विद्युतीय समस्या हटाउन फिडर जडान हुँदै «

विद्युतीय समस्या हटाउन फिडर जडान हुँदै

महेन्द्रनगर– कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाका स्थानीयले वर्षौंदेखि भोग्दै आएको अनियमित विद्युत समस्या हट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट अर्को फिडर जडान गरी वर्षौं देखिको विद्युत अनियमित समस्या हटाउन लागेको हो ।

प्राधिकरणले फिडर जडानका लागि यस वर्ष एक करोड ६० लाख रुपैयाँ छुट्याएको छ । त्यसैगरी सबस्टेसनको एउटै फिडरबाट विद्युत वितरण भएकाले दोधारा–चाँदनीका स्थानीयले विद्युत अनियमित समस्या झेल्दै आएका छन् । उक्त क्षेत्रका स्थानीय मदन जोशीले विद्युत आउने जाने, डिम लाइट दिने र धेरै दिनसम्म बिजुलीसमेत नआउने लगायतका समस्या रहेको बताए ।

उनले भने, ‘अहिले एक ठाउँमा विद्युत समस्या आउँदा नगरपालिका सबै स्थानीय अँध्यारोमा बस्नुपर्ने बाध्यतामा रहेको जोशीले बताए । ‘त्यसैगरी दोधारा–चाँदनीमा विद्युत प्राधिकरणको फ्युज शाखा रहेको छ । फ्युज शाखाका कर्मचारीले एउटै फिडर र लोड धान्न नसकेर विद्युत अनियमित हुने गरेको बताए ।

दोधारा–चाँदनी नगरपालिका स्थानीय एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति पुरन कुमालले स्थानीयले विद्युत अनियमितको समस्याले धेरै सास्ती खेप्नु परेको बताए । उनले भने, ‘उक्त क्षेत्रमा विद्युतको धेरै ठूलो समस्या रहेको छ, राति १० बजेपछि बिजुली जाने गर्छ भने, बिहानको सात बजेमात्रै बिजुली आउने गर्छ ।’ त्यसैगरी नगर सभापति कुमालले नगरपालिकाको नेतृत्वले विद्युत समस्यालाई प्राथमिकता दिएर हल गर्नुपर्ने बताए ।

यसअघि २०७४ सालमा विद्युत अनियमित समस्या समाधान गर्न फिडर जडानसहितका कार्यका लागि ठेक्कासमेत भएको थियो भने स्थानीयले चवन्नी बजारमा ठेकेदारलाई काम गर्न नदिएपछि रोकिएको थियो । दोधारा चाँदनी नगरपालिका नगरप्रमुख किशोरकुमार लिम्बुले अलपत्र परेको कामलाई निरन्तरता दिन पटकपटक प्रयास गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्