व्यवसायी पलायन रोक्न माग «

व्यवसायी पलायन रोक्न माग

दाङ– व्यवसायी पलायन रोक्ने वातावरण बनाउन निजी क्षेत्रले सरकारसँग आग्रह गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको १९ औं साधारणसभाको उद्घाटनमा बोल्ने अधिकांश वक्ताले त्यस्तो आग्रह गरेका हुन् । राज्यको नीतिका कारण व्यवसाय गर्ने वातावरण हुन नसक्दा व्यसायीहरू पलायन हुने क्रम बढेको उनीहरूको भनाइ थियो । यसतर्फ राज्यले समयमै ध्यान दिनुपर्नेमा ती व्यवसायीहरूले जोड दिए ।

राज्यलाई सहयोग गर्ने निजी क्षेत्रले अहिले राज्यबाट सहयोग पाउन नसकेको उनीहरूको गुनासो थियो । निजी क्षेत्रलाई समस्या परेको समयमा राज्यले अभिभावकको भूमिका खेल्नुपर्ने भए पनि त्यसो गर्न नसकेको गुनासो व्यवसायीहरूको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले आर्थिक क्षेत्र विकराल अवस्थामा रहेको बताए । यसलाई सबै मिलेर समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

आर्थिक क्षेत्र चलायमान हुन नसक्दा समस्या भएको उनले बताए । ‘अहिले धेरै उद्योग–व्यवसाय बन्द अवस्थामा रहेका छन्,’ उपाध्यक्ष वैद्यले भने । ३० प्रतिशत मात्रै उद्योग व्यवसायहरू सञ्चालनमा रहेको भन्दै उनले भने, ‘पछिल्लो समय ७० प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा छैनन् ।’ यस्तो अवस्थामा राजस्व संकलनसमेत घटेको उनको भनाइ छ । राजस्व संकलन कम भएसँगै राज्यलाई समेत समस्या भएको उनले बताए । ‘अहिले देखिएको समस्या समाधान गर्न राज्यले भूमिका खेल्नुपर्छ,’ उपाध्यक्ष वैद्यले भने ।

बैंक ब्याज वृद्धि, आर्थिक क्षेत्रमा देखिएको समस्याका कारण उद्योगी तथा व्यवसायीहरू पलायन हुँदै गएको उनले बताए । समस्या समाधान गर्नका लागि निजी क्षेत्रले आन्दोलन गरेर पनि माग पूरा हुन नसकेको उनको भनाइ थियो । ‘निजी क्षेत्रको समस्याका बारेमा महासंघ चुप लागेर बसेको छैन हामी आन्दोलनको तयारीमा रहेका छौं,’ उपाध्यक्ष वैद्यले भने । निजी क्षेत्रको समस्याबारे राज्यलाई जानकारी गराएको र समस्याको समाधान नभएमा महासंघ नै आन्दोलनमा जाने उनले बताए ।

निजी क्षेत्रलाई विभिन्न बहानामा त्रास सिर्जना गर्ने काम भइरहेको समेत उनले बताए । देशभर नौ स्थानबाट मात्र नापतौलको नवीकरण, चेकजाँच गराउन पाउने भएकाले व्यवसायीहरूलाई समस्या भोग्नुपरेको उनको भनाइ छ । ‘अहिले नौ स्थानमा रहेको सेवालाई २५ स्थानमा पुर्‍याउन हामी लागिपरेका छौं,’ उपाध्यक्ष वैद्यले भने । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले देशमा नै केही गर्नुपर्छ भन्ने वातावरण सिर्जना गराउन लाग्नुपर्ने बताए । विश्वास गर्ने वातावरण नहुँदा समस्या रहेको उनको भनाइ छ । ‘अहिले विश्वास गर्ने वातावरण नहुँदा बिदेसिने क्रम बढ्दै गएको छ,’ नगरप्रमुख चौधरीले भने ।

युवाहरूलाई उद्यमशीलतामा नजोडिँदासम्म देशमा उत्पादनसमेत नबढ्ने उनको भनाइ छ । ‘देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोडिनुपर्छ,’ नगर प्रमुख चौधरीले भने । अहिले देखिएको समस्या समाधान गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने नगर प्रमुख चौधरीको भनाइ छ । ‘एकले अर्कालाइ आरोप लगाएर हुँदैन सबै मिलेर अगाडि बढ्नुपर्छ, सबै मिलेर अगाडि बढेमा समस्या समाधान गर्न सकिन्छ,’ नगर प्रमुख चौधरीले भने । निराशाले कमजोर बनाउने भन्दै आशाका साथ अगाडि बढ्न उनले आग्रह गरे । जिल्लामा लगानी आकर्षण गराउने वातावरण सिर्जना गर्न अगाडि बढ्नुपर्नेसमेत उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रको समस्याका बारेमा राज्यले बुझ्न नसकेको बताए । कुनै पनि उद्योगी–व्यवसायीको मुखमा हाँसो नभएको अध्यक्ष शर्मा बताउँछन् । उद्योगी तथा व्यवसायी समस्याका कारण मुखमा हाँसो हराएको अवस्थामा रहेकोमा उनले जोड दिए । संघका पूर्वअध्यक्ष मधुसूदन वैद्यले राज्यले अभिभावको भूमिका खेल्नुपर्नेमा जोड दिए । राज्यले सहयोग नगर्दा व्यवसाय पलायन हुने क्रम बढ्दै गएको उनको भनाइ थियो । दैनिक सटरहरू बन्द हुँदै गएमा ठूलो समय हुने भन्दै यसमा नै ध्यान दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्