सेयर धितो सीमामा हमाल-अधिकारी छलफल «

सेयर धितो सीमामा हमाल-अधिकारी छलफल

काठमाडौं– सेयर धितो कर्जामा लाग्दै आएको १२ करोड रुपैयाँको सीमा बारे धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । अध्यक्ष हमालले सोमबार गभर्नर अधिकारीसँग भेट गरी सीमा हटाउन आग्रह गरे । उनले विशेषगरी सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउनका लागि आवश्यक कदम चाल्न गभर्नरलाई आग्रह गरेका थिए ।

गभर्नर अधिकारीले पनि गत साता वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा सबैतिरबाट यो सीमा हटोस् भन्ने चाहना आएकाले पुनरावलोकन गरिने बताएका थिए । लगानीकर्ता र गभर्नरबीच विवाद ल्याउने मुख्य कारणको रुपमा रहेको १२ करोडको सीमा हटाउन गभर्नर तयार भए पनि कहिले यसलाई हटाइन्छ भन्ने निक्र्योल भइसकेको छैन । गभर्नर अधिकारीले समितिलाई सीमा हटाएर सेयर बजारलाई खुला गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

पछिल्लो समय सेयर बजार घट्दो क्रममा रहँदा सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंकलाई निकै दबाब छ । सरकारले घरजग्गाको कित्ताकाट खुकुलो बनाएसँगै लगानीकर्ताहरूले सेयर बजारलाई पनि खुकुलो बनाएर जानुपर्नेमा जोड दिँदै आएका छन् । मौद्रिक नीतिमार्फत नै यसलाई हटाउन राष्ट्र बैंकलाई दबाब थियो । तर, नीतिले त्यसलाई सम्बोधन गरेन । पछिल्लो समय अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर र सेयर बजारसम्बन्धी नीतिमा गभर्नरसँग निरन्तर छलफल गर्दै आइरहेका छन् ।

गभर्नरसँगको भेटपछि बोर्ड अध्यक्ष हमालले कारोबारसँग भने, ‘हामीबीच सेयर धितो कर्जामा लाग्दै आएको सीमा हटाउनका लागि बृहत् छलफल भयो । संस्थागत लगानीकर्ताका हकमा सीमा बढाउनुपर्छ भन्ने हो ।’ भेटमा पुँजी बजारको दिगो विकास, प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलको विकासबारे पनि छलफल भएको जानकारी उनले दिए ।‘दशैं अगाडि नै सेयर धितो कर्जाको सीमाबारे केही निर्णय आउँछ भन्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

पछिल्लो समय सेयर बजार घट्नुको कारक नियामकको नीति नै भएको लगानीकर्ताको निष्कर्ष छ । सेयर धितो कर्जाको सीमा हटाउन निरन्तर दबाब दिँदै आए पनि राष्ट्र बैंकले माग सम्बोधन नगरेको भन्दै लगानीकर्ताले आलोचना गर्दै आएका छन् । पछिल्ला दिनमा भने गभर्नर अधिकारी पनि सीमा हटाउन तयार भएपछि अन्तिम निर्णयको पर्खाइमा लगानीकर्ता छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीप्रसाद ढकालले राष्ट्र बैंकले यस्ता नीति ल्याउनै नहुनेमा ढिलै भए पनि सच्याउन तयार हुनु राम्रो भएको बताए । उनले भने, ‘नियामक निकायको नीतिकै कारण पुँजी बजार ध्वस्त भएको थियो । यसरी १८०० बिन्दुमा झर्नुमा नीतिकै दोष छ,’ उनले भने । पुँजी बजार विश्लेषक मुक्ति अर्यालले पनि राष्ट्र बैंकको गलत नीतिका कारण मारमा परेका लगानीकर्ताले अब राहत पाउने अपेक्षा गरिएको बताए । राष्ट्र बैंकले १२ करोडबाट सीमा कतिमा पुर्‍याउँछ, त्यसले बजारको भविष्य निर्धारण हुने उनको भनाइ छ ।

‘राष्ट्र बैंकले १२ करोडको सीमालाई २४ करोड वा सोभन्दा माथिको बनाए बजारलाई सहज हुन्छ । कर्जाको जोखिमभार पनि १५० बाट १०० प्रतिशतमा झार्नुपर्छ,’ उनले भने । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिमा १२ करोडबाट २० करोड रुपैयाँ सीमा पुर्‍याउने प्रस्ताव पुगेको छ । तर, अर्थमन्त्री महतको चाहना १२ बाट २५ करोड पुर्‍याउने रहेको स्रोत बताउँछ । गभर्नर अधिकारीले भने १८ करोडसम्म सेयर धितो कर्जाको सीमा पुर्‍याउन सकिने मनस्थितिमा छन् ।

प्रतिक्रिया दिनुहोस्