Logo

भारतसँग डेढ खर्ब घाटा, अमेरिकासँग नाफा

रोकिएन वैदेशिक व्यापारको गिरावट

काठमाडौं– केन्द्रीय बैंकले अर्थतन्त्रका बाह्य सूचकांकमा सुधार देखिएको तथ्यांक सार्वजनिक गरे पनि मुलुकको बाह्य व्यापारमा आएको गिरावट रोकिएको छैन । अघिल्लो आर्थिक वर्षको सुरुदेखि नै निरन्तर ओरालो लागेको वैदेशिक व्यापार चालु आवमा पनि नरोकिएको हो । अघिल्लो आवमा जस्तै यो वर्ष दोहोरो अंकको गिरावट छैन । तर, चालु आवको साउन र भदौ दुवै महिनामा कुल वैदेशिक व्यापारसहित आयात, निर्यात र व्यापार घाटाजस्ता सूचकमा गिरावट हुने क्रम रोकिएको छैन ।

हाम्रोजस्तो मुलुकका लागि आयात व्यापारमा गिरावट आउनु राम्रो भए पनि समग्र व्यापार घट्नु राम्रो होइन । आयात घट्दा निर्यात बढाएर भए पनि कुल वैदेशिक व्यापार वृद्धि हुनु अर्थतन्त्रका लागि राम्रो पक्ष हो । अर्कोतिर आयात बढ्दा पनि कस्ता किसिमका वस्तु ल्याएका छौं भन्ने विषयले भर पार्छ । औद्योगिक कच्चा सामान, मेसिनरी, पार्टपुर्जा, मूल्य अभिवृद्धि हुने किसिमका वस्तुको आयात बढेको छ भने त्यो अर्थतन्त्रका लागि हानिकारक होइन ।

पछिल्लो दुई महिनामा निर्यात व्यापार सबैभन्दा बढी अर्थात् ७.७९ प्रतिशतले घटेको छ । चालु आवको दुई महिनामा निर्यात २६ अर्ब ४४ करोडमा सीमित छ । अघिल्लो आव २०७९–८० को यस अवधिमा ३४.८८ प्रतिशतले घट्दा पनि २८ अर्ब ६८ करोडको वस्तु निर्यात भएको थियो । आव २०७८–७९ मा भने सुरुका दुई महिनामै ४४ अर्ब ३ करोडको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार दुई महिनामा आयात पनि ५.०६ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २ खर्ब ७३ अर्बको आयात भएकोमा चालु आवको भदौसम्ममा २ खर्ब ५९ करोडको आयात भएको छ ।

आव २०७८–७९ को सुरुका दुई महिनामै ३ खर्ब १४ अर्बको वस्तु आयात भएको थियो । आयात र निर्यात दुवै घटेसँगै मुलुकको व्यापार घाटामा सुधार देखिएको छ । व्यापार घाटामा ४.७४ प्रतिशतले कमी देखिएको छ । चालु आवको दुई महिनामा २ खर्ब ३३ अर्बको व्यापार घाटा भएको छ । अघिल्लो वर्ष यो अवधिमा २ खर्ब ४४ अर्ब घाटा भएको थियो । आन्तरिक बजारमा माग बढ्न नसकेको तथा निकासीयोग्य वस्तुको उत्पादनसमेत बढ्न नसक्दा कुल वैदेशिक व्यापारको आकारमा समेत कमी आएको छ । दुई महिनामा २ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।

अघिल्लो वर्ष यो अवधिमा ३ खर्ब २ अर्बको वैदेशिक व्यापार भएको थियो भने आव २०७८–७९ मा ३ खर्ब ५८ अर्बको व्यापार भएको थियो । विभागको तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा घटेर ९.२४ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आवमा यो हिस्सा ९.४९ प्रतिशत थियो । यसले नेपालको वैदेशिक व्यापारमा निर्यात व्यापारको अवस्था झनै खस्केको देखिए पनि विगतमा जस्तो पाम आयल, भटमासको तेलजस्ता वस्तुको निकासी रोकिएका कारण वास्तविक निर्यातमा भने कुनै प्रभाव नपरेको सरोकारवाला बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठले अहिलेको निकासी व्यापारको तथ्यांकबाट निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘नेपालले कृषिजन्य वस्तुको निकासीबाटै व्यापार घाटामा कमी ल्याउनुपर्छ । अधिकतम मूल्य अभिवृद्धि हुने वस्तुको निकासीमा जोड दिनु आवश्यक छ,’ श्रेष्ठले भने, ‘निकासीका नयाँ वस्तु र गन्तव्य पहिचान गर्न जरुरी छ । अहिलेकै बजारमा पनि अधिकतम निकासीको सम्भावना रहेकाले उत्पादनमा पनि उत्तिकै जोड दिनुपर्छ ।’

भारतसँग डेढ खर्ब घाटा, अमेरिकासँग नाफा

चालु आवको पहिलो दुई महिनामा नेपालले भारततर्फ १६ अर्ब ७३ करोडको वस्तु निकासी गरी भारतबाट १ खर्ब ६० अर्बको आयात गरेको छ । यसरी नेपालको भारतसँग मात्र १ खर्ब ४४ अर्ब व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांक छ ।

चीनसँग ४५ अर्ब ९९ करोडको व्यापार घाटा छ । चीनबाट ४६ अर्ब ५४ करोडको आयात गरी ५४ करोड ३३ लाखको निकासी गरेको छ । अमेरिकासँगको व्यापारमा भने १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको नेपालले अमेरिकातर्फ ३ अर्ब ३६ करोडको निर्यात र अमेरिकाबाट २ अर्ब २२ करोडको आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्