Logo

लम्पी स्किन राहत मापदण्ड गृह र अर्थमै अल्झियो

काठमाडौं– लम्पी स्किनपीडित कृषकलाई राहत दिन प्रस्ताव गरेको मापदण्ड गृह र अर्थमन्त्रालयमा अल्झिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मापदण्ड तयार गरी स्वीकृतिका लागि गृह र अर्थ मन्त्रालय पठाएको एक महिना भइसकेको छ । गृह र अर्थ मन्त्रालयमा मापदण्ड तयार गरी स्वीकृतिका लागि पठाएको एक महिना भए पनि आजसम्म स्वीकृत नभएर अड्किएको कृषि मन्त्रालयका सह प्रवक्ता तपेन्द्र बोहराले जानकारी दिए ।

गृह र अर्थबाट प्रस्ताव गरेको मापदण्ड स्वीकृत नहुँदा पीडित कृषकलाई राहत दिन समय लाग्ने उनले जानकारी दिए । उनले भने, ‘अर्थ र गृहबाट प्रस्ताव स्वीकृत भएर आएपछि त्यसलाई मन्त्रिपरिषद्मा पठाउँछौं । मन्त्रिपरिषद्ले अनुमोदन गरे मात्र यो लागू हुनेछ ।’ उनका अनुसार अहिलेसम्म अर्थ र गृहबाट मापदण्ड स्वीकृत भएको छैन । समयमै मापदण्ड स्वीकृति नहुँदा कृषकले ढिला पाउने उनले बताए ।

प्रवक्ता बोहराका अनुसार किसानको अवस्था र क्षतिको प्रकृति हेरी प्रतिकिसान ५ हजारदेखि २० हजार रुपैयाँसम्म दिनुपर्ने मापदण्ड प्रस्तावमा गरिएको छ । राहत मापदण्ड तीन प्रकारको छ । साना बाच्छाबाच्छीको हकमा ५ हजार रुपैयाँ छ भने स्थानीय साना गाईको हकमा १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै ठूला वयस्क भैंसी, राँगा र उन्नत जातका गाईको हकमा २० हजार रुपैयाँ दिने प्रस्तावमा उल्लेख छ ।

क्षतिपूर्ति दिन वडा कार्यालयले मरेका पशुको तथ्यांक संकलन गरी पालिकामा पठाउनुपर्नेछ । वडाले संकलन गरेको तथ्यांक पालिकाले सही वा गलत जे हो अध्ययन गरी प्रमाणीकरण गरेर अर्थ मन्त्रालयको विपत् व्यवस्थापन समितिमा पठाउनुपर्ने व्यवस्था छ । लम्पी स्किन रोगबाट मरेका पशुको यथार्थ संख्या संकलनपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत पीडित कृषकको बैंक खातामा रकम पठाइने प्रस्ताव मापदण्डमा छ ।

मन्त्रालयका अनुसार लम्पी स्किन रोगका कारण देशभर ५२ हजार ५ सय ४८ पशु मरेका छन् । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले पनि हालसम्म मरेका ५२ हजार ५ सय ४८ पशुमध्ये विवरण छुट्ट्याउन बाँकी रहेको बताए । देशभर १५ लाख १९ हजार ७ सय ७९ पशुलाई संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १३ लाख ९३ हजार ५ सय ९५ निको भएका छन् भने ७३ हजार ६३६ पशु अझै बिरामी छन् ।

सूचना अधिकारी ढकालका अनुसार पछिल्लो पटक लम्पी स्किन रोगबाट संक्रमण र मरेको पशुका विवरण जिल्लाबाट आउन छोडेको उनले बताए । लम्पी स्किन रोगबाट पशुको मर्ने संख्या र संक्रमण हुने संख्या घट्दै गएपछि विवरण आउने छोडेको उनले जानकारी दिए । चिसो बढ्न थालेपछि लम्पी स्किन रोग लाग्ने समय पनि सकिएको हुँदा पशुको मर्ने संख्या घटेको उनको भनाइ छ ।

विभागका अनुसार २०७९ चैतदेखि कोसी प्रदेशबाट यो रोग फैलिन सुरु भएको थियो । अहिले ७७ वटै जिल्लामा रोग पुष्टि भइसकेको छ । देशभर ७४ लाख १३ हजार १ सय ९७ गाई र ५१ लाख ३२ हजार ९ सय ३१ भैंसी छन् । नेपाल पशु चिकित्सा परिषद्को अध्ययनअनुसार वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुन्छ ।

विश्व पशु स्वास्थ्य संगठनका अनुसार यो रोग देखिएको ठाउँमा फैलिने दर १० देखि २० र मृत्युदर १ देखि ५ प्रतिशत पुग्छ । तर, भारतलगायत केही मुलुकमा फैलिने दर उच्च देखिएको छ । भारतमा २४.२, बंगलादेशमा ३४ र इथियोपियामा ३६ प्रतिशतसम्म रोग फैलिएको परिषद्ले बताएको छ । भारतमा १२.४, बंगलादेशमा ३.२ र इथियोपियामा ४.५ प्रतिशत मृत्युदर देखिएको छ । एउटै खोरमा रहेका ८२.३ प्रतिशत पशुमा रोग फैलिने र त्यसमा २४.३ प्रतिशत मर्ने गरेको अध्ययनमा उल्लेख छ ।

भारतमा एउटा गाई बिरामी हुँदा ९४ हजार ८ सय ३९ र भैंसीबाट ४३ हजार ३ सय २९ रुपैयाँको आर्थिक क्षति भएको छ । बंगलादेशमा प्रतिगाईभैंसी १२ हजार ३ सय २३ र इथियोपियामा ४२ हजार ९ सय रुपैयाँ आर्थिक क्षति हुने गरेको छ । सोही आधारमा नेपालमा न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्