स्थानीय उत्पादनको बजार बढ्दै «

स्थानीय उत्पादनको बजार बढ्दै

म्याग्दी– म्याग्दीको गाउँगाउँमा किसानले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको माग बढ्दै गएको छ । बेनीमा हुने मेला, महोत्सव, सम्मेलनमा जिल्लाका स्थानीय उत्पादित अर्गानिक वस्तु आन्तरिक तथा बाह्य पाहुनाले खोजीखोजी लाने गरेका छन् ।

म्याग्दी जेसिजको आतिथ्यतामा म्याग्दीको सदरमुकाम बेनीमा भएको नेपालन जेसिजको क्षेत्र ख सम्मेलनमा उपस्थित जेसिज पाउनाले नि:शुल्क स्टलमा राखेका म्याग्दीका उत्पादित वस्तु कोसेलीका रूपमा लगेका छन् । स्थानीयस्तरमै उत्पादित विभिन्न वस्तु बिक्रीका लागि म्याग्दी जेसिजले उपलब्ध गराएको नि:शुल्क स्टलमा म्याग्दीको अर्गानिक कृषिजन्य वस्तु, अल्लोबाट बनेका कपडा र स्थानीयले निर्माण गरेको चप्पल राखिएको थियो ।

बिहीबारदेखि शुक्रबारसम्म सञ्चालन भएको सम्मेलनमा उपस्थित करिब ६ सय अतिथिले स्टलमा राखेका म्याग्दीमा उत्पादित अर्गानिक वस्तु किनर लाने गरेका छन् । स्टलमा अल्लोबाट बनेका ढाकाका कपडा, टोपी, सल, पर्सलगायतका सामान रहेको म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतका महिला उद्यमी कोषाध्यक्ष दिलु गुरुङले बताइन् । उनले मेला, महोत्सव र सम्मेलनले गर्दा स्थानीयले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न सघाउ पुगेको बताइन् ।

त्यस्तै स्टलमा महिला उद्यमीकी सदस्य गंगा खत्रीले सिस्नो, टिम्मुर, टिम्मुरको छोप, बेसार, रातो च्याउ, जिम्भु, सिल्टेमोर बढी बिकेको बताइन् । गाउँगाउँमा उत्पादित स्थानीय वस्तुकोे प्रचारप्रसार र अर्कोतर्फ व्यापार पनि भइरहेको स्टल व्यवसायीहको भनाइ छ । नेपाल जेसिज क्षेत्र ख सम्मेलनका निर्देशक एवम् म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दीको कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचार र बजार विस्तारका साथै पर्यटन प्रवर्द्धनका लागि सम्मेलनले सघाउ पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस्