महिलालाई आर्थिक सशक्तीकरणमा ल्याइने «
Logo

महिलालाई आर्थिक सशक्तीकरणमा ल्याइने

काठमाडौं– महिलालाई आर्थिक सशक्तीकरणमा ल्याउने पहल सुरु भएको छ । ‘महिलालाई व्यापार र व्यापार नीतिमा मूल प्रवाहमा ल्याउने नीति धारणापत्र’ मस्यौदामा केन्द्रित सार्वजनिक–निजी संवाद (पीपीडी) को श्रृखला स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका सरोकारवालासँग छलफल भएको हो । सरकारी निकाय, विज्ञ दलित, सीमान्तकृत समूह र स्थानीय महिला उद्यमीसँग नेपालगन्जमा पीपीडी कार्यक्रम आयोजना भएको हो ।

उक्त कार्यक्रममा महिला आर्थिक सशक्तीकरणको विषयमा बढी जोड दिएको थियो । नेपालगन्जमा आयोजना भएको यस पीपीडीमा लुम्बिनी र कर्णाली प्रदेशका महिला उद्यमी, सरकारी अधिकारी, महिला व्यवसायी संघ, महिलामा आधारित सामाजिक संस्था, जिल्ला वाणिज्य तथा उद्योग संघ, महिला सहकारी, घरेलु तथा साना उद्योग संघ, गैरसरकारी संघसंस्थाको सहभागिता रहेको थियो ।

उक्त संवादमा लुम्बिनी र कर्णाली प्रदेशका पाल्पा, कपिलवस्तु, बाँके, बर्दिया, रुपन्देही, बझाङ, जाजरकोट, प्युठान, रुकुम र रोल्पाका ४५ जना सहभागी थिए । उक्त अवसरमा भिडियो कन्फरेन्समार्फत बोल्दै आईटीसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले सरोकारवालाहरूसँगको परामर्शमा तयार पारिएको नीति धारणापत्रले नेपालमा लैंगिक–उत्तरदायी व्यापार वातावरण सिर्जना गर्न नीतिगत कार्यहरू पहिचान गर्ने आधारका रूपमा काम गर्ने कुरामा जोड दिइन् ।

आर्थिक गतिविधिमा महिला सहभागितासम्बन्धी विद्यमान समस्याका सम्भाव्य, प्रभावकारी र अनुकूलित समाधानहरू पहिचान गरी नीति धारणापत्रलाई अन्तिम रूप दिन पीपीडीले महत्त्वपूर्ण भूमिका खेलेको उनले धारणा राखिन् । लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य मीना श्रेष्ठले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउन व्यवसाय गर्ने प्रक्रियालाई सहज बनाउन आवश्यक रहेको बताइन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लीलाप्रसाद शर्माले व्यवसायमा महिलाको भूमिका विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नीतिगत सुधारका माध्यमबाट विद्यमान समस्यालाई सम्बोधन गर्न नीतिपत्रका सिफारिसहरू महत्त्वपूर्ण हुने उल्लेख गरे । महिला उद्यमी महासंघ नेपालकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठले महिलाको सहभागिताका साथ तर्जुमा गरिएको लैंगिक उत्तरदायी नीतिले व्यापारमा महिलाको सहभागिता प्रवर्द्धनगर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

आयोजना भएका पीपीडीहरूले व्यवसायमा महिला सहभागिता प्रवर्द्धनगर्न आवश्यक सिफारिस तयार गर्न सहज हुने विश्वास लिइएको छ । ललितपुर, विराटनगर र नेपालगन्जमा आयोजित पीपीडीहरूको श्रृंखलापछि तयार पारिएको नीतिको धारणापत्रले लैंगिक उत्तरदायी र समावेशी व्यापार नीतिहरूमा बढी सहभागिता सुनिश्चित गर्दै व्यापार र व्यापार नीतिहरूमा लैंगिक विचारहरूलाई मूलप्रवाहमा ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

आर्थिक गतिविधिहरूमा महिलाको संलग्नता, व्यावसायिक वातावरण, कानुनी र नियामक ढाँचा, वित्तमा पहुँच, व्यापार नीति, सीपमा पहुँच, काम र समाजलगायत ६ वटा मुख्य मुद्दाहरूमा केन्द्रित थिए । पीपीडी कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना, महिला उद्यमी महासंघको सहकार्य एवं अन्तर्राष्ट्रिय व्यापार केन्द्रअन्तर्गतको ट्रेड इनिसिएटिभको प्राविधिक सहयोगमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्