चाडपर्वमा पनि छैन व्यापार «

चाडपर्वमा पनि छैन व्यापार

धनगढी– नेपालीहरूको चाडपर्व घर आँगनमै छ । भरखरै राष्ट्रिय पर्व तीज सकिएको छ । एक साताअघि सुदूरपश्चिमको मौलिक पर्व गौरा सकिएको छ । गत आइतबार थारु समुदायको खानापानाका परिकारले भरिपूर्ण अट्वारी मनाइएको छ । एक महिनाभित्रै बडादसैं आउँदैछ ।

तर, बजारमा किनलेम निकै पातलो छ । चाडपर्वमा निकै चहलपहल हुने धनगढी बजार सुनसानजस्तै बनेको छ । वर्षात्पछिको उखरमाउलो गर्मी र धनगढी बजारको मेनरोड खनिएकोले पनि बजारमा मानिसहरू जान रुचाउँदैनन् । यहीबेला मानिसको खल्तीमा पैसा सकिएको अर्थशास्त्रीहरूको भनाइ छ । बढ्दो महँगी र घट्दो आम्दानीका स्रोतका कारण उपभोक्ताको क्रयशक्ति ह्रास हुँदै गएको उनीहरूको भनाइ छ ।

विगतमा दैनिक १० देखि १५ पेटी खाना पकाउने तेल बेच्ने गरेका धनगढीका व्यापारी श्याम जोशीले अहिले दैनिक ४÷५ पेटी मुस्किलले बिक्री हुने गरेको बताउँछन् । चाडपर्वको बेला चामल, दाल, नुन, तेल, मसला र सुक्खा फलफूलको राम्रै व्यापार गर्ने गरेका उनले यसपालि खासै व्यापार नभएको बताउँछन् । यसैगरी, तरकारी, फलफूल पनि चाडपर्वमा मनग्य बिक्री हुने वस्तु हो । यसपालि तरकारी र फलफूल निकै महँगो भएकाले चाडपर्वमा ५/६ किलो खरिद गर्ने ग्राहक पनि २/३ किलो किनेको धनगढीका तरकारी व्यापारी प्रेम चौधरीले बताए ।

उनका अनुसार धनगढीमा काउली एक सय, भण्टा ८०, करेला १२०, टमाटर ९०, बोडी १४०, घ्युसिमी १२०, रायोको साग १५०, रातो आलु ६०, सेतो आलु ५०, लौका ८०, बन्दा ९०, फर्सी ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यसैगरी स्याउ अझै दुई, अनार ३५० रुपैयाँ प्रतिकिलो र केरा १२० रुपैयाँ दर्जनमा बिक्री भइरहेको छ । अहिले स्याउ बजारमा आउने सिजन भएपनि भाउ नघटेको उनले बताए । तिजका साडीलगायतका महिलाको कपडा बिक्री हुने पर्व भएपछि यसपालि साडीको व्यापार पनि कम भएको कपडा व्यापारी बताउँछन् । बडादसैं आउन अब केही दिनमात्रै बाँकी छ ।

विगतमा एक महिना पहिलेदेखि तिजकै बेलादेखि बडादसैंका लागि कपडालगायतका सामान किनमेल हुने गरेकोमा यस वर्ष धनगढीका कपडा पसलमा खरिदारको भीडभाड छैन । सिलाउन पर्ने कपडा एक महिना पहिले नै किनेर टेलरलाई दिने गरिन्थ्यो । तर थान कपडा पसलको व्यापार अझै सुरु भएको छैन । सिलाइ गर्ने पसलमा पनि बालबालिकाको स्कुल ड्रेसबाहेकका कपडा सिउने काम पनि निकै कम छन् । तिजमा समेत यसपालि कमै कपडा आएको टेलर रमेश रानाले बताए ।

खुला सीमानाका कारण धनगढीलगायत सीमानाका क्षेत्रका बासिन्दा सिमानाको भारतीय बजारमा किनमेल गर्न जाने गरेको कारणले पनि धनगढी बजारको व्यापार बाँडिएको छ । चाडपर्वको बेला कैलालीका बासिन्दाहरू भारतको सिमाना बजार वनगाउँ, सुडा, टिकुनिया, चन्दनचौकी गएर किनमेल गर्ने गरेका छन् । सीमानाका नेपाली बजारभन्दा भारतीय सिमाना बजारमा खाद्यान्न १० देखि ३० रुपैयाँसम्म सस्तो पर्छ भने तयारी कपडा एकदेखि १५० रुपैयाँसम्म सस्तो पर्छ । यही कारणले मात्रै नेपाली किनेमलका कारणले भारतीय बजार रोज्ने गरेका छन् ।

नेपालमा चाडपर्व सुरु हुँदा भारतीय सीमानाका बजारमा किनमेल बाक्लिएको छ । नेपालीको किनेमेल भारतीय सीमानाका बजार नभई नेपाली बजारमै गराई कोभिड–१९ पछि सिथिल भएको व्यापारलाई उत्थान गर्ने उद्देश्यले नेपाल सरकारले एक सय रुपैयाँको सामान ल्याउँदा पनि भन्सार महसुल लाग्ने नीति लिएको छ । २०७९ चैतदेखि सरकारले सो नीति लिएपछि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपाल बजारमा व्यापार बढ्न सकेको छैन ।

कैलाली जिल्ला भन्सार कार्यालयका अनुसार सीमानाका बजारमा किनमेल गरी ल्याइएको सामानको भन्सार काट्ने गरिएको छैन । त्रिनगर नाकामा रहेको भन्सार कार्यालयका एक कर्मचारीले वनगाउँबाट खरिद गरी ल्याएको सामानको भन्सार नकाट्ने गरेको बताए । उनले भारतबाट रोजगारी गरी फर्किरहेका र यात्रुले ल्याएको सामान घरायसी प्रयोगभन्दा बढी देखिएमा मात्रै भन्सार काटेर पठाउने गरेको बताए ।

उनका अनुसार खुद्रा सामानको भन्सार प्रायः कमै काटिन्छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सरकारले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार लिने नीति कार्यान्वयन भए धनगढीको व्यापार केही मात्रामा भए पनि बढ्ने बताउँछन् । तर राजस्व असुलीका लागि सरकारले चोरी पैठारी नियन्त्रण गर्नुको विकल्प नरहेको उनले बताए ।

भन्सार राजस्व पनि घट्यो

जिल्ला भन्सार कार्यालय कैलालीका अनुसार त्रिनगर भन्सारबाट आयात पनि घटेको छ । यस आर्थिक वर्षको पहिलो र दोस्रो महिनामा राजस्व असुली लक्ष्यको ६० प्रतिशतमात्रै असुली भएको छ । भदौमा ८८ करोड ४० लाख १४ हजार लक्ष्य रहेकोमा ५१ करोड ९३ लाख २५ हजार (५८.७५ प्रतिशत) मात्रै असुली भएको भन्सार कार्यालयले जनाएको छ ।

यसैगरी साउनमा ७२ करोड ३५ लाख ६९ हजार लक्ष्य रहेकोमा ४६ करोड ८२ लाख ५५ हजार (६४.७१ प्रतिशत) असुल भएको छ । खाद्यान्न, तरकारी, फलफूल आयात रोकिएको हुनाले पनि भन्सार राजस्व लक्ष्य पूरा हुन नसकिरहेको भन्सार अधिकृत पवित्रकुमार खड्काले बताए । उनले निर्माण सुस्ताएको हुनाले हार्डवेयरका सामान पनि आयात घटेकोले राजस्व असुलीमा प्रभावित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्