कोरियन एयरलाई टिकट बेच्न रोक «

कोरियन एयरलाई टिकट बेच्न रोक

काठमाडौं– नेपाल वायुसेवा निगमलाई उडान अनुमति नदिएर एकलौटी नेपालमा उडान भरिरहेको कोरियन एयरको उडान रोकिने भएको छ । कोरियन एयरले कूटनीतिक मर्यादा र दुई देशबीचको हवाई सेवा सम्झौताको प्रावधानविपरित एकलौटी उडान भर्न खोजेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २९ अक्टोबरबाट टिकट बिक्री नगर्न पत्राचार गरेको छ ।

कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्सलाई पत्राचार गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनले भने, ‘हवाई सेवा सम्झौताअनुसार एक देशले दिएको उडान भर्ने वायुयानलाई अर्काे देशले पनि उडान अनुमति दिनुपर्छ । नेपाल र कोरियाबीच सन् २००१ हवाई सेवा सम्झौता भएको थियो । २००४ मा सम्झौता संशोधन भएको छ ।’

सम्झौताबमोजिम कोरियाले कोरियन र एसियन एयरलाइन्सले उडान भर्नको लागि पत्र पठाएको थियो । एसियनले नेपालमा चार्टर उडान भर्ने गरेको थियो । पछि कोरियाको हवाई सेवा नियामकबाट कारवाहीमा परेपछि उसले उडान बन्द गरेको छ । कोरियन एयरले भने नेपालमा नियमित उडान भरिरहेको छ । काठमाडौं–सिओलमा कोरियन एयरले साताको चार उडान गर्छ । कम्पनीले ईपीएसका कामदार लानुपरेको अवस्थामा भने संख्या थपेर उडान भर्ने गरेको छ ।

हवाई सम्झौताबमोजिम नेपाल सरकारले पनि कोरियामा उडानका लागि निगमलाई अनुमति दिन कूटनीतिक पहल गरेर ६ वर्ष अगाडि पत्राचार गरेको थियो । तर, कोरियाले विभिन्न बहाना गरेर अनुमति नदिएको प्राधिकरणले जनाएको छ । ‘नेपालको उडान रोकिएको छ तर नेपालमा कोरियन एयरले उडान भरिरहेको छ,’ सूचना अधिकारी भूलले भने, ‘यसरी एकतर्फी उडान भर्दा भाडामा एकाधिकार कायम भएको छ । यात्रु मारमा परेको गुनासो बारम्बार आएका कारण उडान रोक्न पत्राचार गरेका छौं ।’

यसअघि पनि नागरिक उड्डयन मन्त्रालयले दक्षिण कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयरले बढी भाडा लिएको भन्दै पटक–पटक प्रश्न गरेको थियो । प्राधिकरणका सूचना अधिकारी भूलले भने, ‘आगामी जाडो यामको उडान तालिका अक्टोबर २९ बाट बन्द गर्न पत्राचार गरेको छौं । उडान बन्द गर्न कूटनीतिक तवरबाट पनि जानकारी दिनेछौं । यो समयमा कोरियन सरकारले सम्झौताको पालना गरेर निगमलाई उडान भर्ने अनुमति दिएको खण्डमा उडान निरन्तर हुन्छ, नभए बन्द गर्छाैं ।’

गत वैशाखमा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयरले बढी भाडा लिएको भन्दै प्रश्न गरेका थिए । उनले कुनै मुलुकमा ट्रान्जिट भएर कोरिया जाँदा ७० हजार भाडा लाग्ने तर सिधै जाँदा कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने गरेकामा पनि प्रश्न उठाएका थिए ।

मन्त्रालयका अनुसार विगतमा नेपाल वायुसेवा निगमले वाइड बडी–एयरबस ३३० विमान खरिद गरेपछि कोरिया उडान भर्नका लागि चासो व्यक्त गरेको थियो । निगमले कोरिया उडानका लागि लामो समयदेखि प्रक्रिया थाले पनि कोरियाली सरकारले सेफ्टी अडिट गर्नुपर्ने बहानामा अनुमति दिएको छैन । नियमित उडान गर्न कोरियाको भूमि पूर्वाधार तथा यातायात मन्त्रालयबाट निगमको सेफ्टी अडिट गर्ने भनिएअनुसार अहिले एक उपसमिति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्