माडीमा अपरेसन सेवा सुरु हुँदै «

माडीमा अपरेसन सेवा सुरु हुँदै

चितवन-माडीको बघौडा अस्पतालले दसैंअघि नै अपरेसन सेवा (ओटी) सञ्चालन गर्ने तयारी गरेको छ । अपरेसन सेवा व्यवस्थापनबारे नर्स र मेडिकल अफिसरले तालिम लिइसकेका छन् । “गर्भवती महिलाबाट अपरेसन गरेर बच्चा निकाल्न ओटी प्रयोग हुनेछ,” डा. कुमारले भने, “केही जटिल घाउको पनि अपरेसन सेवा सुरु हुनेछ ।”
स्वास्थ्य केन्द्र २०६९ सालमा स्तरोन्नति भएर बघौडा अस्पताल बनेको हो । तर, पुरानै संरचनामा सेवा चलाउन निकै कठिन हुने गरेको उनले बताए । “पुराना साँघुरा भवनबाट सेवा दिँदै आएका छौँ,” उनले भने, “५ वटा भवन छन्, २ भवनमा क्वाटर छन्, १ मा फार्मेसी सेवा र एक्सरे सेवा दिँदै आएका छौँ, अर्को एउटा भवनबाट सबै उपचार सेवा दिनुपर्ने बाध्यता छ ।” आकस्मिक कक्ष, ड्रेसिङ, ओपीडी, डेन्टल, वार्ड, प्रयोगशाला, गर्भवती जाँच, अब्जर्भेसन वार्डलगायत कोठा एउटै भवनमा छन् ।
“भवन थप गर्नुपर्ने अवस्था छ,” उनले भने, “बिरामीको चाप निकै बढी छ ।” अस्पतालमा दन्त सेवासमेत सुरु भएको छ । दाँतको जाँच, उपचार, एक्स–रे र दाँत उखेल्ने काम सुरु भएको छ । नगरपालिकाले दन्त सेवा सञ्चालन गर्न करिब ७ लाख बराबरको उपकरण गर्न बजेट उपलब्ध गराएको थियो । २४ घण्टे फार्मेसी सेवासमेत सञ्चालनमा छ । अस्पतालमा हाल ४० जना कार्यरत छन् । एमडीजीपी चिकित्सक १ जना, ४ जना मेडिकल अफिसर, १ डेण्टल सर्जन, ४ स्टाफ नर्स, ५ एनम, २ अहेव कार्यरत छन् ।
बहिरंग र अन्तरंग भवन बनाउन बजेट
माडी नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख शिवप्रसाद सुवेदीले अन्तरंग भवन बनाउन नगरपालिकाले २५ लाख विनियोजन गरेको बताए । “मुख्य भवन नै छैन, ससाना टहरा थपेर सेवा दिने काम भइरहेको छ,” उनले भने, “अहिले १५ शैया चलाउनसमेत भवन अभाव छ, यो वर्षपछि समस्या हल हुनेछ ।” उनका अनुसार बहिरंग भवन बनाउन ५ लाख बजेट विनियोजन भएको जानकारी दिए । “१० शैया थप्ने गरी नगरसभाबाटै केन्द्र र प्रदेश सरकारसँग पहल गर्ने काम भइरहेको छ,” उनले भने, “करिब १५ कट्ठा जग्गा पनि थप्ने योजना छ ।” नगरसभाले अस्पताल अगाडिको खुला चौरको करिब १५ कठ्ठा जग्गा भोगचलन गर्न दिने निर्णय गरिसकेको जानकारी दिए । स्वास्थ्य बीमाका बिरामीको चापसमेत बढेपछि उपचार गर्न निकै सकस पर्न थालेको छ । दिनहुँ करिब १ सय ५० बिरामी उपचारमा आउँछन् ।

विपन्नलाई उपचारमा सहयोग

माडी नगरपालिकाले गरिब तथा विपन्नलाई उपचारमा सहयोग गर्दै आएको छ । जनस्वास्थ्य शाखाका प्रमुख सुवेदीका अनुसार दीर्घ तथा जटिल रोगको उपचारमा १७ लाख बराबरको सहयोग गरिएको छ । मुटु, क्यान्सर, हेड तथा स्पाइनल इन्जुरीलगायत बिरामीलाई अधिकतम २० हजार नगद दिएको छ । ९० जनाले यो सेवा लिएका छन् । अस्पतालमा भर्ना भएको वा अप्रेशन गरेको पुर्जाका आधारमा वडाबाट गरिएको सिफारिसका आधारमा नगरपालिकाले नगद उपलब्ध गराउँदै आएको छ ।
गतवर्ष ५ लाख बजेट छुट्याइएकोमा रकम अपुग भएपछि भैपरी शीर्षकबाट खर्च व्यवस्थापन भएको थियो । आर्थिक अभावले उपचार गर्न अप्ठ्यारोमा परेकालाई १ लाख बराबरको छुटका लागि समेत सिफारिस दिँदै आएको छ । हालसम्म २४ जनाले यो सुविधा लिएका छन् । नगरपालिकाले यो वर्षदेखि गर्भवती महिलालाई भिडियो एक्सरे सेवा र अप्रेशन सेवा निःशुल्क दिँदैछ । माडीमा १ अस्पताल, ३ स्वास्थ्य चौकी, ५ नगर स्वास्थ्य केन्द्र, २ सामुदायिक स्वास्थ्य इकाई, १ माडी बहुउद्देश्यीय स्रोत केन्द्र गरी १२ वटा स्वास्थ्य संस्था नगरपालिका मातहतमा छन् ।
माडी–९ को टमटानगर स्वास्थ्य केन्द्रमा दुई कोठे भवन, बाँदरझुलामा सुत्केरी सेवाका लागि १ भवन बनाइएको छ । माडी–७ मा जगन्नाथपुर नगर स्वास्थ्य सेव केन्द्र बनाइएको छ । गर्दी स्वास्थ्य चौकीमा प्रयोगशाला र वर्थिङ सेन्टर सेवा सुरु भएको छ । नगरपालिकाले यो वर्ष १ करोड ८० लाख विनियोजन गरेको छ । “सामान्य उपचारको खोजीमा भरतपुर जानु नपर्ने स्थिति छ,” सुवेदीले भने, “अस्पताल तथा अन्य स्वास्थ्य संस्था स्तरोन्नतिको काम भइरहेका छन्, छिटै माडीमा विशेषज्ञ सेवा सञ्चालन हुनेछ ।”

 

प्रतिक्रिया दिनुहोस्