दुर्गम हियाखोला सञ्चारविहीन «
Logo

दुर्गम हियाखोला सञ्चारविहीन

जुम्ला– हियाखोला गाउँ सञ्चारविहीन अवस्थामा रहेको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले थुप्रै सम्भावना र पूर्वाधार विकास भएर पनि सञ्चार असुविधाकै कारण हियाखोला दुर्गम बनेको बताए । उनले भने, ‘पालिकामा स्रोत सीमित छ । नागरिकका आवश्यकता असीमित छन् । त्यसैले सबै काम पालिकाबाटै सम्भव छैन । तर हियाखोला गाउँमा सञ्चार सेवा विस्तार गर्न समन्वय र पहल गरिरहेका छौं ।’

तातोपानी–६ का वडाध्यक्ष विशाल खड्काले हियाखोलाको विकास पहिलो प्रथामिकतामा रहेको बताए । पहिलो कार्यकालमा अन्य क्षेत्रको आधारभूत विकास भइसकेकाले अबको प्राथमिकता सञ्चार सेवा विस्तारमा जोड दिइने उनको भनाइ छ । हियाखोला गाउँको पूर्वाधार विकास, उद्यमशीलता र सामाजिक सशक्तीकरणका लागि मोटो रकम लगानी गर्दै आएको स्थानीय सरकार सञ्चार सेवा विस्तार गर्न भने चुकेको देखिन्छ ।

सञ्चार असुविधाकै कारण तातोपानी वडा नं. ६ स्थित हियाखोला गाउँपालिकाकै दुर्गम गाउँका रूपमा कहलिएको छ । कर्णाली राजमार्ग करिब १० मिनेटको पैदल यात्राबाट उक्त गाउँ पुग्न सकिन्छ । गाउँछेउमै सशस्त्र प्रहरी बलको गण बस्दै छ । त्यहीँ पालिकाले ५ शय्याको अस्पताल बनाउँदै छ । कृषि उत्पादनको सम्भावना उत्तिकै छ । त्यति सम्भावना र पूर्वाधारको विकास भइसक्दा पनि सञ्चार सुविधा नभएकै कारण हियाखोलावासीले विकासको अनुभूति गर्न सकेका छैनन् ।

करिब १ सय घरधुरी रहेको हियाखोला गाउँमा दलित समुदायको बढी बाहुल्यता छ । अहिलेसम्म एक जना सरकारी जागिरे उत्पादन गर्न नसकेको उक्त गाउँका नागरिकले सूचना आदान–प्रदानका लागि ज्याला–मजदुरी गरेर पनि स्मार्ट मोबाइल किनेका छन् । मुलुकमा फोरजी सेवाको विस्तार गई गाउँगाउँमा फास्ट फाइबर नेट पुगिसकेको अवस्थामा समेत हियाखोलामा टेलिफोनकै पिरलो हुनु दु:खद पक्ष भएको स्थानीय प्रकाश कामी बताउँछन् ।

उनी भन्छन्, ‘मान्छे भोक नभई सूचना नपाएर मर्छ भन्ने कथन अहिले पनि जीवित छ । तर, अहिले सूचनाको युग हो । सूचनाले विश्व साँघुरिएको छ भनिरहँदा त्यही सञ्चारको विकास नहुँदा हियाखोला सञ्चारविहीन बनेको छ । त्यसैले स्थानीय सरकारले यसमा विशेष पहल गर्न जरुरी छ ।’ तातोपानी गाउँपालिका वडा नं ६ निवासी ६८ वर्षीय हर्क कामीले सञ्चार असुविधा भोग्दै आएको करिब पाँच दशक बित्यो ।

आफन्तसँग कुराकानी गर्नका लागि डाँडा धाउनुपर्ने विगतको जस्तो समस्या अहिले पनि ज्यूँका त्यूँ छ । स्थानीय सरकार आएपछि हियाखोलामा थुप्रै विकास भयो । तर सञ्चार विकास ओझेलमा पर्‍यो । हर्क कामी भन्छन्, ‘स्थानीय सरकारले गाउँमा खानेपानी, सडक बत्ती पुर्‍यायो । कृषि, शिक्षा, उद्यमशीलतामा पनि लगानी बढ्यो । सामाजिक चेतना अभिवृद्धि, महिला सशक्तीकरणमा पनि उल्लेखनीय विकास भयो ।’

प्रतिक्रिया दिनुहोस्