पाँचथरका तीनसहित प्रदेश एकमा ८ जनप्रतिनिधिको चुनाव हुने «

पाँचथरका तीनसहित प्रदेश एकमा ८ जनप्रतिनिधिको चुनाव हुने

पाँचथर- सरकारले उपनिर्वाचनको मिति तोकेसँगै पाँचथरमा एक गाउँपालिका र दुई वडाहरुमा उपनिर्वाचन हुँदैछ । जिल्लाको फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिकाको १ नम्बर वडा र हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडामा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनको मिति तोकिएसँगै नेकपा पाँचथरले उपनिर्वाचनका लागि कमिटी नै तयार पारेको छ । फाल्गुनन्द गाउँपालिकामा प्रेमप्रसाद रिजालको संयोजन तथा शंखध्वज नेम्बाङको सहसंयोजनमा १ सय ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिसकेको छ । त्यसैगरी, फिदिम नगरपालिका १ नम्बर वडामा महेन्द्र थाम्सुहाङ संयोजक र मेदनी खत्री सह–संयोजक रहेको १०७ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।
नेपाली कांग्रेससहितका दलहरुले भने औपचारिक घोषणा गरिसकेका छैनन् । तर आन्तरिक गृहकार्यमा सक्रिय छन् । स्थानीय सरकारमा रहेर विभिन्न कारणले रिक्त रहेका जनप्रतिनिधिहरूको स्थानमा पुनः नयाँ जनप्रतिनिधि चुन्नको लागि सरकारले मंसिर १४ मा उपनिर्वाचन तोकेको छ ।
प्रदेश १ का विभिन्न ८ जना जनप्रतिनिधि गुमाएका ७ स्थानीय तहमा चुनाव हुने भएको छ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र वडा नम्बर ७, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष, भोजपुरको पौवादुङमा गाउँपालिका १, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २, पाँचथरको फाल्गुननन्द गाउँपालिका अध्यक्ष, हिलिहाङ गाउँपालिका वडा नम्बर ७ र फिदिम गाउँपालिका वडा नम्बर १ मा अध्यक्षको लागि चुनाव हुने भएको छ ।
प्रदेश १ का विभिन्न ३ स्थानीय सरकारका प्रमुख र ५ जना वडाअध्यक्षले ज्यान गुमाएका छन् । ज्यान गुमाएका जनप्रतिनिधिहरूको कारणले रिक्त स्थानीय तहमा चुनाव हुन लागेको हो । प्रदेश १ का संखुवासभा, भोजपुर, सुनसरी, मोरङ र पाँचथरका विभिन्न ८ स्थानमा चुनाव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्