बर्सेनि उजिरसिंह रंगशालाको बजेट फ्रिज
जग्गा प्राप्ति नहुँदा निर्माण अघि बढेन

बुटवल– बुटवलमा निर्माण गर्ने भनिएको उजिरसिंह रंगशालाको काम अघि बढ्न सकेको छैन । बुटवल उपमहानगरपालिका–१३ सालघारीमा रंगशाला निर्माणका लागि डीपीआर र ईआईए दुवै सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारले सालघारीको जबई मैदानलाई उजिरसिंह रंगशाला बनाउन आर्थिक वर्ष २०७६/०७७ सालदेखि नै बजेट विनियोजन गर्दै आएको थियो ।
तर वन क्षेत्रको जग्गा प्राप्ति नहुँदा रंगशाला निर्माणका लागि छुट्याइएको बजेट बर्सेनि फ्रिज हुँदै गएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज गैरेले बताए । ‘वनको जग्गा नेपाल सरकारले टुंग्याइदिनुपर्ने हुन्छ । डीपीआर र ईआईए भएर यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फाइल गएको धेरै भइसक्यो,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयबाट फाइल वनमा पठाएर वनले जग्गामा सहमति दिएर मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हो तर वनको जग्गा प्राप्तिबारे निर्णय भएर आएको छैन ।’
रंगशाला निर्माणका लागि गत आर्थिक वर्षसम्म प्रदेश सरकारले लगातार बजेट छुट्याउँदै आएको थियो । २०७६/०७७ मा पाँच करोड, २०७७/०७८ र २०७८/०७९ मा चार करोडका दरले बजेट विनियोजन भएको थियो । २०७९/०८० मा पाँच करोड ५० लाख रुपैयाँ प्रदेश सरकारले छुट्याएको थियो । तर निर्माण सुरु गर्न नसक्दा सबै बजेट फ्रिज हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि भने उजिरसिंह रंगशालाका लागि बजेट विनियोजन नभएको गैरेले बताए ।
‘हरेक साल बजेट फ्रिज भएर गएको छ । वनको जग्गामा काम गर्न सकिएन,’ उनले भने, ‘अहिले बजेटको संकट भएको बेला यहाँ छुट्याएर राख्ने तर खर्च नहुने । अन्त बजेट नपुग्ने हुन्छ कि भनेर यो वर्ष विनियोजन भएन ।’ जग्गा प्राप्ति भयो र रंगशालाको काम सुरु हुने भयो भने बजेट उपलब्ध हुने गैरेले बताए । उजिरसिंह रंगशालालाई प्रदेश सरकारले प्राथमिकता प्राप्त आयोजना भनेर राखेको छ ।
राष्ट्रिय योजना आयोगले पनि प्रदेशको प्राथमिकता प्राप्त आयोजना भनेर सहमति पनि दिएको छ । तर वन मन्त्रालयबाट जग्गा प्राप्तिको प्रक्रिया अघि बढ्न सकेको छैन । बुटवल–१३ का वडाध्यक्ष नारायणसिंह पुनले रंगशालाका लागि पहल गर्न आफू पटकपटक काठमाडौं गएको सुनाए । ‘चार महिनाभित्र मात्र तीन पटक काठमाडौ गइसकें । वनको जग्गा परेको काममा प्राविधिक झन्झट हुँदो रहेछ,’ उनले भने ।
अहिले वन मन्त्रालयबाट फाइल फिर्ता आएको र अब वातावरण व्यवस्थापन योजना (ईएमपी) गरेर पठाउन पत्र आएको पुनले जानकारी दिए । ईएमपी स्वीकृत भएपछि मात्र कामअघि बढ्ने छ । जसले ईआईए बनायो उसैले ईएमपी बनाउनुपर्ने हुन्छ । रंगशाला निर्माणका लागि प्रदेश सरकारले बजेट छुट्याएको भए पनि यसको डीपीआर र ईआईएको प्रक्रिया बुटवल उपमहानगरपालिकाले गरेको थियो । त्यसैले ईएमपीको काम पनि उपमहानगरपालिकाले नै गराउनुपर्ने हुन्छ ।
उजिरसिंह रंगशाला निर्माण भएमा यो जिल्लाकै महत्वपूर्ण खेलकुद पूर्वाधारको रूपमा रहने पुनले बताए । बुटवलको जबई मैदानमा साढे चार बिघामा बन्ने उजिरसिंह रंगशाला निर्माणका लागि करिब ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चारैतर्फ प्यारापिट भएको रंगशाला १२ देखि २० हजार दर्शक अट्ने क्षमताको हुने गरी डिजाइन तयार गरिएको छ । डीपीआरअनुसार रंगशाला प्रवेशका लागि चारवटा प्रवेशद्वार हुनेछन् ।
रंगशालाको पश्चिमपट्टि जंगल जितेश्वरी सामुदायिक वन पर्छ । वनको डाँडा र ढिकसहितको भएकाले त्यसैलाई मिलाएर प्यारापिट बनाउने गरी डीपीआर तयार गरिएको छ । रंगशालामा मुख्य गरेर फुटबल ग्राउन्ड हुन्छ । यसको बाहिर एथलेटिक ट्रयाक हुन्छ । रंगशाला परिसरमा भलिबल, बास्केटबल, टेनिस कोर्ट, स्विमिङ पुललगायतका संरचना पनि बन्नेछन् । रंगशालाबाहिर भीआईपी र सर्वसाधारणका लागि छुट्टाछुट्टै पार्किङस्थल रहनेछ ।