धार्मिक क्षेत्रले पर्यटनको मात्र नभई आर्थिक विकासमा योगदान दिन्छ

पोखरा– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संस्कृति ऐन बनाउने तयारी गरेको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार पोखरामा आयोजना गरेको श्रीहेम देवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण समारोहमा बोल्दै मन्त्री किराँतीले नेपालमा हालसम्म संस्कृति ऐन नभएकोले संस्कृति ऐन बनाउने तयारी गरेको बताएका हुन् ।
संसारमै रंगी विरङगी संस्कृति भएको मुलुक नेपालमै संस्कृति ऐन नभएको उनले गुनासो गरे । संस्कृतिको नीति निर्माणपछि प्रज्ञा प्रतिष्ठानको कुलपतिको संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको बताउँदै मन्त्री किराँतीले त्यस नीतिका आधारमा संस्कृति ऐन बनाउने उल्लेख गरे । पर्यटनको क्षेत्रमा बढीभन्दा बढी जनशक्ति उत्पादन गर्न सरकार लाग्ने उनको भनाई थियो । पर्यटन विश्वविद्यालय स्थापना गर्न समेत मस्यौदा समिति गठन गरेको मन्त्री किराँतीले बताए ।
सचिवको नेतृत्वमा ऐन ड्राफ बनाउन लागेको उनको भनाई थियो । नेपालको पर्यटन विकास विश्वका मुलुकभन्दा फरक संस्कृति र प्रकृतिको संयोजनबाट मात्र हुने दाबी गरे । उनले भने, ‘अर्कोको देशको जस्तो नक्कल गरेर हामी कहिले पनि पर्यटन क्षेत्रमा विश्व बजारमा प्रतिस्प्रर्धा गर्न सक्दैनौं, हामीले हाम्रो आफ्नो मौलिकपन दिने हो हाम्रा चोकैपिच्छे मन्दिर, विभिन्न समुदायको कला भेष भुषा संस्कृति हुनु यो नै हाम्रो पर्यटनको आकषर्णको केन्द्र हो ।’
कुनै देशले गोरु जुधाएको पनि टिकट बिक्री गरी पर्यटक भित्र्याउने गरेको उदाहरण दिँदै मन्त्री किराँतीले हाम्रो देशमा मनाउँदै आएका चाडपर्व र जात्राले पनि विश्वका पर्यटकलाई आकषर्ण गर्न सकिने दाबी गरे । संसारका मान्छे एक दिन हाम्रो देशमा आउने दाबी गर्दै मन्त्री किराँतीले जहाँ कुनै सवारीसाधन नचल्ने र मोबाइल फोन समेत नचल्ने त्यस्तो स्थानको खोजीमा नेपाल पर्यटनको पहिलो गन्तव्य हुने उल्लेख गरे ।
नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाइ थियो । नेपालको पर्यटनमा एकीकृत विकास गर्नुपर्ने बताउँदै मन्त्री किराँतीले पर्यटनलाई नेपालका धार्मिक मठ मन्दिरसँग जोड्न सक्नुपर्ने जनाए । मुक्तिनाथ, विन्ध्यवासिनी, पशुपतिनाथ, लुम्बिनी, संसारको अग्लो शिखर सगरमाथा हाम्रो देशमा भएर पनि ज्ञानका हिसाबले निकै कम भएको मन्त्री किराँतीले बताए । हाम्रो समाजमा इन्द्रेणि रहेको उल्लेख गर्दै मन्त्री किराँतीले तर हामी फिक्का फिक्का हुँदै गएको गुनासो गरे ।
धार्मिक क्षेत्रले पर्यटनको मात्र नभई देशको आर्थिक विकासमा योगदान दिने मन्त्री किराँतीले जनाए । विकासको मोडलमा नेपाली स्वादको पर्यटन निर्माणको निम्ति, विकासको मोडलमा परिवर्तन हुन आवश्यक भएको मन्त्री किराँतीले बताए । भारतको हरिद्वारमा जाने लाखौ धार्मिक पर्यटकलाई नेपालका धार्मिक मठमन्दिर पशुपति, मुक्तिनाथ, विन्ध्यवासिनी मन्दिरमा किन ल्याउन सकिँदैन भन्दै उनले प्रतिप्रश्न गरे ।
उक्त अवसरमा शनिबार स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथ बाबा) लाई श्रीहेम देवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण गरिएको छ । उक्त पुरस्कारको राशि एक लाख एक हजार रहेको सचिव तीर्थ श्रेष्ठले बताए । श्रीमुक्तिनाथ बाबालाई उक्त पुरस्कार मन्त्री किराँती, समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले अर्पण गरेका थिए ।