चाडपर्व लक्षित बजार अनुगमन तीव्र

काठमाडौं– सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र पारेको छ । विभिन्न १३ वटा संयुक्त टोलीले अनुगमनलाई तीव्र पारेको हो । चाडपर्वमा दैनिक कारोबार बढ्ने हुँदा सरकारले हरेक वर्षको चाडपर्वमा संयुक्त बजार अनुगमन गर्ने गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत विभिन्न निकायको संयुक्त टोलीले दैनिक ४० देखि ५० भन्दा बढी फर्म अनुगमन हुने गरेको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।
प्रवक्ता पोखरेलका अनुसार असोज १ देखि सुरु भएको बजार अनुगमन टोलीले असोज ७ सम्म १ सय ६५ वटा व्यवसायी फर्मलाई अनुगमन गरी ३७ वटालाई कारबाही गरेको छ । गत बिहीबार अनुगमन टोलीले कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिंकको गोदाममा कृत्रिम भण्डारण ७० हजार किलो लेबल अस्पष्ट भएको भेटेपछि गोदाम सिल गरेको छ । उक्त चिनीको गुणस्तरमा समेत आशंका देखिएपछि परीक्षणका लागि आइतबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको पोखरेलले जानकारी दिए ।
बजार अनुगमनमा अधिकांश कारबाही पर्ने व्यापारिक फर्ममा बिल बिजक नराख्ने परेको उनले बताए । खाद्य पसलदेखि लुगा कपडा पसल सबैको समस्या एउटै पाइने उनको भनाइ छ । विभागको तथ्यांकअनुसार असोज १ मा १८ वटा व्यावसायिक फर्ममा अनुगमन गर्दा तीनवटालाई कारबाही गरिएको थियो । कारबाही पर्ने दुई सामाखुसी र कपुरधाराको रेडिमेड कपडा पसल र ठमेलको खाद्य पसल थियो । बिल विजक नदेखाएका कारण कपडा पसललाई १०/१० हजार रुपैयाँ जरिवाना एवं खाद्य पसललाई ५ हजार रुपैयाँ गरी २५ हजार जरिवाना गरेको थियो ।
त्यस्तै असोज २ मा ३० वटामा फर्ममा अनुगमन गर्दा ४ वटालाई कारबाही गरी ८० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले बताएको छ । असोज ३ मा १६ वटा फर्ममा अनुगमन गर्दा पाँचवटालाई कारबाहीस्वरूप ६५ हजार जरिवाना गराइएको छ । असोज ४ मा ३३ वटा फर्ममा अनुगमन गरी १० वटालाई ७० हजार जरिवाना गरेको थियो । त्यस्तै ६ गते ४४ वटा फर्म अनुगमन गर्दा पाँचवटा फर्मलाई कारबाही गरी ४० रुपैयाँ जरिवाना गरेको थियो । कारबाही गर्ने तीनवटा खाद्य किराना पसल र एउटा मिठाई पसल र एउटा मार्ट रहेको थियो ।
अनुगमन टोलीले मार्टलाई २० हजार रुपैयाँ जरिवाना गरेको थियो भने चारवटा पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ । असोज ७ मा अनुगमन टोलीले ३९ वटा फर्म अनुगमन गर्दा १५ वटा फर्मलाई कारबाही गरेको छ । चाडपर्व लक्षित बजार अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा विभाग र जिल्ला प्रशासन कार्यालयलगायतको संयुक्त टोलीबाट बजार अनुगमन गरिरहेको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को मापदण्डविपरीत व्यापार–व्यवसाय गरेको पाइएमा ठाउँको ठाउँ कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा व्यापारीले मापदण्डविपरीत व्यापार व्यवसाय गरेको पाएमा तत्कालै ५ हजारदेखि ३ लाख रुपैयाँसम्मको जरिवाना र तीन महिनादेखि ६ महिना कैद गर्न पाउने अधिकार विभागको निरीक्षण अधिकृतलाई सुनिश्चित गरेको छ । सोही अधिकारबमोजिम विभागको बजार निरीक्षण अधिकृतले मापदण्डविपरीत व्यापार–व्यवसाय गरेको फेला परेमा ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना र कारबाही गर्दै आएको छ ।