नगरसभा नहुँदा पालिकाको काम प्रभावित «

नगरसभा नहुँदा पालिकाको काम प्रभावित

पर्वत– निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकामा चौतर्फी समस्या सिर्जना हुँदै गएका छन् । पर्वत जिल्लाको सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकाको नगरसभा हुन नसक्दा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेको हो । असार १० गतेभित्र गर्नुपर्ने नगरपालिकाको सभा असोज पहिलो सातासम्म पनि हुन सकेको छैन ।

नगरबाट बजेट पारित नहुँदा नगरभित्र रहेका १४ वटै वडाका स्वास्थ्य संस्थामा औषधी खरिद गर्न नसकिएको हो । नगरपालिकामा रहेका १४ वटै वडाका स्वास्थ्य संस्थामा अति आवश्यकीय औषधिको अभाव खड्किएको छ । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र गरी १८ वटा स्वास्थ्य संस्था औषधीविहीन बनेका छन् । ती स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामीले औषधि नपाएर रित्तै हात फर्कनु परेको छ ।

सरकारी स्वास्थ्य संस्थावाट निःशुल्क पाइने औषधि पनि सेवाग्राहीले निजी क्लिनिकमा पुगेर महँगो मूल्यमा खरिद गर्ने गरेको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अहेव पठी धामीले बताए । नगरपालिकाले तोकिएको समय असार १० गते बजेट तथा कार्यक्रम ल्याउन नसकेपछि जनतालाई दिनुपर्ने अन्य अत्यावश्यकीय सेवासमेत प्रभावित बनेको हो । स्वास्थ्य संस्थाबाट पाउने २८ किसिमका औषधि निःशुल्क पाउने व्यवस्था सरकारले गरेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माका अनुसार गत आर्थिक वर्षमा खरिद गरेको औषधि सकिएको छ । नगरसभा नभएका कारण स्वास्थ्य मन्त्रालयले निसर्त अनुदान पठाएको बजेटबाट औषधि खरिद गर्न पाइएको छैन । ‘नगरसभा भएर नगरपालिकाले दररेट स्वीकृति दिएपछि मात्रै खरिद प्रक्रिया अगाडि बढाउने हो,’ उनले भने, ‘अहिले वर्षाकै बेला छ । गाउँमा मान्छे बिरामी छन् । अस्ति भर्खरै मात्रै आँखा पाक्ने रोग फैलिँंदा औषधि दिन सकिएन । सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्य औजार नभएको गुनासो आए पनि पठाउन सकिएको छैन ।’

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार नगर सभा अवरुद्ध हुँदा सुरक्षित मातृत्व तथा सुत्केरी कार्यक्रम, स्वास्थ्य शिक्षा कार्यक्रम, महामारीविरुद्धको कार्यक्रम, महिला स्वास्थ्य स्वयमंसेविका कार्यक्रम लगायतका २० प्रकारका महत्वपूर्ण स्वास्थ्य कार्यक्रम ठप्प बनेका हुन् । स्वास्थ्य क्षेत्रमा केन्द्रबाट ससर्त आउनुपर्ने अनुदान रकम तलबभत्ता वापतको चार करोड ५० लाख रुपैयाँ र स्वास्थ्य कार्यक्रम वापतको तीन करोड रकम आइसकेको छ । रकम आइसकेको भए पनि नगरसभा हुननसक्दा कुनै काम गर्न नसकेको अवस्था छ ।

कुस्मा नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार जिल्ला अस्पतालबाहेक चार वटा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइन्छ । ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख भीमकुमारी शर्माले सुत्केरीले पाउनुपर्ने रकम आफूले खल्तीबाट दिने गरेको बताइन् । त्यसैगरी आर्थर स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रकान्त गौतमले पनि ज्वरो, रुघाखोकीका कारण बिरामीको चाप बढ्दै गएको बताउँदै औषधि अभाव हुनाले बिरामीलाई दिन नसकिएको जानकारी दिए । स्वास्थ्य चौकीमा सामान्य रोगको औषधिसमेत छैन । पारासिटामोल, एन्टिबायोटिक औषधीसमेत सकिएको छ ।

नगरपालिकासँग औषधिको माग गरे पनि औषधि आएको छैन । सुत्केरीले यातायात खर्चवापत पाउनुपर्ने दुई हजार रकम पछि नगरपालिकाबाट लिने गरी खल्तीबाट भुक्तानी गरेको उनको गुनासो छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र नगरसभा सम्पन्न भइसक्नु पर्ने भनिए पनि जनप्रतिनिधिको विवादका कारण अझैसम्म अन्योल रहेको छ । स्वास्थ्य क्षेत्रमात्र नभई कृषि, शिक्षा, महिला तथा बालबालिकालगायत अन्य विकास निर्माणका कामसमेत प्रभावित बनेको वडा नं.१३ का वडाध्यक्ष तेजप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्