पर्यटक आकर्षित गर्न क्यासिनो «

पर्यटक आकर्षित गर्न क्यासिनो

पोखरा– पर्यटकलाई आकर्षण गर्न पोखरामा क्यासिनो सञ्चालनमा आएको छ । चारतारे होटल माउन्ट कैलाश रिसोर्टले क्यासिनो सञ्चालनमा ल्याएको हो । माउन्ट कैलाशसहित पोखरामा तीनवटा होटलमा क्यासिनो सञ्चालनमा हुने तयारी भएको छ । पोखरामा केही वर्षअघि पाँचतारे होटल फूलबारी रिसोर्ट र होटल ग्रान्डमा सञ्चालनमा आएको क्यासिनो विगत केही वर्षदेखि सञ्चालन हुन नसकेको अवस्थामा हाल पोखरामा माउन्ट कैलाश रिसोर्टबाट क्यासिनो सञ्चालनमा आएको हो ।

गत भदौ २९ देखि अनौपचापरिक रूपमा सञ्चालनमा आएको माउन्ट कैलाश क्यासिनोले असोज १२ गते विशेष कार्यक्रम आयोजना गरी उद्घाटन गर्ने आन्तरिक तयारी गरेको छ । रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालिले उद्योग विभागमा दर्ता गरी पर्यटन मन्त्रालयबाट अनुमति प्राप्त भएसँगै उक्त क्यासिनो हाल सफ्ट ओपनिङका रूपमा सञ्चालनमा गरिएको छ । माउन्ट कैलाशसहित पोखरामा थप दुईवटा होटलले समेत क्यासिनो सञ्चालनका लागि उद्योग विभागमा अनुमति लिएका छन् ।

पोखरामा मित्रराष्ट्र भारत र चीनका पर्यटकलाई लक्षित गर्दै उक्त क्यासिनो सञ्चालनमा गर्न लागिएको सञ्चालकहरूले बताएका छन् । माउन्ट कैलाशमा हाल ८० वटा रुम रहेका छन् भने रिसोर्ट २००९ सालदेखि सञ्चालनमा आएको हो । उक्त क्यासिनो सञ्चालनका लागि २० करोडभन्दा बढी लगानी भएको प्रालिले बताएको छ । नेपाली लगानी रहने क्यासिनोमा २ सयभन्दा बढीले रोजगार प्राप्त गर्नेछन् भने उक्त क्यासिनोमा नेपालीलाई खेल्न प्रतिबन्ध गरिएको छ । हालका चारतारे होटलका रूपमा रहेको माउन्ट कैलाशमा मिनी क्यासिनोका रूपमा सञ्चालनमा आएको हो ।

पोखरामा क्यासिनो सञ्चालन गर्ने गरी भेन्टनम इन्टरनेसनलले प्रालि र प्लेजर नेपाल प्रालि उद्योग विभागमा दर्ता भएको छ । पोखरा–६ मा रहेको हेरिटेज होटल एन्ड स्पामा सञ्चालन हुने गरी भेन्टनम इन्टरनेसन प्रालि र पोखरा लेकसाइडमै रहेको होटल सरोवरमा प्लेजर नेपाल प्रालिले उद्योग विभागबाट क्यासिनो सञ्चालनको अनुमति दिएका छन् । माउन्ट कैलाशपछि अब पोखराका दुई होटलमा पनि केही समयपछि क्यासिनो सञ्चालनको गृहकार्य भएको बताइएको छ ।

यसैबीच पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा क्यासिनो सञ्चालन हुनुले क्यासिनो खेल्न चाहने पर्यटकका लागि पोखरामा उपयुक्त गन्तव्य हुने दाबी गरे । पोखरामा पर्यटकीय धेरै गन्तव्यको साथमा क्यासिनो खेल्ने वातावरण भएमा भारत र चाइनाका पर्यटकको पोखरामा बसाइ लम्ब्याउन मद्दत पुग्ने उनको भनाइ छ । काठमाडौं र नाका नजिक रहेका केही होटल तथा रिसोर्टमा मात्र क्यासिनो सञ्चालनमा हुँदा क्यासिनोमा रमाउन चाहने पर्यटक पोखराबाट अनेत्र जाने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्