सेयर बजार चल्दाको फाइदा «

सेयर बजार चल्दाको फाइदा

सेयर बजारको पुँजीले नै हो उद्योग खोल्ने, नया“ लगानी गर्ने, घर किन्ने, गाडी किन्ने, राजस्व बढाउने ? जब सम्पत्ति चलाउन नै लगानीकर्ताले पाउ“दैन अनि कसरी हुन्छ नयाँ रोजगारी सिर्जना ? सरकारी राजस्व कसरी बढ्छ ? अर्थतन्त्र कसरी चलायमान हुन्छ ?

जता ओरालो छ त्यतै पानी बग्छ । पैसा पनि पानीजस्तै हो, जता नाफा देखिन्छ त्यतै लगानी हुन्छ । घर हुनेले यसलाई बिक्री गरेर सेयर किन्छ । सेयर हुनेले यसलाई बेचेर घर, गाडी किन्छ । उद्योग–व्यापारमा लगानी गर्छ । उद्योग–व्यापारमा नाफा कमाउनेले पनि अन्य क्षेत्रमा लगानी गर्छ ।

लगानीकर्ताले एउटा क्षेत्रमा नाफा देखेन भने नाफा हुने क्षेत्र खोजेर लगानी गर्छ । लगानीले रोजगारी सिर्जना गर्छ, राजस्व बढाउ“छ । त्यसले अर्थतन्त्रमा अवसर सिर्जना गर्छ । यसविपरीत आफ्नो घर, सेयर, सुन, उद्योग, व्यापारमा भएको लगानीबाट नाफा भएन र पुँजी फस्यो भने अर्थतन्त्र चलायमान हुनमा नै नकारात्मक प्रभाव पर्छ । अर्थतन्त्रमा थप अवसर सिर्जना हुन सक्दैन ।

कानुनी हिसाबमा पनि आफ्नो सम्पत्ति बिक्री गर्न पाउनु संवैधानिक अधिकार हो । बिक्री गर्न मन नलागे धितो राखेर कर्जा लिनु पनि लगानीकर्ताको अधिकार हो । संस्थापक सेयरमा लगानी भएको सम्पत्तिलाई बिक्री गर्न अवरोध सिर्जना गरिएको छ । धितो राखेर कर्जा लिन पनि सीमा तोकिएको छ । यस्ता नीतिगत व्यवस्थाले समग्र अर्थतन्त्र नै सुस्त हुन पुगेको छ ।
नेपालको सेयर बजारको पुँजीकरण करिब ३० खर्ब छ । यसमा साधारण सेयरको पुँजीकरण करिब १० खर्ब ५९ अर्ब रहेको देखिन्छ । साधारण र संस्थापक सेयरको यो पुँजी चलायमान हुने हो भने अर्थतन्त्रमा सकारात्मक प्रभाव परिहाल्छ ।

सेयर बजारको पुँजीलाई तीन भागमा विभाजित गर्दा दुई भाग पुँजी संस्थापक सेयरमा छ । बा“की एक भाग साधारण सेयरमा छ । बजारमा लगभग सबै कम्पनीका संस्थापक सेयरको कारोबार सहज रूपमा भएको छैन । बैंक तथा वित्तीय संस्थाका संस्थापकको सेयर चाहेका बेला बजारमा बिक्री गर्न नपाएको धेरै भइसक्यो । यस्तो सेयरको खरिद–बिक्रीका लागि अलग्गै नीतिगत व्यवस्था गरिएको छ । कारोबारका लागि संस्थापकले संस्थापक नै ग्राहक खोज्नुपर्छ ।

संस्थापकले नकिनेको अवस्थामा अन्य ग्राहक खोज्न सञ्चारमाध्यममा सूचना निकाल्नुपर्छ । त्यसपछि मात्रै संस्थापक सेयर खरिद–बिक्री हुन सक्छ । यस्तो अवस्था भनेको नगदसरहको सेयरमा भएको लगानी चलायमान नभएको अथवा भनौं ‘फ्रिज’ भएको अवस्था हो ।

संस्थापक मात्र हैन, साधारण सेयर धितो राखेर पनि एउटा व्यक्तिले १२ करोडभन्दा बढी कर्जा लिन सक्दैन । ब्याजदर उच्च भएको बेला लगानीकर्ताले सेयर धितो राखेर कर्जा लिन्छ-लिँदैन, यो अलग विषय हो । तर उसले सम्पत्ति धितो राखेर कर्जा नै लिन नपाउ“दा आर्थिक गतिविधि सुस्त बन्छ । अहिलेको अवस्था हेर्दा ३० खर्बको सम्पत्ति भएको सेयर बजारमा संस्थापक सेयर बिक्री गर्न पनि नपाइने र यसलाई धितो राखेर आफू चाहेअनुरूप कर्जा पनि लिन नसकिने अवस्थाले अर्थतन्त्रलाई गतिहीन बनाउन सघाएको छ ।

केही समयअघि संस्थापक लगानीकर्ताले आफूले लगानी गरेको बैंकबाट कर्जा लिएर दुरुपयोग गरे भन्ने बहस सुरु भयो । त्यसपछि बजारमा प्रमोटर सेयरको कारोबार नै नहुने व्यवस्था भयो । सेयर बिक्री गरेर निस्कन्छु भन्ने चाहना राख्नेका लागि पनि बाटो बन्द भयो । उसलाई निस्कन दिनुपथ्र्यो । सेयर बिक्रीबाट आएको पुँजी उसले अरू कुनै क्षेत्रमा लगानी गथ्र्यो । नयाँ लगानीकर्ता संस्थापकका रूपमा प्रवेश गर्थे ।

अहिले करिब–करिब ६ खर्ब बैंकिङ क्षेत्रको पुँजी छ । योमध्ये ५१ प्रतिशत प्रमोटर सेयर छ । बैंकिङ क्षेत्रमा मात्रै प्रमोटर सेयरमा भएको लगानी ३ खर्बभन्दा बढी हुन्छ । ऋण लिन पनि नपाउने र सेयर बिक्री गर्न नपाउने अवस्थाले बैंकिङ क्षेत्रकै संस्थापक सेयरमा लगानी भएको ३ खर्ब चलायमान हुन दिएको छैन ।

संस्थापकले कर्जा लिएर दुरुपयोग गरे भन्ने ठान्दै कर्जा लिन पनि नपाउने र बिक्रीका लागि कारोबार नै नहुने अवस्था सिर्जना गरियो । कसैले कानुनको उलंघन गरी दुरुपयोग गरे कारबाही गर्ने हो । कारोबार नै रोक्नु त ठीक होइन । उसै पनि बजारमा साधारण र संस्थापकको सेयर मूल्य अलग–अलग छ । एउटै सम्पत्तिको मूल्य दुई थरी छ । पाउने लाभांश बराबर हुन्छ ।

झट्ट हेर्दा प्रमोटर सेयर किन्नु साधारण सेयर खरिद गर्नुभन्दा फाइदा छ, नेपालको बजारमा । साधारण सेयरको मूल्यभन्दा प्रमोटर सेयरको मूल्य आधा घटी छ । पाउने लाभांश बराबर हुँदा साधारणभन्दा संस्थापक सेयर किन्नु फाइदा देखिन्छ । यस हिसाबमा साधारणभन्दा प्रमोटर सेयर किन नकिन्ने भन्ने प्रश्न खडा हुन्छ ? लगानीकर्ताको हिसाबमा रिटर्नलाई हेर्दा प्रमोटर सेयर किन्नु नै फाइदाजनक देखिए पनि यसको किनबेचमा राखिएको अवरोधले नयाँ लगानीकर्तालाई लगानीको अवसरबाट वञ्चित गरेको छ ।

बजारमा साधारण सेयरजसरी प्रमोटर सेयरको किनबेच नहुनु नै सबैभन्दा ठूलो समस्या हो । अपवादमा एक–दुई कम्पनीको बाहेक प्रमोटर सेयरको किनबेच सेयर बजारमा भएको देखिन्न । दैनिक सेयरको खरिद–बिक्री हेर्दा पनि यस्तै देखिन्छ । सूचना निकालेर खरिदकर्ता पाएपछि मात्रै बजारमा संस्थापक सेयर किनबेच हुने हो । यस्तो झन्झटिलो प्रक्रियामा लाग्न बिक्रीकर्ता पनि चाहन्नन् । खरिदकर्ता पनि लगानी गर्न हच्किन्छन् ।

बजारमा बाई एन्ड सेल अर्डर राखेर किन्न पाउने अवस्थामा प्रमोटर सेयर किन्ने धेरै निस्कन्छन् । सहज रूपमा साधारण सेयरजसरी नै प्रमोटर सेयरको कारोबार हुने भएको भए लाभांश प्राप्त हुने हिसाबमा यसमै पैसा लगानी गर्दा फाइदा हुन्थ्यो । तर, बजारबाट साधारण सेयरजसरी प्रमोटर सेयर किन्न पाइन्न । यस्तो अवसरबाट लगानीकर्तालाई वञ्चित गर्नु पनि आर्थिक गतिविधिमा कमी ल्याउनु हो ।

बैंकिङ क्षेत्रसँगै अरू कम्पनीको संस्थापक होस् कि साधारण सेयर, धितो राखेर कर्जाको सीमा तोक्नु संकटकालीन अवस्थामा जायज थियो होला । माग बढ्न नदिएर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बेलामा सेयर, जग्गाजस्ता सम्पत्तिको भाउ नबढाउने नीति केन्द्रीय बैंकले अवलम्बन गर्नु स्वाभाविक नै हो । यसका लागि केन्द्रीय बैंकको मुख्य औजार भनेको ब्याजदर बढाउनु हो । तर, अर्थतन्त्र संकटपूर्ण अवस्था नहुँदा सम्पत्ति धितो राखेर कर्जा लिन पनि नपाउनुलाई लगानीकर्ताले स्वाभाविक रूपमा लिन्नन् ।

हुन त अहिले ब्याजदर महँगो छ । यो बेला कर्जा लिन चाहनेको संख्या न्यून नै हुन्छ । तैपनि बजारलाई सकारात्मक सन्देश दिन भए पनि कर्जाको १२ करोडको सीमा हट्नैपर्छ । सेयर धितो कर्जामा यस्तो सीमा मूल्यवृद्धि अनियन्त्रित भएको बेला भए स्वाभाविक नै मान्न सकिन्थ्यो । तर, मूल्यवृद्धि नियन्त्रणमा नै भएकाले माग बढ्ला कि भनेर डराउनुपर्ने अवस्था पनि देखिन्न । सेयरको मूल्य बढ्नुभन्दा पनि यो क्षेत्रमा भएको पुँजी चलायमान नहुने अवस्था आउनु देशको अर्थतन्त्रका लागि नै दुर्भाग्य हो ।

हुन त संसारभरका केन्द्रीय बैंकले एकैपटक बजारमा माग बढाउने नीति अवलम्बन गर्दैनन् । ब्याजदरको सन्दर्भमा संसारभर नै यसलाई जायज मानिएको देखिन्छ । सम्पत्तिको प्रयोग गर्नै नपाउने अवस्थामा भने केन्द्रीय बैंकले पुनर्विचार गर्नैपर्छ । अझ सेयर बजारसँग सम्बन्धित कर्जा नीति पटक–पटक परिवर्तन भइरहँदा लगानीकर्तामा नकारात्मक सन्देश गएको छ । बजार बढ्दा एउटा नीति र घट्दा अर्को कर्जा नीतिले अस्थिरता सिर्जना गरेको छ । किन सधैंभरिका लागि एउटा स्थायी सेयर कर्जा नीति अवलम्बन नगरिएको होला, बुझ्न कठिन छ ।

खासगरी केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले यसको विश्लेषण नै नगरेको होला भन्ने मान्न सकिन्न । बजार सुस्त छ । यसलाई चलायमान गराउने महत्वपूर्ण क्षेत्र हो, सेयर बजार । यसका लागि संस्थापक सेयरको कारोबार खुला गर्न ढिला भइसकेको छ । कारोबार मात्र हैन, सेयर धितो राखेर १२ करोड मात्र कर्जा लिन पाउने सीमा पनि हटाउन अबेर भइसकेको छ । ढिलो–चा“डो केन्द्रीय बैंक यस्ता नीतिबाट अलग हुन्छ नै । कहिले यस्ता नीतिगत अवरोध हट्ला भनेर भन्न कठिन छ ।

सेयरमा मात्र हैन, जग्गाको कित्ताकाट रोक्ने निर्णयले पनि आर्थिक गतिविधिमा नकारात्मक असर पर्यो । जग्गाको वर्गीकरण गर्नका लागि कित्ताकाट रोक्न जरुरी थिएन । यसले जग्गाको खरिद–बिक्रीमा नकारात्मक असर पर्यो । अर्थतन्त्रमा संकुचन थप्यो । ढिलै भए पनि जग्गाको कित्ताकाट खुला भएको छ । जग्गाको कित्ताकाट रोक्नु पनि सम्पत्तिको उपयोग गर्न पाउने कानुनी अधिकारबाट नागरिकलाई वञ्चित गर्नु नै हो । अर्थतन्त्रलाई गतिशील बनाउनबाट रोक्ने कार्यलाई सुधार गरिनु सकारात्मक मान्नुपर्छ ।

सेयर बजारले आर्थिक वृद्धि, स्थिरताका लागि आवश्यक पैसा र तरलताको कुलोका रूपमा काम गर्छ । सेयर बजार चलायमान नहुनु भनेको अर्थतन्त्र पनि सबल नहुनु हो भन्ने अन्तर्राष्ट्रिय स्तरका अध्ययनले देखाएका छन् । आशा गरौं, आउने दिनमा बिस्तारै नीतिगत अवरोध हट्छन् र अर्थतन्त्र चलायमान हुन्छ ।
(सापकोटा ‘सेयरपुर’ पुस्तकका लेखक हुन् ।)

प्रतिक्रिया दिनुहोस्