पोखराको फिर्केखोलामाथि १६० घर «

पोखराको फिर्केखोलामाथि १६० घर

पोखरा– प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद फिर्केखोलाको खोला नापजाँच कार्य सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । फिर्केखोलामाथि १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनासहित खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १ सय ६० वटा संरचना निर्माण भएको ‘फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन–२०८०’ प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले बताए ।

फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको भेटिएको उनले बताए । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण भएको संयोजक पौडेलले जनाए । साबिक ग्यारजातिपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं. १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्केखोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको संयोजक पौडेलले बताए ।

यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा खुलेको उनको भनाइ छ । खोलाको उचाइ ४ देखि ९ मिटरसम्म गहिरो रहेको प्रतिवेदनमा उल्लेख छ भने फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमा स्तम्भहरू गाडिएका छन् । फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन् भने यसको नापजाँच कार्य ३२ दिनसम्म २८८ घण्टामा सम्पन्न गरिएको प्रतिवेदनमा जनाइएको छ ।

फिर्के तथा बुलौदी खोला हुँदै फेवातालसम्म पुगेका प्लास्टिकजन्य फोहोर तथा सिसा र विषाक्त रसायनका कारण जीवन संकटमा पर्नुका साथै मानव जीवनमा समेत घातक प्रकृतिका जटिल रोगहरूको जोखिम बढ्ने गरी वातावरणीय प्रदूषण भइरहेको प्रतिवेदनमा उल्लेख छ । खोला फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेकाले तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनले देखाएको छ ।

यसैबीच फिर्केखोलाको खोलाघर नापजाँचसम्बन्धी प्राविधिक प्रतिवेदन समितिका तर्फबाट महानगरपालिकालाई बुझाइएको छ । ‘फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन–२०८०’ प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले पोखराका मेयर धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन् । रोहबरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णुप्रसाद बराल–५, विष्णुबहादुर भट्टराई–६, राममोहन आचार्य–७, रुद्रनाथ बराल–८, राधिका कुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्सिना–१८ रहेका थिए ।

प्रतिवेदन बुझ्दै मेयर आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँचसहितको एक महत्त्वपूर्ण दस्ताबेज तयार भएको बताए । प्रतिवेदनले खोलाघरमाथिको अवस्था देखाइदिएको उल्लेख गर्दै यसको कार्यान्वयनका सम्बन्धमा महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरी उपयुक्त निर्णय लिने जनाए । मेयर आचार्यले भने, ‘सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी यसमाथिका संरचनाहरू हटाइनेछ, दिगो पर्यटन विकास परियोजनाअन्तर्गत यसको संरक्षण, सम्वर्द्धन र विशेष सौन्दर्यकरणको उद्देश्यसहित फिर्के करिडोरको विकास कार्यक्रम सञ्चालन गर्न महानगर कटिबद्ध छ ।’

उपप्रमुख मन्जुदेवी गुरुङले फिर्केखोलामाथि बनेका संरचनाहरू हटाउने कार्यमा आमपोखरेलीहरूको साथ र सहयोग रहने विश्वास गरिन् । महानगरपालिकाले प्रतिवेदनका आधारमा खोलाघर खाली गर्ने बताउँदै उनले यसको संरक्षणका लागि तत्काल काम गर्नुपर्ने अवस्था रहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सार्वजनिक सम्पत्तिको दोहनलाई रोक्दै संरक्षण तथा विकासका गतिविधिहरू सञ्चालन गरिने बताए । फिर्केखोलाको प्राविधिक प्रतिवेदनमा उल्लेख भएका विषयवस्तुहरूको कार्यान्वयनका लागि प्रशासनिक संयन्त्रका रूपमा पोखरा महानगरपालिका तयार रहेको उनको भनाइ छ ।

खोलामा बग्ने विषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेको, खोलाघरमै मापदण्ड विपरीत पक्की संरचनाहरू निरन्तर निर्माण भइरहेकाले खोलाघरको हरियालीमा ह्रास आएको, सहरी तापमानमा वृद्धि भई जलवायु परिवर्तनका असरहरूको नकारात्मक प्रभाव मानव जीवन र वातावरणमा प्रत्यक्ष रूपमा देखिएको, खोलाछेउमा रहेका सार्वजनिक तथा प्रतिजग्गाहरू निरन्तर अतिक्रमण भई भविष्यमा आइपर्ने कुनै पनि प्रकारका विपत्तिहरूमा सुरक्षाका लागि आवश्यक पर्ने खाली स्थानहरूको अभाव हुने अवस्था देखिएको प्रतिवेदनमा समेटिएको छ ।

खोला आसपासमा हुने भौतिक निर्माणको कार्यलाई तत्काल रोक्का गरी सचेतनासहितका सरसफाइ अभियानहरू सञ्चालन गर्न, वातावरणीय सुधारका लागि थप क्रियाकलापहरू गर्न, क्लिन पोखरा ग्रिन पोखराको अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन, सफा पोखरा अभियानमार्फत स्वयंसेवालाई प्रोत्साहन गरी नागरिक अभियानहरू सञ्चालन गर्न प्रतिवेदनमा सुझाव दिएको छ । प्रतिवेदनले सम्पदाको संरक्षणमा उचित मार्गनिर्देशन प्रदान गरेको छ ।

अल्पकालीन तथा दीर्घकालीन पर्यटन पूर्वाधारहरू निर्माणका लागि ठोष योजनाहरू लागू गर्न, प्लास्टिक निषेध कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, विद्यालयस्तरमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्न, पर्यावरणको संरक्षणका लागि मानवीय सचेतना अभिवृद्धि गर्न, विभिन्न स्थानमा पार्कहरू निर्माण गर्न, आवतजावतका लागि सहज पहुँच मार्गहरू विस्तार गर्न, ठाउँठाउँमा चेक ड्यामहरू निर्माण गर्न, खोला आसपासमा ग्रिन जोनहरू विकास गरी पैदल तथा साइकल ट्र्याकहरू निर्माण गर्न सुझाइएको छ ।

जलचर तथा स्थलचर प्राणीको बासस्थान सुरक्षित गर्न खोलाको पानीलाई शुद्धीकरण गरी खोलामा जथाभावी रूपमा मिसाइने गरेको रसायनयुक्त विषाक्त पानीलाई रोक्न, प्राणी जीवनको रक्षा तथा जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न खोलाछेउमा हुने निर्माण कार्यहरूलाई निरुत्साहन गर्न, फिर्केसँग जोडिएका सार्वजनिक जग्गाको संरक्षण गरी भविष्यमा आउन सक्ने विपत्तिहरूमा प्रयोग गर्ने गरी खुला स्थानहरूको विकास गर्नु, खोलाछेउमा सञ्चालनमा रहेका ग्यारेज तथा अटोपार्ट्सहरू, कवाडी संकलन केन्द्रहरू तत्काल स्थानान्तरण गरी ती ग्यारेज तथा अटोपार्ट्सहरू, कवाडी संकलन केन्द्रहरूबाट निस्कने रसायनलाई फिर्केखोलामा मिसिने कार्यलाई रोक्नुपर्ने प्रतिवेदनले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्