अर्थतन्त्रलाई गतिशील बनाउन गभर्नर र सिबिफिनबीच छलफल

काठमाडौं– अर्थतन्त्रलाई गतिशील बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि–मण्डलले छलफल गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भए तापनि आर्थिक क्रियाकलापहरू अपेक्षित रूपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायहरूका विषयमा छलफल गरेको हो ।
छलफलका क्रममा सिबिफिनका अध्यक्ष गोल्यानले राष्ट्र बैंकमार्फत हालै जारी चालु आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनीय सुधार भएको भए तापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीतिजस्ता क्षेत्रहरूमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोमा ध्यानाकर्षण गराएका थिए ।
वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरूले गतिशीलता प्राप्त गर्ने विषयमा उनले जोड दिए ।
गोल्यानले बाफियाको व्यवस्थाबमोजिम संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्न पाउने व्यवस्था, चालु पुँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिँदो लाभांशलगायतका विषयमा सुझाव पेस गरेका छन् ।
सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेस समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक बहुपयोगी अध्ययनमूलक पुस्तक भने गभर्नर समक्ष हस्तान्तरण गरिएको थियो ।
विगतमा छिमेकी राष्ट्रहरूको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै, समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेस गरेका सुझावहरूको औचित्य, आवश्यकतालाई नीतिगत व्यवस्था गर्न पनि सिबिफिनले आग्रह गरेको छ ।
सो अवसरमा गभर्नर अधिकारीले बाह्य परिसूचकमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गरेको विषयमा चर्चा गर्दै आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्यांकनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरू अपनाउँदै जाने बताए ।
राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी केन्द्रीय बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको गनर्भरको भनाइ थियो । उनले तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्ष उत्तिकै गम्भीर र जिम्मवार हुनुपर्ने आवश्यकता औंल्याए ।