झापामा प्लाइउड अभाव

बिर्तामोड– पछिल्लो समय झापामा प्लाइउड अभाव देखिएको छ । झापाका प्लाइउड उद्योगहरूले धमाधम प्लाइउड भारत निर्यात गर्न थालेपछि झापाका बजारमा प्लाइउडको अभाव देखिएको हो ।
झापाका एक दर्जनभन्दा बढी उद्योगले प्लाई उत्पादन गर्दै आएको भए पनि ती उद्योगले स्थानीय बजारमा भन्दा भारतमा राम्रो मूल्य पाएपछि प्लाइउड भारत निर्यात गर्न थालेका छन् । विगत ६ महिनादेखि झापाका प्लाइउड उद्योगले प्लाइउडको धमाधम भारत निर्यात गर्दै आएका कारण झापाका बजारहरूमा प्लाइउडको अभाव भएको उनीहरूको भनाइ छ ।
भारतमा प्लाइउड निर्यातलाई प्राथमिकता दिएका उद्योगहरूले अग्रिम पैसा भुक्तानी गर्दा पनि स्थानीय व्यापारीलाई कम प्राथमिकता दिएको व्यवसायीहरूको गुनासो छ । प्लाइउडको मुख्य बजार भारत भएको र भारत निर्यात गर्दा भ्याट तिर्नु नपर्ने, भाडाको शुल्क बुझाउनु नपर्ने, महँगो मूल्यमा बिक्री गर्न पाउँदा व्यापारीहरूले स्थानीय बजारलाई बेवास्ता गरिरहेको उनीहरूको गुनासो छ ।
पूर्वाञ्चल प्लाइउड संघका महासचिव दुर्गा भण्डारीले झापाका प्लाइउड व्यापारीलाई सस्तो प्लाइउड चाहिने र उनीहरूले पैसा पनि ढिलो दिने भएकाले प्लाइउड उत्पादन खर्चसमेत उठाउन मुस्किल परेपछि भारततिर बिक्री बढाइएको जानकारी दिए । गोलियाको दाम बढेर गएपछि प्लाइउडको मूल्य वृद्धि भएको बताउँदै भण्डारीले भारतमा प्लाइउडको नेपाली बजारमा भन्दा राम्रो मूल्य पाइने जानकारी दिए ।
उनले नेपाली बजारमा भारतमा जस्तै मूल्य पाइने भए नेपाली बजारलाई प्राथमिकता दिने बताउँदै त्यस्तो नभएको जिकिर गरे । उनले झापामा उत्पादन भइरहेको प्लाइउडको ६०–७० प्रतिशत उत्पादन भारत निर्यात भइरहेको जानकारी दिए । भ्याट नलाग्ने र सरकारबाट उल्टै ४ प्रतिशत अनुदान पाइने भएपछि प्लाई उद्योगीले नेपाली बजारलाई कम प्राथमिकतमा दिएको र प्लाइउड भारतमा निर्यात नभए झापामा प्लाइउडको उद्योग नै चलाउन नसकिने उनको तर्क छ ।
बिर्तामोडस्थित मनिष आइरनका सञ्चालक मनिष साहेवालाले प्लाई उद्योगहरूले भारतमा निर्यात बढाएको बताए । भारतमा मुख्य प्राथमिकता दिएकै कारण स्थानीय व्यवसायीले पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको उनले बताए । ठूलो र लामो साइजको प्लाई भारतमा माग धेरै भएपछि उद्योगीहरूले भारतमा निर्यात बढाएको बताउँदै उनले उद्योगीहरूले फाइदा मात्रै हेरेका कारण भारतीय बजार रोजाईमा परेको जनाए । उनले स्थानीय व्यवसायीले अग्रिम पैसा भुक्तानी गर्दा पनि समयमा भनेजति प्लाई नपाएको गुनासो गरे ।
पहिले सामान अनि पैसा दिँदा हुने भए पनि अहिले भने पहिला पैसा दिँदा पनि सामान पाउन गाह्रो भएको उनले बताए । झापाका उद्योगीहरूले स्थानीय व्यवसायीलाई ६० देखि ७० प्रतिशत प्लाई घटाएको उनले जानकारी दिए । चारपानेस्थित गरिमा मल्टिप्रपोजका अध्यक्ष अर्जुन मैनालीले ६ महिनादेखि झापाको बजारमा प्लाईको कृत्रिम अभाव भइरहेको जानकारी दिए । प्लाइउड भारत पठाएर झापाको बजारमा प्लाईको कृत्रिम अभाव खडा गरेको मैनालीले आरोप लगाए ।
पहिले बाँकीमा प्लाइउड दिन तयार उद्योगीहरूले यतिबेला स्थानीय व्यापारीलाई अग्रिम पैसा बुझाउँदा पनि प्लाइउड दिन नसकेको उनको भनाइ छ । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका मैनालीले उद्योगीहरूले झापामा प्लाइउडको कृत्रिम अभाव देखाएर महँगोमा भारत निर्यात गर्दै आएको बताए । स्थानीय व्यवसायीले १५ देखि २० प्रतिशत उत्पादन मात्रै पाइरहेको र बाँकी भारत निर्यात भइरहेको उनले बताए ।
स्थानीय बजार स्थायी र सुरक्षित हुँदाहुँदै भारत निर्यात गरेर व्यवसायीहरूलाई अप्ठ्यारो बनाएको उनको भनाइ छ । यस्तै, बिर्तामोडको विकाश हार्डवेयरका सञ्चालक विकास बस्नेतले झापाका बजारमा प्लाइउड पाउन असहज भएको बताए । उनले प्लाइउडको माग पनि कम भएको जानकारी दिए । निर्माण क्षेत्र सुस्त भएकाले प्लाइउडको माग पनि कम भएको बताउँदै उनले विगतकै जस्तो माग हुने हो भने बजारमा प्लाइउडको हाहाकार हुने जनाए ।
स्थानीय व्यापारीहरू पुराना पार्टी भएकाले आफूहरूले सामान लिएर पैसा दिने भए पनि भारतीयले पहिले पैसा दिएर सामान लैजाने भएकाले भारतमा प्लाइउडको निर्यात धेरै भइरहेको उनले बताए । पूर्वाञ्चल प्लाइउड संघका महासचिव दुर्गा भण्डारीले व्यवसायीहरूको गुनासो शतप्रतिशत सत्य नभएको बताएका छन् । उनले विगतमा जस्तो सहज नभएको स्वीकार्दै स्थानीय व्यवसायीलाई बेवास्ता नगरेको स्पष्ट पारे ।
स्थानीय व्यवसायीहरूलाई पनि प्लाई उपलब्ध गराइरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षको साउन र भदौमा १७ लाख ७६ हजार ७ सय ६९ स्क्वायर फुट प्लाइउड भारत निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त परिमाणको प्लाई २ करोड ७६ लाख ४७ हजार १ सय ८९ श्रपैयाँमा विक्री गरिएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले बताए । स्थानीय बजारभन्दा झन्डै तेब्बर मूल्यमा भारतीय व्यापारीहरूलाई उद्योगीहरूले प्लाई बिक्री गर्दै आएको बताइएको छ ।