विदेश जाने ३५ प्रतिशत अदक्ष कामदार «

विदेश जाने ३५ प्रतिशत अदक्ष कामदार

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका लागि अनिवार्य गरेको सीप विकास तालिम कार्यविधि कार्यान्वयन नगर्दा ठूलो संख्यामा कामदार सीपबिनै विदेशिने गरेका छन् ।

सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेको पाँच वर्ष बितिसकेको छ । यो कार्यविधिअनुसार काम नगरेका कारण पछिल्लो दुई वर्षमा मात्र करिब पाँच लाख युवा कोरा श्रमिकका रुपमा विदेश जान बाध्य भएका हुन् । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–७९ र २०७९–८० मा १४ लाख युवा वैदेशिक रोजगारीमा गएका थिए । त्यसमध्ये ४ लाख ८५ हजार अदक्ष कामदारका रुपमा गएका हुन् । वैदेशिक रोजगारीमा जाने कुल संख्यामध्ये अदक्ष कामदारको संख्या करिब ३५ प्रतिशत छ । यसबाहेक ८ लाख दक्ष र १ लाख १४ हजार अर्धदक्षका रुपमा विदेशिएका छन् । यो तथ्यांकले अझै पनि नेपाल ‘लेबर ब्रान्डेड’ श्रमिक स्रोत मुलुकका रुपमा रहेको देखाउँछ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार उच्च दक्ष कामदारका रुपमा २ सय ५७ जनामात्र विदेश गएका छन् । यस्तै, पेशागत कर्मचारीका रुपमा १ हजार १५३ र दक्ष जनशक्तिका रुपमा ५ लाख ६ हजार ५ सय ४६ जना काम गर्न विदेश पुगेका छन् । गत वर्ष ६० हजार ५ सय ५५ जना अर्धदक्षका रुपमा विदेश गएका थिए भने २ लाख २ हजार जना अदक्षका रुपमा पुगेका थिए ।

विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले वैदेशिक रोजगारीमा जानेमध्ये धेरै अदक्ष रहेका कारण तालिमलाई अनिवार्य भन्दा पनि प्रोत्साहन गर्ने सरकारको योजना रहेको बताए । वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको संख्या क्रमशः घट्दै त्यसको स्थानमा दक्ष श्रमिक बढेको दाबी उनले गरे । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार एक महिनाको सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाएको थियो ।

नेपाली कामदार जाने गन्तव्य मुलुकहरुमा भारत, बंगलादेश, फिलिपिन्स लगायत देशका कामदार पनि जाने गरेका छन् । तर, यी मुलुकको तुलनामा नेपालबाट धेरै युवा कोरा श्रमिकको रुपमा खाडी तथा मलेसिया जाने गरेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । कोरा श्रमिकका रुपमा विदेश जाने प्रवृत्तिले श्रमिकको कार्य हैसियत, सुरक्षा र आम्दानी न्यून हुने गरेको छ ।

वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउनुपर्ने बताइँदै आएको छ । तर, अहिले वार्षिक २५ हजारभन्दा बढी युवाले सम्बन्धित कामका लागि तालिम लिएको पाइएको छैन । विगत वर्षहरुमा श्रम गन्तव्यले कोरा श्रमिकको माग गर्नुपर्दा नेपाललाई सम्झने गरेको एक मेनपावर व्यवसायीले बताए । ‘रोजगारदाता मुलुकहरुले दक्ष श्रमिक चाहिँदा भारत, फिलिपिन्स, भियतनामजस्ता मुलुकलाई खोज्ने र कोरा श्रमिक माग गर्दा नेपाल सम्झने गरेका छन्,’ ती व्यवसायीले भने ।

यो क्षेत्रका जानकारहरुका अनुसार हाल वैदेशिक रोजगारीमा जानेमध्ये पुनः श्रमस्वीकृति लिनेको संख्या पनि धेरै छ । एक पटक विदेशमा सीप सिकेर फर्केकाहरुको यहाँ सीप परीक्षण नहुँदा उनीहरु अहिले अदक्ष श्रमिकका नाममा विदेश गइरहेका छन् । यसले पनि अदक्षको संख्या बढी देखिएको हो । विदेशबाट सीप सिकेर स्वदेश फर्केर पुनः अदक्षको हैसियतमा जान बाध्य भएका कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमिकको शोषण भइरहेको जानकारहरुको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने र आउने युवाका लागि सीप तथा पुनस्र्थापनामा काम गर्दै आएको वैदेशिक रोजगार बोर्डले गत वर्ष १ हजार ५ सय जनालाई तालिम दिएको थियो । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई कामसँग सम्बन्धित तालिम दिएर मात्र पठाउने नीति लिएको बताए । नीतिअनुरुप सबैलाई तालिम दिन नसकेको उनले स्वीकार गरे । सरकारले अघिल्लो आवमा वैदेशिक रोजगारीमा जाने युवालाई तालिम दिन १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । बोर्डका अनुसार चालु आवमा विदेश जाने कसैलाई पनि तालिम दिने गरी कार्यक्रम र बजेट व्यवस्था गरिएको छैन ।

विभागका अनुसार व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काममा लगाउने गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको हो । सीप विकास तालिम कार्यविधि लागु भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने थियो । वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ । तर, व्यवहारमा यो नियम लागु भएको छैन । तालिमलाई विभागको अनलाइन पद्धतिमा एकीकृत हुनेगरी र तालिम लिएका व्यक्तिको समग्र विवरण लिने गरी तालिम व्यवस्थापन सूचना प्रणाली (टिएमआईएस) सफ्टवेयरको पूर्ण कार्यान्वयन नहुँदा सीप नलिई विदेश जाने प्रवृत्ति बढेको हो ।

प्रतिक्रिया दिनुहोस्