Logo

नार्कको संरचना मोडल परिवर्तन गर्ने तयारी

काठमाडौं– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को संरचना मोडल परिवर्तन गर्ने तयारी गरिएको छ । कृषि अनुसन्धान सेवा, मानित विश्वविद्यालय, कृषि अनुसन्धान सचिव हुने गरी नार्कको संरचना मोडल परिवर्तन गर्ने तयारी भएको हो ।

नार्कको पुनर्संरचनाका लागि गठित सुझाव उपसमितिले प्रारम्भिक प्रतिवेदन लेखनको कार्य सुरु गर्ने जनाएको छ । उक्त विषयमा मंगलबार नार्कको केन्द्रीय कार्यालय खुमलटारमा छलफल भएको छ । छलफलमा सहभागी कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले उपसमितिलाई तत्काल एवं दीर्घकालमा के–के गर्नुपर्ने, त्यसका लागि आवश्यक योजना, जनशक्ति, बजेटलगायतका विषयमा स्पष्ट खाकासहित प्रतिवेदन तयार निर्देशन दिएका छन् ।

‘नार्कलाई मानित विश्वविद्यालयको रूपमा आवश्यकता र औचित्य कति छ ? यो किन चाहिन्छ, स्पष्ट रूपमा प्रतिवेदनमा आउनुपर्‍यो । यसको संरचना कस्तो हुने ?’ मन्त्री भुसालले भने, ‘कृषि अनुसन्धान सचिव, कृषि सेवा आयोगलगायतको विषयमा कुरा उठेको छ । सबै विषयमा छलफल गरी आएको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्नुपर्ला ।’

नार्कका कार्यकारी निर्देशक ध्रुवराज भट्टराईले नार्ककै मातहतमा रहने गरी मानित विश्वविद्यालय अहिलेको आवश्यकता रहेको बताए । नार्कलाई छुट्टै विश्वविद्यालयको मोडेलमा गठन नगरी नार्कअन्तर्गतका प्रतिष्ठानको मातहतमा हुने गरी मानित विश्वविद्यालय गठन गर्नुपर्ने उनले बताए । यसैगरी कृषि अनुसन्धान सचिव, कृषि सेवा आयोगलगायतका विषयमा समेत उनले आफ्नो धारणा राखेका छन् ।

नार्कको पुनर्संरचनाका लागि गठन भएको सुझाव उपसमितिका संयोजक टेकबहादुर गुरुङले अहिलेसम्म भएको सम्पूर्ण प्रगतिका बारेमा प्रकाश पारेका थिए । छलफलमा सहभागी प्रा.डा. दुर्गामणि गौतमले नार्कमा विषय, विशेषज्ञको स्थायित्व, विषयगत अनुसन्धान केन्द्रहरूको विकेन्द्रीकरण, कार्यकारी निर्देशकलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण र विश्वविद्यालयसँग नार्कको समन्वयमा ध्यान दिनुपर्ने बताए ।

सुझाव उपसमितिका अर्का सदस्य एवं कृषि मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले विद्यमान ऐनमा सुधार गरी अनुसन्धानको वातावरण बनाउन र अनुसन्धानकर्ताको मनोबल बढाउन विशेष योजनासहित दीर्घकालीन रूपमा मानित विश्वविद्यालयलाई समेत नार्कमा समेट्नुपर्ने बताइन् ।
यसैगरी उपसमितिका अर्का सदस्य दोजराज खनालले नार्कलाई अनुसन्धान सेवा र विभाग, कार्यकारी निर्देशकलाई अनुसन्धान सचिवका रूपमा जिम्मेवारी दिदा अहिलेका धेरै समस्या समाधान हुने बताए ।

विषयगत निर्देशकलगायतको सहभागिता रहेको उक्त कार्यक्रममा विषयगत निर्देशकहरूले मन्त्रीसमक्ष आ–आफ्नो विषयमा नार्कमा भइरहेका अनुसन्धानका गतिविधिका बारेमा जानकारी गराएको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख कालिकाप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्