न्यून बजेटका कारण स्वास्थ्यमा प्रभावकारी काम गर्न सकिएन

दाङ– लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले नागरिकले आफ्नै स्थानमा विशेषज्ञ सेवा पाउने बताएका छन् । यसका लागि प्रदेश सरकारले प्राथमिकता दिएर काम गरिरहेको उनको भनाइ छ । न्यून बजेटका कारण भने अनुसारको काम गर्न नसकिएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय दाङले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश सरकारले स्वास्थ्य संस्था, अस्पतालको स्तरवृद्धि गर्ने तथा आवश्यक पर्ने उपकरण प्रदान गर्ने उनको भनाइ छ । ‘स्वास्थ्य संस्था, अस्पतालमा के आवश्यक छ त्यसैअनुसार प्रदेश सरकारले सहयोग गर्नेछ,’ मन्त्री खनालले भने । दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा विशेषज्ञ स्वास्थ्यकर्मी पठाउने समेत उनको दाबी छ ।
‘स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गरेर भए पनि दुर्गम क्षेत्रसम्म पुर्याइने छ,’ मन्त्री खनालले भने । यसले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने उनको भनाइ छ । ‘बिरामीलाई रिफर गर्नुपर्ने अवस्था न्यूनीकरण गराउने गरी काम भइरहेको छ,’ मन्त्री खनालले भने । यसले नागरिकलाई सहजता हुने उनले बताए । प्रदेशमा मातृ मुत्युदर र कुपोषणको समस्या रहेको भन्दै यसको न्यूनीकरणका लागि प्रदेश सरकारले प्राथमिकता दिएर नीति कार्यक्रमसमेत ल्याएको बताए ।
प्रदेश सरकारले ल्याएको कार्यक्रमलाई सबैको सहयोग रहेमा प्रभावकारी हुने उनको भनाइ छ । स्थानीय सरकार नागरिकको नजिकको सरकार रहेकाले बढी जिम्मेवारी स्थानीय सरकारको हुने उनले बताए । ‘स्थानीय सरकारले नागरिकको आवश्यकताका बारेमा जानकारी गराएमा प्रदेश सरकारले यसको समाधान गर्नेछ,’ मन्त्री खनालले भने । पछिल्लो समय नागरिकमा सर्ने रोगभन्दा पनि नसर्ने रोग बढ्दै गएको भन्दै यसका बारेमा सचेतना जगाउनु पर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले भौतिक पूर्वाधारको विकासमात्र नगरी स्वास्थ्य शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । यसले नागरिकको विकासमा सहयोग पुग्ने उनको भनाइ छ । सरकारले नागरिकको स्वास्थ्य उपचार तथा शिक्षाबाट वञ्चित हुन नपर्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ । ‘कुनै पनि नागरिक औषधि उपचार नपाएर मृत्यु हुन नपर्ने गरी काम गर्नु पर्दछ,’ प्रमुख शर्माले भने ।
घोराही उप महानगरपालिकाका उपप्रमुख हुमा डिसीले नागरिकलाई स्वास्थ्यसम्बन्धी सचेतना दिनुपर्ने बताइन् । अहिले पनि धेरै नागरिकहरू स्वास्थ्यसम्बन्धी सचेत हुन नसक्दा दु:ख पाउने गरेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘ग्रामीण क्षेत्रका अशिक्षित नागरिकमात्र नभई सहरका शिक्षित नागरिक नै स्वास्थ्यप्रति सचेत नरहेको पाइएको छ त्यसैले स्वास्थ्य सचेतना दिन आवश्यक छ,’ उपप्रमुख डिसीले भनिन् ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दै गएको आक्रमणका कारण स्वास्थ्यकर्मीको मनोबल घट्दै गएको बताए । ‘स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्न आवश्यक छ,’ प्रमुख जिल्ला अधिकारी सुवेदीले भने । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरिले नागरिकले आधारभूत स्वास्थ्य सेवा वडामा नै पाउनु पर्ने बताए । यसका लागि सरकारले प्रयास गरिराखेको उनको भनाइ छ ।
‘आधारभूत स्वास्थ्य नागरिकको मौलिक अधिकार हो सबै नागरिकले पाउनु पर्दछ,’ निर्देशक गिरिले भने । स्थानीय सरकारले वडावडामा स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान गर्नुपर्ने उनले बताए । उनले समस्याका बारेमा जानकारी दिनसमेत पालिका स्वास्थ्य शाखाका प्रमुखलाई आग्रह गरे । कार्यक्रममा जिल्लामा रहेका १० वटै स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गरेको कामको समीक्षा हुने भएको छ ।