मुनाल सहकारीको पन्ध्रौं साधारण सभा सम्पन्न «

मुनाल सहकारीको पन्ध्रौं साधारण सभा सम्पन्न

पोखरा- पोखराको नयाँबजारमा कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कास्की जिल्लाभर कार्यक्षेत्र रहेको यस सहकारीको साधारण सभा संस्थाका जेष्ठ शेयर सदस्य रगबहादुर गुरूङले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि रगबहादुर गुरूङले मुनाल सहकारीले शेयर सदस्यहरूको हितको लागि गरिरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी शेयर सदस्यहरूसँग सामिप्यता बढाउनुपर्ने बताएका थिए । ‘सहकारीले चाडबाड लक्षित कार्यक्रमहरू, अध्ययन अवलोकन भ्रमण, शेयर सदस्यहरूको लागि वित्तीय साक्षरता तालिम आदि सञ्चालन गर्दै जानुपर्नेमा गुरूङले जोड दिए ।

सभामा आ.व. २०७९/८० मा मुनाल सहकारीमा उत्कृष्ट कारोबार गरेबापत पूर्वअध्यक्ष तथा सल्लाहकार मेघनाथ काफ्ले र सल्लाहकार मोतिराम पौडेललाई सम्मान गरिएको थियो । सोही अवसरमा वर्षभरिको उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी सृजना कमरलाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले जानकारी दिएका छन् ।

साधारण सभाको उद्घाटन समारोहमा बोल्दै पशु सेवा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रमुख डा। गृष्म नेउपानेले अहिलेको विषम परिस्थितिमा पनि मुनाल सहकारीले गरिरहेको कार्यको प्रशंसा गर्दै नेपाल सरकारको ऐन–नियमको परिधिभित्र सबै सहकारी संस्थाहरू चल्नुपर्ने बताए ।

कार्यक्रममा मुनाल सहकारीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईंले संस्था कति नाफामा छ भन्दा पनि संस्था कुन बाटोतर्फ गइरहेको छ भन्नेतर्फ शेयर सदस्यहरूले ध्यान दिनुपर्ने बताए । उनले अहिलेको वित्तीय बजारमा देखिएको प्रतिकुल अवस्थामा संस्थालाई चलायमान बनाउन शेयर सदस्यहरूको सहयोग, सहकार्य तथा सक्रियता हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व संस्थाका पूर्वअध्यक्ष मेघनाथ काफ्ले, सल्लाहकार रामजीप्रसाद बाँस्तोला, नेफ्स्कुन पोखरा सदस्य सेवा कार्यालय, कास्कीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष किरणप्रसाद बन्जारा लगायतका वक्ताहरूले मुनाल सहकारीको बारेमा र वर्तमान अवस्थामा सहकारीहरूको समस्याका विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा लेखा समितिका संयोजक रोशनजंग कार्कीले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष रमेशकुमार पौडेलले कोषाध्यक्षको प्रतिवेदन, नारायणबहादुर थापाले नीति, कार्यक्रम र बजेट तथा मगनलाल श्रेष्ठले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको मुनाल बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक अम्बर बहादुर थापाले जानकारी दिएका छन ।

सहकारीका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा. विष्णुप्रसाद चापागाईंले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य डिलकुमारी पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए भने सभाको सञ्चालन संस्थाका सचिव नारायणबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्