‘रंगशालालाई बजेट अभाव हुन्न’ «

‘रंगशालालाई बजेट अभाव हुन्न’

पोखरा-युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले बजेट अभावमा १३औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित कुनै पनि खेलकुदको भौतिक संरचनाको निर्माणकार्य नरोकिने दाबी गरेका छन् । पोखरा रंगशालामा निर्माण हुँदै गरेका विभिन्न खेल पूर्वाधार निर्माणको अवलोकन गर्दै मन्त्री विश्वकर्माले बजेट अभावका कारणले गर्दा साग लक्षित कुनै पनि खेल पूर्वाधार निर्माणमा प्रभाव नपर्ने दाबी गरेका हुन् ।
पोखरा रंगशालामा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री विश्वकर्माले मंसिर १० देखि २४ गतेसम्म नेपालमा साग हुनु नेपालको इज्जत र प्रतिष्ठासँग जोडिएकाले उक्त गेम्स निर्धारित मितिमा हुने र त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका काम तीव्र गतिका साथ काठमाडौं र पोखरामा भइरहेको जनाए ।
उनले भने, “साग लक्षित पूर्वाधार निर्माणका लागि आवश्यक बजेट राष्ट्रिय खेलकुद परिषद्बाट ब्यवस्था मिलाइएको छ, थप बजेट आवश्यक परेमा मन्त्रालयले उपलब्ध गराउने पक्षमा छ ।” साग लक्षित सबै पूर्वाधार निर्माणका कामलाई कात्तिक १५ गतेभित्र सीमा निर्धारण गरेर अघि बढेको उनले जनाए । मन्त्री विश्वकर्माले भने, “सागलाई कसरी हामीले सभ्य र भब्य रूपमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा सबैले सोच्नु पर्ने समय आएको छ, साग तोकिएको मिति डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै हुन्छ, यसमा कसैले शंका गर्ने ठाउँ छैन । ” २०७२ मा हुनु पर्ने साग पूर्वधार निर्माण नभएको, भूकम्पले गर्दा पनि पहिला हुन नसकेको उनले जनाए ।
पोखरामा हुने प्याराग्लाइडिङको लागि आवश्यक टेक अफ र ल्याण्डिङको हालसम्म ब्यवस्था नभएको विषयमा मन्त्री विश्वकर्माले केही साताभित्र प्याराग्लाइडिङको उचित टेक अफ र ल्याण्डिङको व्यवस्था हुने दाबी गरे । उनले पोखरामा महिला क्रिकेट खेलसमेत हुने विषयमा मन्त्रालय र राखेपमा कुरा चलेको बताए । महिला क्रिकेटको वैकल्पिक भेनुको रूपमा पोखराको क्रिकेट मैदानलाई लिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्