कात्तिकदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिने

रामेछाप- नेपाल सरकारले यस वर्षदेखि रामेछापमा पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । सर्वसाधरणको हित र सुविधालाई ध्यानमा राखी यही कात्तिक महिनादेखि परिचयपत्र वितरण हुने भएको हो ।
बुधबार रामेछापको मन्थलीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौंको आयोजनामा सञ्चालित राष्ट्रिय परिचयपत्र ब्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमका अवसरमा विभागका निर्देशक शैलेन्द्र न्यौपानेले सो कुराको जानकारी गराएका हुन् । उनका अनुसार परिचयपत्र वितरण भएपछि धेरैवटा परिचयपत्र बोक्न नपर्ने र सरकारी कार्यालयमा सेवा लिँदा पनि यो परिचयपत्रले काम गर्ने र नागरिकलाई पनि फाइदा पु-याउने बताए ।
सरकारी तथा गैरसरकारी कामको शिलशिलामा झन्झटिलो प्रक्रिया व्यहोर्दै आएका नागरिकलाई सेवा प्रवाहमा सहजता दिलाउने उद्देश्यले सरकारले कात्तिकबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम आरम्भ गर्न लागेको हो ।
प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेको अध्यक्षता एवं पूर्वसांसद देवशंकर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका सहभागीले परिचयपत्रले नागरिकलाई सुविधाभन्दा पनि सास्ती दिने हो कि भन्ने आशंका ब्यक्त गरेका थिए ।