स्वास्थ्यमा राप्ती गाउँपालिका उत्कृष्ट «

स्वास्थ्यमा राप्ती गाउँपालिका उत्कृष्ट

दाङ– स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिकामा जिल्लामा उत्कृष्ट पालिका भएको छ । स्वास्थ्य कार्यालय दाङले आयोजना गरेका आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट घोषणा गरिएको हो । राप्ती गाउँपालिका यसअघि पनि पहिलो भएको थियो । उत्कृष्ट हुने राप्ती गाउपालिकाले ८३ अंक प्राप्त गरेको छ ।

त्यसैगरी दोस्रो घोराही उप महानगरपालिका भएको छ । घोराहीले ८१ अंक प्राप्त गरेको छ । तेस्रो शान्तिनगर गाउँपालिका भएको छ । शान्तिनगर गाउपालिकाले ७८ अंक प्राप्त गरेको स्वास्थ्य कार्यालय दाङका किशोर आचार्यले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेका १६ वटा सूचक तथा स्वास्थ्य कार्यालय दाङले निर्माण गरेका पाँचवटा सूचक पूरा गरेर २१ वटा सूचकको आधारमा मापन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

सूचकहरूमा खोप कार्यक्रम, सुरक्षित मातृत्व, बालरोगको उचित व्यवस्थापन, मलेरिया, क्षयरोग, गाउँघर क्लिनिक, पोषण कार्यक्रम, अभिलेखीकरण, प्रतिवेदन, समन्वय, प्रस्तुति लगायतका २१ वटा सूचक रहेको आचार्यले बताए । कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुने पालिकाकालाई प्रमाण पत्रले सम्मान गरिएको छ । चौथोमा गढवा गाउँपालिका भएको छ । गढवाले ७७ अंक प्राप्त गरेको छ । पाँचौ बंगलाचुली गाउँपालिका भएको छ । बंगलाचुली गाउँपालिकाले ७४ अंक प्राप्त गरेको छ । छैठाैंमा तुलसीपुर उपमहानगरपालिका भएको छ ।

तुलसीपुरले ७४ अंक प्राप्त गरेको छ । साताैं लमही नगरपालिका भएको छ । लमहीले ७३ अंक प्राप्त गरेको छ । आठौं दगीशरण गाउँपालिका भएको छ । दंगीशरणले ७२ अंक प्राप्त गरेको छ । नवौ स्थानमा बबई गाउँपालिका भएको छ । बबई गाउँपालिकाले ७२ अंक प्राप्त गरेको छ भने दशौं स्थानमा राजपुर गाउँपालिका रहेको छ । राजपुर गाउपालिकाले ७२ अंक प्राप्त गरेको छ । जिल्लामा १० वटा पालिका रहेका छन् ।

पालिकाहरुले प्राप्त गरेको अंकले पालिकामा स्वास्थ्यको अवस्था कस्तो रहेको छ भनेर समेत निर्धारण गर्ने गर्दछ । यसैको आधारमा पालिकाहरूले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लैजानु पर्ने देखिन्छ । कार्यक्रममा पालिका तथा जिल्लामा स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघ संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा गरेका कामका बारेमा जानकारी गराएको स्वास्थ्य कार्यालय दाङका प्रशासन शाखा प्रमुख वामदेव शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्