बन्द विमानस्थल सञ्चालनको तयारी «

बन्द विमानस्थल सञ्चालनको तयारी

पोखरा– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन प्रवर्द्धन गर्न हवाई कनेक्टिभिटी पहिलो आवश्यकता भएको बताएका छन् ।

पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन व्यवसायीसँगको शनिबार पोखरामा भएको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री किराँतीले समुद्रसँग नजोडिएको हाम्रो जस्तो मुलुकका लागि पर्यटन विकासका लागि हवाई कनेक्टिभिटी पहिलो आवश्यकता भएको बताएका हुन् ।

सरकारले निर्माण गरेका २२ वटा विमानस्थल हाल प्रयोगविहीन भएकाले त्यसको उच्चतम प्रयोग गर्दै दुर्गम क्षेत्रका जनताका लागि पहिलो चरणमा सानो प्रकृतिको तीन जहाज खरिद गर्ने प्रकृयामा सरकार रहेको उनले बताए । करिब तीन अर्ब लगानीमा जहाज खरिद गरी अलपत्र अवस्थामा रहेका विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी भएको मन्त्री किराँतीको भनाइ थियो ।

बुद्ध एयरजस्ता चारवटा जहाज सुरुमा अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्न मिल्ने र न्यारोबडी प्रकृतिको थप चारवटा जहाज खरिद गर्न सरकारले गृहकार्य सुरु गरेको मन्त्री किराँतीले दाबी गरे । कनेक्सन फ्लाइट गर्ने दुबईबाट आएको जहाजले सिधै पोखरा आउने वातावरण मिलाउने उनको भनाइ छ । एक रात पोखरामा बसेर सम्भव भए सोही दिन अन्यथा भोलिपल्ट मुस्ताङको जोमसोमसम्म लाने वातावरण मिलाउने मन्त्री किराँतीले बताए ।

जहाज खरिद गर्ने विषयमा निकै चुनौती रहेको उल्लेख गर्दै मन्त्री किराँतीले जनता र राष्ट्रिय हितका लागि जस्तोसुकै सामना गर्न आफू तयार रहेको उनले दाबी गरे । उनले भने, ‘समुद्रले नछोएको हाम्रो जस्तो मुलुकका लागि जहाज निकै महत्वपूर्ण हुँदोरैछ तर यहाँ जहाज खरिद गर्न नदिने रैछ, पैसा पनि छ, किन्न पनि दिँदैन,’ उनी भन्छन्, ‘राष्ट्रिय आवश्यकता हो, पन्चवर्षीय पन्ध्रौं राष्ट्रिय योजनामा पनि जहाज आवश्यक हो भनिएको छ, किन्न खोज्दै छौं, मुद्दा लागिहाल्छ ।’

अब सरकारले तीन मुख्य कामलाई पहिलो प्राथमिकता दिने बताए । मन्त्री किराँतीले सात महिनामा गरेका काम तथा योजनाको अवलोकन तथा पुन: अनुगमन गर्ने, दोस्रो मध्यमस्तरको परिणममा जाने जसमा नेपालमा जहाज थप गरी कालोसूचीमा परेको नेपाललाई त्यसबाट हटाउन पहल गर्ने र पशुपतिनाथ मन्दिर क्षेत्रमा नि:शुल्क शवदाह गर्ने विषयमा सरकार लागिपरेको बताए ।

टिचिङ हस्पिटलमा खातका खात शव रहेको उनले उल्लेख गरे । शनिबारमात्रै सम्झौताका लागि टेण्डर प्रकृया अघि बढेको उनले बताए । मध्यमस्तरको नतिजा निकाल्दै नीति निर्माणमा लाग्ने बताउँदै मन्त्री किराँतीले पर्यटन ऐन बनाउन लागिपरेको बताए । मन्त्री किराँतीले आफूभन्दा पुरानो पर्यटन ऐनले अहिलेको पर्यटन क्षेत्रको विकास र उन्नति गर्न नसक्ने दाबी गरे ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समसामयिक समस्या राख्दै पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्न, बैंक तथा वित्तीय क्षेत्रबाट व्यवसायीलाई परेको मर्कालाई मध्यनजर गरी एक अंकमा व्याज दर कायम गर्न पहल गर्न, पोखरा आउने सडकमार्गको उचित व्यवस्थापन गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्