एउटै सडक बनाएको देखाएर दुई कार्यालयबाट भुक्तानी «

एउटै सडक बनाएको देखाएर दुई कार्यालयबाट भुक्तानी

जाजरकोट– उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको मिलेमतोमा एउटा सडक बनाएर दुई कार्यालयबाट भुक्तानी लिएको फेला परेको छ ।

जाजरकोटको नलगाड नगरपालिका–११ स्थित उखाले–तल्लु सडक निर्माण योजना सम्पन्न गरेपछि दुई कार्यालयबाट भुक्तानी लिएको भेटिएको हो । यो योजना निर्माण भएपछि नलगाड नगरपालिकाले भुक्तानी दिएको छ भने पूर्वाधार विकास कार्यालय जाजरकोटबाट पनि भुक्तानी भएको छ ।

नलगाड नगरपालिकाबाट १९ लाख ४० हजार र भौतिक पूर्वाधार विकास कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी भएको छ । दुई कार्यालयबाट भुक्तानी लिएको भेटिएपछि पूर्वाधार विकास कार्यालयले अनुगमनका लागि कर्मचारी खटाएको छ ।

यस्तो भुक्तानी सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०७९ (१२औं संशोधन) विपरीत हो । कार्यालयका एक कर्मचारीका अनुसार उपभोक्ता समितिकै जना सदस्यले पेटी ठेक्का लिएर काम गरेबापत दुवैतिरबाट भुक्तानी लिएका थिए । स्थानीय तह, प्रदेश र संघीय सरकारको सहलगानीको आयोजना भएमा पालिकाले प्राथमिकता निर्धारण गरी सोहीअनुसार डीपीआर गरेर लगानी एकीकृत गरी निर्माण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसँग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेमबहादुर सिंह, सचिव प्रेमबहादुर मल्ल र कोषाध्यक्ष विष्णुकुमारी मल्लले सम्झौतामा हस्ताक्षर गरेका छन् । नलगाड नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक सरिता सिंहले भनिन्, ‘नगरपालिकाकै डिजाइन र स्टिमेटअनुसार काम भइराखेको छ । यो हाम्रै काम हो भनेर विश्वास गर्यौं । हामी पटकपटक अनुगमनमा गयौं तर अहिले एउटै काममा दुईतिरबाट भुक्तानी लिएको कुरा आएको छ ।’

नलगाड नगरपालिका–११ का वडाध्यक्ष लालबहादुर बानियाँले असार मसान्तमा आएको रकम भएकाले फ्रिज हुने डरमा प्राविधिकको सिफारिसअनुसार उपभोक्ता समितिलाई भुक्तानी दिइएको बताए । यो योजनाका लागि नगरपालिकाबाट आएको बजेट कम भएकाले राजनीतिक दलका नेताको सक्रियतामा असार मसान्तमा थप बजेट आएको थियो । अन्तिममा आएको बजेट भुक्तानी गर्न ठेकेदार र जनप्रतिनिधिलाई राखेर उपभोक्ता समिति गठन गर्न सिफारिस दिइएको उनले बताए । अनुगमनका क्रममा उपभोक्ता समितिबाट सन्तोषजनक काम नभएको उनले स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्