४२ महिनामा सुरुङमार्गको ६१ प्रतिशत भौतिक प्रगति
मुख्य सुरुङ ३४७ मिटर खन्न बाँकी

काठमाडौं– निर्माणाधीन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको प्रगति ९३.७० प्रतिशत पुगेको छ । आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये २ हजार ३ सय ४०.४० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।’
आयोजनाको गत महिना कुल ९१.७० प्रतिशत काम पूरा भएकोे थियो । निकासी सुरुङमार्गको २५ सय ५७ मिटर सुरुङ खन्ने काम साउन २२ मा पूरा भएको थियो । ओर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज, १ सय २८ मिटरमध्ये १ सय १० मिटर पूरा भएको छ । आयोजनाको समग्र भौतिक प्रगति ६१ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५७ प्रतिशत पूरा भएको छ ।
मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम भइरहेको छ । सुरुङमार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ) को कामसमेत तीव्रताका साथ अघि बढाएको छ । हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट सुरुङ खन्ने कामसम्पन्न भएको प्रगति विवरणमा आयोजनाले सार्वजनिक गरेको छ ।
निर्माणाधीन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग समयमा पूरा नहुने भएपछि १ वर्ष म्याद थप भएको छ । सम्झौताअनुसार जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले २६ जुलाई ०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, निर्धारित समयमा आयोजना पूरा नहुने भएपछि सरकारले आगामी २५ अप्रिल २०२४ सम्मका लागि समय थप गरेको छ ।
०७७ वर्षको पुस ७ बाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए । लम्बाइ २.६८ किमि, चौडाइ ३.५ किमि, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमि, पश्चिम लम्बाइ ०.५६५ किमि निर्माण हुनेछन् । कोभिड–१९ र आन्तरिक तयारीका कारण केही महिना ढिलो भएको थियो ।
सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । सम्झौताअनुसार जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले काम सुरु गरेको ४५ महिना भित्र (थप गरेको तीन महिनासहित) थप ९ महिना थप हुँदा ५४ महिना हुन्छ ।
आयोजनाले निर्माण गर्नुपर्ने तीन अन्डरपास, चार वक्र्स कल्भर्ट, एक ओभर पास, तीन पुल निर्माण पूरा भएको छ भने एक फ्लाइओभरको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।