Logo

चार वर्षपछि खुल्यो लप्ची नाका

दोलखा– चिनियाँ पक्षले अघोषित बन्द गरेको दोलखाको विगू गाउँपालिका–१ मा पर्ने लप्ची नाका चार वर्षपछि खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको पूर्वसन्ध्यामा नाका पूर्ववत् अवस्थामा सुचारु भएको हो । नाका खुलेसँगै स्थानीयबासी आइतबारदेखि सीमा क्षेत्रका बजारसम्म आवतजावत र किनमेल गर्न पाउने भएका छन् ।

लप्चीका स्थानीय कर्माहुसेर शेर्पाले चार वर्षपछि नाका खुलेको जानकारी दिए । लप्ची तिब्बत सिमानाको दोलखाको अति दुर्गम अन्तिम गाउँ हो । नेपालतिर अत्यन्तै कठिन भीर र खोलाको बाटो छ । तल खोला भएको ठाउँमा लहरा समातेर हिँड्नुपर्दा भारी बोकेर हिँड्न कठिन हुँदा उनीहरु किनमेलका लागि तिब्बतको न्यालम (कुती) बजारमा निर्भर हुनुपर्छ । लामाबगरसम्म गाडी गएपछि पैदल दुई दिन हिँड्दामात्र लप्ची पुगिन्छ ।

लामाबगरबाट लप्चीसम्म ढुवानी गर्दा प्रतिकिलो १ सय २० रुपैयाँ खर्च लाग्ने लप्चीका स्थानीय पेम्बा शेर्पाले बताए । तर, तिब्बततिर बाटो राम्रो भएकाले आफ्नै चौंरी र घोडा लगेर सामान ल्याउँदा सस्तो पर्छ । गाउँमा स्कुल नहुँदा बाहिर लगेर पढाउनुपर्ने बाध्यता पनि छ । नेपालीहरु तिब्बती बजारबाट पशुको दाना र खाद्यान्न किन्छन् । चौरीपालन एकमात्र पेशा भएका शेर्पाहरुले चौंरीका बाच्छा, डिम्जो, याक, घिऊ छुर्पी तिब्बती बजारमै बिक्री गर्छन् ।

नाका बन्द हुँदा चौंरीका बाछा, जोप्के, डिम्जो बिक्री गर्न पाएका छैनन् । चौंरी बिक्री गर्न नपाउँदा आर्थिक समस्या पनि छ भने खर्क अभावले चौंरी पाल्न समस्या थियो । जेठदेखि असोजसम्मको मुख्य खर्क पनि तिब्बतकै भूभाग हो । तिब्बतको खर्कमा गोठ लगेबापत खर्चरी समेत बुझाउनुपर्छ । लामो समयपछि नाका खुलेपछि स्थानीय हर्षित भएका छन् । लामाबगर आउने बाटो कठिन भएकाले कतिपयको हिँड्दा लडेर ज्यानसमेत गएको छ ।

वर्षामा बाटो चिप्लो हुने र खोलाको बाटो भएकाले बन्द हुन्छ । लामाबगरतिर ढुवानी खर्च बढी भएकाले पनि उनीहरुलाई तिब्बतीय बजार नै सजिलो र नजिक पर्छ । तिब्बती बजारमा सिमानाबाट २ घण्टामै पुग्न सकिन्छ भने लामाबगर आउन २ दिन लाग्छ । लप्ची वर्षात्मा बस्ने मुख्य गाउँ हो । जाडो समयमा भने उनीहरु तलको लुम्नाङ गाउँ झर्छन् । लप्चीमा केही पनि उत्पादन हुँदैन । काठमाडौंसँग व्यापार गर्ने तातोपानी नाका खुल्नुअघिको मुख्य व्यापारिक नाका पनि लप्ची हो ।

यो नाका खोल्न स्थानीयबासी जिल्लादेखि काठमाडौंमा उद्योग वाणिज्य, परराष्ट्र मन्त्रालयसम्म धाएको कर्मा शेर्पाले बताए । त्रिदेशीय नाकाको रुपमा पनि उत्तर दक्षिण सबैभन्दा छोटो अर्थात् महोत्तरीको भिट्टामोडदेखि लामाबगरसम्म २३८ किमी सडकमा यातायात सञ्चालन भइरहेको छ । त्यसमध्ये २१० किलोमिटर सडक सिंगटीसम्म कालोपत्रे छ । लामाबगरदेखि लप्चीसम्मको ३० किलोमिटर सडकको ट्रयाक खोल्ने काम पनि जारी रहेकाले छोटो र सुरक्षित सडकको रुपमा यसलाई व्यापारिक नाकाको रुपमा खोल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्