नेपालगन्ज–बघौडा हुलाकी सडकको म्याद थपिँदै «

नेपालगन्ज–बघौडा हुलाकी सडकको म्याद थपिँदै

बाँकेको राप्तीपारीका जनतालाई सदरमुकाम नेपालगन्जसम्म जोड्ने एकमात्र विकल्पको रूपमा रहेको नेपालगन्ज–बघौडा हुलाकी सडकको म्याद थप्ने तयारी थालिएको छ । निर्माण कम्पनीको ढीलासुस्ती, हुलाकी सडकअन्तर्गत पर्ने विद्युत्का पोल नहटाउनु, मुआब्जासम्बन्धी समस्या, नक्सांकन विवादलगायत विभिन्न कारणले सडक निर्माणमा ढिलाइ भएपछि हुलाकी राजमार्ग आयोजना नेपालगन्जले म्याद थप्ने तयारी थालेको हो ।
२०७३ माघ २० गते सम्झौता भई निर्माण थालिएको सडकको ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार साउन २० गते उक्त सडकको म्याद सकिएको छ । हुलाकी राजमार्ग आयोजना नेपालगन्जका अनुसार हालसम्म सडक निर्माणको ७० प्रतिशत काम सकिएको छ । हालसम्म २५ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको आयोजनाका ईन्जिनियर सुरेश चौधरीले बताए । “मौसमले साथ दिएमा दुई दिनभित्र थप ३ किलोमिटर सकिन्छ,” उनले भने । पहिलो चरणको पुष्पलाल चोकदेखि कोहलासम्मको २२ किलामिटर सकेर दोस्रो चरणको सडक कालोपत्रे भइरहेको उनको भनाइ छ । आयोजनाका अनुसार निर्माण कम्पनीले हालसम्म करिव ६० प्रतिशत भुक्तानी लिएको छ ।
सम्झौता अवधि सकिएपछि पनि निर्माणको ३० प्रतिशत काम बाँकी रहेकाले आयोजनाले निर्माण कम्पनीको म्याद थप्ने तयारी थालेको हो । आयोजनाका ईन्जिनियर चौधरीले पुससम्म निर्माण सक्ने गरी म्याद थपको प्रक्रिया थालेको बताए । “समयमै स्थानीय स्रोत साधन उपलब्ध भएमा पुसभित्रै निर्माण पुरा हुन्छ,” उनले भने, “बाँकी रहेको कामका लागि पुस भित्र सकिने अनुमान गरेर म्याद थप्ने तयारी थालेका छौं ।”
त्यस्तै आयोजनाअन्तर्गत राप्ती नदीमा निर्माण थालिएको पुल निर्माण सम्पन्न भएको छ । विगतमा पुलको डिजाईन गर्दा ५० मिटरको मात्र डिजाइन गरिएका कारण पुल नदीको बीचमा हुने भएपछि आयोजनाले पुलको दायाबायाँ दुवैतर्फ करिव ८ सय मिटर थप्ने तयारी थालिएको आयोजनाले जनाएको छ । आयोजनाका ईन्जिनियर चौधरीका अनुसार पुलको लम्बाई थप गर्ने प्रक्रियामा रहेको छ ।
नेपालगन्जदेखि बघौडासम्म ४४ किलोमिटर सडक स्तरोन्नतिका लागि दुईवटा प्याकेजमा पप्पु-लुम्बिनी जेभीले ठेक्का पाएको भए पनि सडकको जिम्मा गणपती कन्ट्रक्सनलाई दिएको छ । पहिलो प्याकेजअन्तर्गत पुष्पलाल चोकदेखि राप्ती सोनारी गाउँपालिकाको कोहलासम्म २२ किलोमिटर सडक निर्माण भइरहेको छ भने दोस्रो प्याकेजअन्तर्गत कोहलादेखि बघौडासम्म निर्माण भइरहेको छ ।
नेपालगन्जदेखि बघौडासम्म ४४ किलोमिटर सडक स्तरोन्नतीका लागि दुईवटा प्याकेजमा पप्पु-लुम्बीनी जेभीले ठेक्का पाएको भए पनि सडकको जिम्मा गणपती कन्ट्रक्सनलाई दिएको छ । पहिलो प्याकेजअन्तर्गत पुष्पलाल चोकदेखि राप्ती सोनारी गाउँपालिकाको कोहलासम्म निर्माणाधीन २२ किलोमिटर सडक खण्ड अन्तिम चरणमा पुगेको हो । हालसम्म २० किलोमिटर कालोपत्रेको काम सम्पन्न भइसकेको छ । यो सडक ३० करोड ७० लाखको लागतमा निर्माण भएको हो । त्यस्तै दोस्रो प्याकेजअन्तगर्त कोहलादेखि बघौडासम्मको बाँकी २२ किलोमिटर सडक खण्ड निर्माणको कुल ३१ करोड ३९ लाख ४३ हजारको लागतमा निर्माण भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्