छोटी भन्सार सुचारु नहुँदा व्यवसायी मारमा «

छोटी भन्सार सुचारु नहुँदा व्यवसायी मारमा

फाइल तस्बिर ।

जनकपुरधारम- माओवादी द्वन्द्वकालदेखि सुरक्षाको कारण देखाउँदै बन्द रहेको महोत्तरी जिल्लाको चारवटा छोटी भन्सार कार्यालय हालसम्म सञ्चालन नहुँदा फुटकर तथा साना व्यवसायी मारमा परेका छन् ।

माओवादी द्वन्द्वकालको उत्सर्गमा पुगेका बेला असुरक्षाको कारण देखाउँदै महोत्तरीको रघुनाथपुर छोटी भन्सार कार्यालय, कटैया छोटी भन्सार कार्यालय, पोखरभिन्डा र बथनाहा छोटी कार्यालय बन्द गरिएको थियो । बन्द रहेको सो कार्यालय हालसम्म सञ्चालन नहुँदा सरकारको लाखौं रुपैयाँ राजस्व गुम्दै गएको छ भने साना तथा फुटकर व्यवसायी मारमा परेका छन् ।

बन्द रहेका छोटी कार्यालय सुचारु नहुँदा हाल उक्त नाकाबाट तस्करहरूले तस्करीका सामान व्यापक मात्रामा सोही नाकाको प्रयोग गरिरहेको पनि स्थानीयको भनाइ छ । महोत्तरीको दक्षिणी भारतीय सीमासँग जोडिएका ती नाकामा भन्सार कार्यालय पुन: सुचारु गर्न स्थानीय व्यवसायीले माग गरेका छन् । पछिल्लो समय छोटी भन्सार कार्यालय बन्द हुँदा व्यवसायीहरूले बिनाअवरोध ती नाकाबाट सामान ल्याउने गरेको त्यस क्षेत्रका व्यापारीहरू बताउँछन् ।

भारतबाट आउने सामानको भन्सार नकटाई ल्याउनुपर्ने बाध्यता रहेको व्यवसायी विनोद साह बताउँछन् । उनी भन्छन्, ‘चहलपहलसमेत खटेकाले यसको असर बजारमा परेको छ । भन्सार कार्यालयहरू बन्द भएपछि भारतबाट सामान आयात गरेर व्यवसाय सञ्चालन गर्ने व्यापारीलाई जीविकोपार्जन गर्न समस्या भएको अर्का व्यापारी कपिलदेव साहले बताए । उनी भन्छन्, ‘छोटी भन्सार कार्यालय सुचारु नहुँदा भारतबाट ल्याउने सामानको भन्सार कटाउन करिब ५० किलोमिटर बाटो छिचोल्दै जलेश्वर भन्सार कार्यालय पुग्नुपर्ने बाध्यता छ ।’

महोत्तरीमा छोटी भन्सार कार्यालय नहुँदा भारतबाट बिनाभन्सार लुकीछिपी सामान नेपाल भित्रिने गरेको छ, जसका कारण सरकारलाई महिनामा लाखौं रुपैयाँ राजस्व गुम्दै गएको छ । छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा यसको असर मूल भन्सार कार्यालयमा पर्ने जलेश्वर भन्सार कार्यालय, भिठामोडका प्रमुख अमित पौडेलले बताए । उनले भने, ‘व्यापार सहजीकरण गर्न र व्यापारीलाई भन्सार विन्दुसम्म पुर्‍याउन त्यहाँ खटेका सुरक्षाकर्मीको भूमिका अहं हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्