नपुग्ने भो दस लाख पर्यटकको लक्ष्य «

नपुग्ने भो दस लाख पर्यटकको लक्ष्य

हालै आएको तथ्यांकअनुसार सन् २०२३ (आर्थिक वर्ष २०७९/८०) को आठ महिनाको अवधिमा ६ लाख १ हजार ३ सय ६० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो तथ्यांकको आधारमा भन्नुपर्दा सन् २०२३ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या १० लाख नपुग्ने देखिन्छ । सन् २०२३ मा ९ लाखदेखि ९ लाख १०/१५ हजारसम्म अथवा ९ लाख ३०/३५ हजारदेखि ९ लाख ४५/५० हजारको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने सम्भावना रहेको देखिन्छ । किनकि अबको चार महिनामा मासिक १ लाखका दरले विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउने सम्भावना छैन ।

तर पनि किटेरै यसै भन्न सकिने अवस्था छैन । किनकि अभैm पनि उत्तरी छिमेकी चीनका औद्योगिक र घना जनसंख्या भएका सहरका साथै भारतका अन्य सहर–बजारमा छिट्टै हवाई यातायातको पहुँच बढाउन सकिएमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा वृद्घि हुन सक्ने सम्भावना रहन्छ । त्यस्तै गरेर जापान, सिंगापुर, अस्ट्रेलिया, थाइल्यान्ड, हङकङ, कतार, दुबई आदि पर्यटकीय हब (ट्रान्जिट) मा हवाई उडान संख्या बढाउन सकिएदेखि र हवाई टिकट सस्तोमा उपलब्ध हुन सकेमा अभैm पनि नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न सक्छ ।

अवस्था हेर्दा चिनियाँ पर्यटकको संख्यामा यो वर्ष खासै वृद्घि होला भन्ने आशा गर्न नसकिने अवस्था छ । हुन पनि यसो हेर्दाखेरि सन् २०२३ मा बितेको चार महिना (मे, जुन, जुलाई र अगस्ट) मा जुन संख्यामा चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गर्लान् भन्ने अपेक्षा गरिएको थियो, त्यस्तो हुन सकेन । तथ्यांक हेर्दा मे महिनामा ४ हजार ६ सय ६७, जुनमा ४ हजार ३ सय ४३, जुलाईमा ५ हजार ६ सय ९३ र अगस्टमा ५ हजार २७ जना चिनियाँ पर्यटक मात्रै नेपाल आएका छन् । त्यसैले सन् २०२३ को बाँकी रहेको चार महिनामा दुई वा तीन दोब्बरले चिनियाँ पर्यटकको संख्या बढेमा मासिक १३–१४–१५ हजार हुन्छ । त्यो भनेको १३ हजार दुना २६ हजार, १४ हजार दुना २८ हजार, १५ हजार दुना ३० हजार अथवा १५ हजार तियाँ ४५ हजार हुन्छ, जुन सम्भावना भने धेरै कम रहेको छ । त्यस्तै भारतीय पर्यटकको हकमा पनि लागू हुने हो ।

अझ भारतीय पर्यटकहरू नेपाल भ्रमण गर्न आउँदाखेरि साथमा थाल, बटुका, लोटा, सिरक, डसना, सिरानी, तन्ना, मैदा, आँटा, बेलन चक्की, रोलर, ताई, दाल, चिनी, मिस्री, चियापत्ति, भाँडाकुँडासमेत उतैबाट लिएर आउनेहरूको संख्या ठूलो छ । त्यही पनि अबको चार महिनामा कति आउलान् ? अनुमान गर्न सकिँदैन । जे भए तापनि चालु वर्ष (सन् २०२३) मा हाम्रो देशमा लक्ष्यअनुसार १० लाख पर्यटक आगमन नपुग्ने देखियो । त्यसैले हामीले अब बाँकी रहेको चार महिनामा रातारात छिमेकी देश चीनको औद्योगिक तथा घना जनसंख्या भएका सहरहरूमा हवाई यातायातको पहुँच बढाउन सक्नुपर्यो ।

हुन पनि तथ्यांक नै हेर्ने हो भने गत वर्ष सन् २०२२ को अगस्टसम्ममा २ सय ५० मिलियन पर्यटकले विश्वका विभिन्न देश घुमेका थिए । सो तथ्यांक भनेको सन् २०२१ को पहिलो पाँच महिनामा विश्वका विभिन्न देश घुम्न निक्लेका पर्यटकको संख्याभन्दा ४६ प्रतिशतले बढी रहेको थियो । हुन पनि अचानक हुने चीन–अमेरिका विवाद, इरान र अमेरिकाबीचको टेन्सन, उत्तर कोरिया र अमेरिकाबीचको खिसीटिउरी र छेडखानी, चीनले ताइवानलाई लक्षित गरेर गर्ने गरेको हवाई तथा जलयुद्घ–अभ्यास, ताइवानलाई चीनमा गाभ्ने धम्की (हालसालै चीनले निकालेको नक्सामा ताइवान चीनमा गाभिएको प्रसंग), चीन–भियतनामबीच समुद्री विवाद, सदावहार भइरहने इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व, ससानो युद्घ, रुस र युरोपियन युनियनबीचका देशहरूसँग ग्यास सम्झौता–ग्यास पाइपलाइनको विवादका घटनाहरू अचानक युद्घमा परिवर्तन भएमा विश्व पर्यटन मात्रै होइन, समग्र आर्थिक गतिविधि नै ठप्प हुनेमा कसैको दुईमत छैन ।

उता ‘वल्र्ड टुरिज्म ब्यारोमिटर’को तथ्यांकअनुसार सन् २०१९ को पहिलो पाँच महिनाको तुलनामा सन् २०२१ को पहिलो पाँच महिनाको विश्व पर्यटक आगमन माइनस ७१ प्रतिशत रहेको थियो भने सन् २०२२ को पहिलो पाँच महिनाको विश्व पर्यटक आगमन ५४ प्रतिशत रहेको छ । हालैको तथ्यांकअनुसार सन् २०१९ को पहिलो तीन महिनाको तुलनामा सन् २०२३ को पहिलो तीन महिनामा ८० प्रतिशतले रिकभर भएको छ । त्यस्तै विश्व पर्यटक आगमन दर धेरै रहेका देशहरूमा प्रायः युरोप महादेशका देशहरू रहेका छन् । दोस्रोमा उत्तर अमेरिकी महादेशका अमेरिका क्यानडा, मेक्सिको आदि रहेका छन् । तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः मध्यपूर्वका देशहरू, अफ्रिका महादेशका देशहरू र एसिया–प्यासिफिक क्षेत्रका देशहरू रहेका छन् ।

यसरी हेर्दा सन् २०१९ र सन् २०२० को पहिलो पाँच महिनामा आएका पर्यटक संख्याको तुलनामा सन् २०२२ को प्रथम पाँच महिनामा आएको पर्यटक संख्या लगभग ६८ प्रतिशतले बढेको छ । हुन त यो संख्या भनेको सन् २०१९ को विश्व पर्यटन आगमनको वार्षिक पर्यटन आगमन संख्यासँग तुलना गरेर हेर्ने हो भने अझै पनि युरोप महादेशमा पर्यटक आगमन संख्या लगभग ३४ प्रतिशतले कमी रहेको छ भने अमेरिकी महादेशमा पर्यटक आगमन संख्या लगभग ४१ प्रतिशतले कमी रहेको छ । मध्यपूर्वको पनि तुलना गरेर हेर्दा सन् २०१९ मा आएका पर्यटक संख्याको तुलनामा सन् २०२२ को प्रथम पाँच महिनामा भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ५६ प्रतिशतले कमी रहेको छ ।

उता अफ्रिका महादेशमा चाहिँ सन् २०१९ मा समग्र अफ्रिका महादेशमा भ्रमण गर्न आएको पर्यटक संख्यासँग तुलनामा गर्ने हो भने सन् २०२२ को पहिलो पाँच महिनामा अफ्रिका महादेशको विभिन्न देश भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या लगभग ५९ प्रतिशतले कम रहेको छ भने एसिया प्यासिफिक क्षेत्रमा चाहिँ सन् २०२१ को प्रथम पाँच महिनामा आएको पर्यटक संख्याको तुलनामा सन् २०२२ को पहिलो पाँच महिनामा लगभग ६० प्रतिशतले पर्यटक आगमनमा कमी रहेको छ । माथि उल्लिखित तथ्यांकमा जनाइएअनुसार समग्रमा कतिपय देशमा अझै पनि सन् २०१९ को तुलनामा लगभग ९० प्रतिशतसम्म पर्यटक आगमनको संख्या कम रहेको देखिन्छ । तापनि विश्वका पर्यटन व्यवसायीहरूका लागि सुखद र खुसीको खबर के छ भने ‘वल्र्ड टुरिज्म ब्यारोमिटर’को अर्को तथ्यांकअनुसार सन् २०२२ को पहिलो पाँच महिना (कोरोना महामारीको समय) भन्दा अहिले विश्व भ्रमण गर्न निक्लेका पर्यटकले ७० देखि ८५ प्रतिशतसम्म बढी खर्च गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्