स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी काठमाडौंमा

काठमाडौं– यही असोज १९ र २० गते काठमाडौंमा स्र्टाटअप एण्ड आइडिया फेस्टसँगै स्टिम क्याम्पको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने कार्यक्रममा सातै प्रदेशका स्टार्टअपहरुले सहभागिता जनाउनेछन् ।
उक्त फेस्टमा एक सय भन्दा बढी डिजिटल स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी हुनेछ । आइसिटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहनेछ । आइसिटी अवार्ड २०२३ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्ट प्रदर्शनी गर्ने आयोजकले जनाएको छ ।
सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० भन्दा बढी स्टार्टअपको पनि कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टङ सहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टलाई पनि प्रर्दशनीमा राख्नेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरलाई प्रवद्धन गर्न आयोजना गरिएको लिभिङ विथ आइसिटीको अध्यक्ष राजन लम्सालले बताए ।
आइसिटी अवार्ड २०२३ को नोमिनेशन र छनौट प्रकृया सञ्चालनमा छ । विभिन्न चरणको छनौट पश्चात उत्कृट १२ मा पर्न सफल स्टार्टअपले पनि कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्धन गर्न सक्नेछन् । अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन् । आइसिटी अवार्डका विभिन्न १३ विधामा ५०० भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।