोभिडपछि सञ्चालन राम्रै भइरहेको छ भने गुणस्तरमा कुनै सम्झौता गरेको छैनौं ।

त्यही भएर अहिले बजारमा आयातभन्दा यही उत्पादन भएका लोकल सामग्रीको माग बढी छ । पछिल्लो डेढ वर्षयता पुनः पूर्ण क्षमतामा उद्योग सञ्चालन भइरहेको छ । हाम्रो उद्योग वीरगन्जको परवानीपुरमा छ । अहिले कार्पेटको आयात घट्दै गएको छ । ३६ वर्षअघि वितरक कम्पनीका रूपमा सुरु भएको फेसन फर्निसिङ ट्रेडिङ कम्पनीले अहिले आफ्नै उत्पादन सुरु गरिसकेको छ ।

अरु कम्पनीले उत्पादन गर्ने कार्पेट भन्दा प्रेस्टिज कसरी फरक छ ?
आन्तरिक कम्पनीमा कार्पेट र गलैंचा उत्पादनमा प्रेस्टिजले छुट्टै पहिचान बनाउन सफल भएको छ । हामीले उत्पादन गर्ने प्रेस्टिजले कार्पेट धेरै प्रकारको छ । जस्तैः प्लेन कार्पेट कट्पाइल हुन्छ, कट्पाइल ग्राफिक हुन्छ, हाइनो कार्पेट हुन्छ । यो सबै थरीको निर्यात हुन थालेको छ । हालै नयाँ प्रविधिको प्रयोग गरेर डिजिटल प्रिन्टिङ थालेका छौं ।

जसमा जस्तो सोज उस्तै प्रिन्ट भन्ने नारा राखेका छौं । त्यसपछि हामी पीभीसी फ्लोरिङमा पनि जाने हो । पीभीसी फ्लोरिङको उत्पादन डेढ–दुई वर्षमा सुरु गर्ने योजना छ । पहिल्लो समयमा हामी कार्पेटमा चाँही आत्मनिर्भर भएको अवस्था छ । हाम्रो कम्पनीमा लगभग ४० करोडको लगानी भइसकेको छ । हालै डिजिटल प्रिन्टको उत्पादन सुरु गरेका छौं । यो मेसिनका लागि थप १२ करोड रुपैयाँ लगानी भएको छ । हामीले ल्याएको मेसिन सबै महँगो छ र राम्रो छ, राम्रो उत्पादनका लागि त्यो ल्याएको हो ।

यस्तो अरू फ्याक्ट्रीले पनि राखेको छ । यहाँ सामान्य मेसिन ल्याएर ५/६ करोड रुपैयाँ पनि लगाउन सकिन्छ । हाम्रो फ्याक्ट्रीमा ८० जनाले रोजगारी पाएका छन् । स्वदेशी कार्पेट उत्पादनमा ७५ प्रतिशत बजार हिस्सा ओगटेको प्रेस्टिजले छुट्टै पहिचान बनाउन सफल भएको छ ।

यस क्षेत्रका चुनौती र अवसर के के छन् ?
अहिले नेपालमा जनशक्तिकोे पनि कमी छैन, फर्निसिङको काम सिकेर विदेशतिर जानको संख्या बढेको छ । त्यो भएर हाम्रो फर्निसिङको पसल उद्योग तालिम केन्द्र जस्तो भएको छ, काम सिकेर विदेश जाने ।

यसले गर्दा उद्योगहरुले दक्ष जनशक्तिको अभाव झेल्नु परिरहेको छ । विदेशी सामान मात्र राम्रो, नेपालको राम्रो हुँदैन भन्ने सोच छ । त्यसलाई हटाउन हामीले गुणस्तरिय उत्पादनमा जोड दिएका छौं । त्यसलाई हटाउन र विदेशीभन्दा सस्तो हुन्छ भन्ने र बुझाउने हाम्रो कर्तव्य हो ।

नेपाली कार्पेट निर्यात गर्ने सकिने अवस्था छ ?
सरकारी नीति थोरै परिवर्तन गर्ने हो भने हामी गुणस्तरअनुसार निर्यात गर्न तयार छौं । नीतिगत सहजिकरण गर्ने र कच्चा पदार्थमा सहुलियत दिएको खण्डमा हाम्रो उत्पादन नियात गरेर अन्तर्राट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज हुने छ ।

सरकारले अलिकति सहयोग वा सहजीकरण गरिदियो भने भोलिदेखि नै निर्यात गर्न सकिन्छ । हामीले बेल्जियम, दुबईलगायतका तेस्रो मुलुकबाट सेन्थेटिक कार्पेट आयात गर्न सुरु गरेका हौं । कार्पेट र गलैंचा आयात गर्न थालेको २१ वर्ष भइसक्यो । आधा दर्जन भन्दा बढी वितरक कम्पनीबाट बिक्री वितरण हुँदै आएको छ ।

हामीले २००२ मा ट्रेनिङबाट सुरु गरेको हो कार्पेट उद्योग । २००२ देखि आयात गरेर बेच्दै थियौं र त्यो समयमा महिनामा एक कन्टेनर दुई कन्टेनर बिक्री हुन्थ्यो । पछि आउँदा २०१२/०१४ मा २५ कन्टेनरसम्म आयो, पछिल्लो समय त्यसको आयत ५० कन्टेनरसम्म भयो ।

पछिल्लो समय हामीले यहाँ बजार विकास भएपछि ६ वर्ष अघिबाट उद्योग चलाइ रहेका छौं । पहिले भारत र चीनबाट धेरै आयत हुने गरेको थियो भने पछिल्लो सयम ती देशबाट एकदमै न्यून आयोत हुने गरेको छ । बेल्जियम नेदरल्याण्ड, दुबई, साउदी अरेयिबा र टर्कीबाट कार्पेट बढी कार्पेट आउने गरेको छ ।

बजारमा नेपाली कार्पेटको उपयोग र आन्तरिक उत्पादनमा जोड दिन सरकार कसरी सहजीकरण गर्नुपर्छ ?
कार्पेट सम्बन्धी उद्योग खुलिरहेको भएपनि अन्तर्राष्ट्रियस्तरका कार्पेटको उत्पादनमा हामीले जोड दिएर अरुभन्दा फरक उत्पादन गरेका छौं । पछिल्लो सयम नेपालीहरुमा कार्पेटको प्रयोग र उपयोगिताको चेतना वृद्धि भएको भएपनि सावर्जनिक निकायमा प्रयोग हुने कार्पेटको गुणस्तरमा भने सुधार हुन सकेको छैन ।

धेरैजसो सरकारी कार्यालयमा पनि कार्पेट भए पुग्ने अवस्था मात्र छ । नेपाली बजारमा बढी प्रयोग हुने प्रेस्टिज कार्पेट हो । हामीले नेपालमा बनाइरहेको प्रेस्टिजको कार्पेट भनेको अमेरिकन र अस्ट्रेलियन प्रविधिको हो । जुन कार्पेट उद्योगमा विश्वकै उच्च वेस्ट प्रविधि हो । आयातित भन्दा १५ देखि २० प्रतिशतले हाम्रो उत्पादन सस्तो छ । आन्तरिक उत्पादनलाई बढावा दिन सरकारले कच्चा पदार्थ आयातमा भन्सार छुट दिनुपर्छ ।

जसले अन्तर्राष्ट्रियस्तरको बजारमा प्रतिस्पर्धी उत्पादन बजारमा ल्याउन सक्छौं । साथै कार्पेटको नियात बढाउन सकिएको अवस्थामा हाम्रो उद्योग पूर्ण क्षमतामा मासिक ४ लाख वर्गमिटरसम्म उत्पादन गर्न सक्ने क्षमता भएपनि ५० प्रतिशत मात्रै उत्पादन हुँदै आएको छ । हामीले वार्षिक १० लाख स्क्वायर फिट उत्पादन गरिरहेका छौं । निर्यात गर्न नसकेर पूर्ण क्षमतामा चल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्