सुत्केरीलाई ५ हजार भत्ता «

सुत्केरीलाई ५ हजार भत्ता

सिन्धुलीका स्थानीय तहले गर्भवती महिलालाई दिइने प्रोत्साहन भत्तामा वृद्धि गरेका छन् । मरिण गाउँपालिकाले गर्भ जाँच गरेवापत प्रत्येक पटक ५ सय रुपैयाँ दिन सुरु गरेसँगै फिक्कल गाउँपालिकाले पनि नियमित स्वास्थ्य जाँच र अस्पतालमा नै प्रसूति गराएमा ३ हजार ८ सय रुपैयाँ दिने निर्णय ग-यो ।
जनताको मन जित्नका लागि जनप्रतिनिधिले प्रतिस्पर्धात्मक शैलीमा नै रकम बढाएको बढाएकै छन् । गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको तीनपाटन गाउँपालिकाले चालू आवबाटै लागू हुनेगरी सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ । अस्पतालमा नियमित गर्भजाँच गरी अस्पतालमै प्रसूति गराएमा ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । नेपाल सरकारले सुत्केरी महिलालाई उपलब्ध गराउँदै आएको २ हजार ८ रुपैयाँमा गाउँपालिकाले २ हजार २ सय रुपैयाँ थपेर ५ हजार रुपैयाँ प्रदान गर्ने गाउँपालिकाका उपाध्यक्ष पदममाया तामाङले बताइन् । उनका अनुसार गर्भवती महिलाले समयमा नियमित रूपमा स्वास्थ्य संस्थामा गई गर्भजाँच गराई स्वास्थ्यकर्मीकै निगरानीमा प्रसूति गराएमा भत्ता प्रदान गरिने छ ।
“सरकारी मापदण्डअनुसार गर्भवती तथा सुत्केरी महिलाले परीक्षणका चरण पार गरेपछि सुत्केरी भत्ता दिइन्छ ।” उपाध्यक्ष तामाङले भनिन्, “गर्भवतीले सूचीकृत स्वास्थ्य संस्थामाबाट विभिन्न खोप, आइरन चक्की र जुकाको औषधि सेवन गरेको र प्रसूतिपछि पनि नियमित स्वास्थ्य जाँच गर्नुपर्ने भनेका छौं ।” साथै गाउँपालिकाले बालबालिका जन्मिएको ३५ दिनभित्रमै जन्म दर्ता गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ ।
गर्भवती महिलालाई नियमित चारपटक गर्भजाँच गराउन र स्वास्थ्य संस्थामा नै सुरक्षित बच्चा जन्माउन प्रोत्साहन गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ घरमा नै सुत्केरी हुने महिलाको संख्या बढेकाले घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने भएकाले र आमा र बच्चलाई विभिन्न किसिमको संक्रमणबाट बचाउन यस्तो अभियान सञ्चालन गरिएको उनले बताइन् ।
गाउँपालिकाभित्र निःशुल्क एम्बुलेन्स
सुत्केरी तथा गर्भवती महिलाका लागि स्वास्थ्यचौकी जान आउन गाउँपालिकाभरि निःशुल्क एम्बुलेन्स सेवासेमत प्रदान गरेको छ । साथै गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स प्रयोग गरेमा गाउँपालिका बाहिर उपचारका लागि जानुपरेमा ५० प्रतिशत छुटकोसमेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिकाले वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा दुई वर्षमुनिका बालबालिका भएका घरमा रिफ्लेक्ट साइनबोर्ड राख्ने कार्य भइरहेको उनले बताइन ।
यसैबीच, तीनपाटन गाउँपालिकाले जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । जेष्ठ नागरिकका स्वास्थ्य समस्या घरदैलोमा नै पुगी समाधान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न थालिएको उपाध्यक्ष पदममाया तामाङले बताइन् । उनका अनुसार यस अभियानअन्तर्गत जेष्ठ नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि उपचार गरिने छ । भौगलिक विकटता, यातायातको असुविधा, गरिबी र अशिक्षाका कारण विभिन्न रोगबाट ग्रसित जेष्ठ नागरिकलाई लक्षित गरी अब केही दिनमै कार्यक्रम सुरु गरिने उपाध्यक्ष तामाङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्