निर्माण प्रभावकारी बनाउन माग «

निर्माण प्रभावकारी बनाउन माग

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ विममा सार्वजनिक सुनुवाइमा सहभागी वडाबासीले वडास्तरमा हुने विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने माग गरेका छन् । कार्यक्रममा सहभागीले सडक विस्तार भए पनि पूर्णता नभएको, खेलकुदको बजेट क्लबले नपाएको, वडास्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुन नसकेको, शिक्षा र स्वास्थ्यलाई ध्यान नदिइएको जस्ता गुनासा गरेका थिए ।

यसैगरी गाउँको ढल व्यवस्थापन योजना अलपत्र परेको, सडक विस्तार भएको ठाउँमा संरक्षण नगरिएको, प्राविधिकको काम फरक परेको, योजनाको अनुगमन नभएको, सिँचाइका लागि पाइपको अभाव भएको, सबै ठाउँमा इन्टरनेटको सुविधा नपुर्‍याइएको, स्वीटर बुन्ने मेसिन अलपत्र परेको, अनुदानका कार्यक्रमबाट सहयोग नपाइएको गुनासो सहभागीले सुनाएका थिए ।

सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले पालिकामार्फत् वडास्तरमा सञ्चालन हुने विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन जोड दिइएको बताए । उनले विमको विकास गर्नका लागि विगतदेखि नै वडा, पालिका, प्रदेश र संघ सरकारमार्फत् झोलुङ्गे पुल निर्माण, सडक विस्तारलगायत योजनामा उच्च प्राथमिकता दिएर काम गरिएको जानकारी दिए ।

विकास निर्माणको कामलाई प्रभावकारी बनाउन नागरिकस्तरबाट पनि अनुगमन गर्न जरुरी रहेको उनको भनाइ छ । विमका वडाध्यक्ष टकबहादुर पुनले वडाको सबै टोल र बस्तीमा योजनाको पूर्ण कार्यान्वयन गर्नका लागि वडाका जनप्रतिनिधिले टोल विभाजन गरेर काम गरेको बताए । उनले वडामार्फत् शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सिँचाइलगायत योजनालाई प्राथमिकता दिएको बताउँदै वडाको आवश्यकता र स्थानीयको जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९/०८० मा वडा कार्यालयबाट कुल ५९० वटा सिफारिस दिएको उल्लेख गरे । गत आवमै वडामार्फत् विभिन्न टोल र बस्तीमा कुल ५१ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरी विकास निर्माण, विभिन्न योजना र कार्यक्रम सञ्चालन गरिएको वडा सचिव पुनले बताए ।

जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोगविहीन

जनशक्ति नहुँदा रघुगंगा गाउँपालिका–३ पिप्ले स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन प्रयोगविहीन भएको छ । गाउँपालिकाले जनशक्ति व्यवस्थापन नगर्दा महँगो मूल्यमा खरिद गरेर ल्याएको एक्सरे मेसिन डेढ वर्षदेखि प्रयोगविहीन बनेको हो । एक्सरे मेसिन राख्ने नयाँ भवन निर्माणपछि खरिद गरेर ल्याएको मेसिन प्रयोगमा ध्यान नदिँदा राखु भगवती र पिप्लेबासी एक्सरेको सुविधा लिन बेनी जानुपरेको गुनासो पिप्लेमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा उपस्थित स्थानीयबासी मुक्तिप्रसाद शर्माले गुनासो पोखे ।

पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर आधारभूत अस्पतालको सेवा सञचालन गर्ने योजनासहित भिडियो एक्सरे र एक्सरे मेसिन खरिद गरेर गाउँपालिकाले ल्याएको थियो । पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डेले आधारभूत अस्पताल निर्माणका लागि एक्सरे र भिडियो एक्सरे मेसिन गाउँपालिकाले खरिद गरे पनि जनशक्ति अभावले आंशिक रूपमा भिडियो एक्सरे मेसिन प्रयोग भएको छ भने एक्सरे मेसिन र प्रयोगशाला सञ्चालनमा जनशक्ति अभाव रहेको बताए ।

सार्वजनिक सुनुवाइमा उठेको प्रश्नको जवाफ दिँदै वडाध्यक्ष खिमबहादुर शाहीले प्रयोगविहीन अवस्थामा रहेको एक्सरे मेसिन सञ्चालनका लािग पटकपटक कार्यपालिका बैठकमा आवाज उठाएको बताए । उनले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति व्यवस्थापनमा ढिलाइ गर्दा आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्