स्थायी बनाऊ मेलम्ची «

स्थायी बनाऊ मेलम्ची

करिब दुई दशकको प्रयत्नपछि मेलम्ची खोलाको पानी उपत्यकावासीका घरमा आउन सुरु गरेको साता दिनभित्रैमा आएको प्राकृतिक विपत्तिले आयोजनालाई अस्थायी बनाएको छ । अहिले वर्षायाममा मेलम्ची आयोजनाको सुरुङ बन्द गर्ने र हिउँद लागेपछि सुरुङ र आसपासमा थुप्रिएको गेग्रान पन्छाएर पानी ल्याउने गरिएको छ ।

आयोजनाका कर्मचारी अहिलेको हिउँदका लागि पानी ल्याउन कहिलेदेखि मौसम सफा हुन्छ भनेर कुरेर बसेका छन् । आगामी १५ दिनभित्र मर्मत सकेर पानी उपत्यकामा ल्याउने तयारी भइरहेको सरकारी पक्षको भनाइ छ । दुई वर्षअघि आएको बाढी र पहिरोले स्थायी संरचनामा क्षति पुर्‍याएपछि अस्थायी संरचनाबाट हिउँदमा मात्र पानी आपूर्तिको व्यवस्था गरिएको छ । २ सय १० मिटरको सानो सुरुङ बनाएर त्यही सुरुङमार्फत मुख्य सुरुङमा पानी पठाउने गरिएको थियो ।

तर, गत साउन २८ र २९ मा आएको बाढीले त्यही अस्थायी संरचनामा पनि क्षति गरेपछि पानी बन्द भएको अवस्था छ । यही अस्थायी संरचना बनाउन अघिल्लो वर्ष १८ करोड र त्यसपछि गेटहरू मर्मत गर्न ५–६ करोड रुपैयाँ खर्च भएको थियो । दैवी प्रकोपका नाममा कति वर्षसम्म आयोजनाको अवस्था यस्तै अस्थायी प्रकृतिको राख्ने हो भन्ने अहिले सबैको प्रश्न छ, तर उत्तर कसैसँग छैन । दुई वर्षअघि मेलम्ची खोलाको जलाधार क्षेत्रमा भीषण बाढी र पहिरो आएर यसको मुहानमा ढुंगा र बालुवासहितको गेग्रान थुप्रिएको थियो ।

राजधानीमा खानेपानी आपूर्तिको सवालमा धेरै महत्त्वपूर्ण स्थान राख्ने यो आयोजना पुनर्निर्माणमा सरकार खरो रूपमा उत्रिनुपर्छ ।

मेलम्चीको जलाधार क्षेत्रको अधिकांश भूभाग कमजोर बनेकाले जुनसुकै वर्ष पनि पहिरो जान सक्ने जोखिम उत्तिकै छ । यस्तो अवस्थामा मेलम्ची आयोजनाबाट वर्षभरि पानी ल्याउन अर्को कुनै उपाय खोज्न सरकारले जरुरी ठानेको छैन । काठमाडौंमा दैनिक ४५ करोड लिटर पानीको माग छ । मेलम्चीबाहेक अहिले १३ करोड लिटर आपूर्ति भइरहेको छ । मेलम्चीको पहिलो चरणको पानी वितरण गर्दा पनि काठमाडौंको मागलाई धान्न सक्दैन । मेलम्चीबाहेक अन्य दुई खोला यांग्री र लार्केबाट पानी ल्याएर काठमाडौंमा दैनिक ५१ करोड लिटर आपूर्ति गर्ने योजना बनाएको धेरै वर्ष बितेका छन् ।

प्राकृतिक प्रकोपलाई छल्न सक्ने गरी दोस्रो आयोजना पनि तत्काल सुरु गर्नुपर्ने आवश्यकता भइसकेको छ । पहिलो योजना नै असफल बनेपछि दोस्रो निर्माणमा कसैको चासो गएको देखिँदैन । विगतको जस्तो ठूलो बाढी र पहिरो आए नयाँ संरचना पनि बगाएर लैजाने प्रस्टै छ । आयोजनाले गरेको प्रारम्भिक अध्ययनअनुसार हालको मुहानमा स्थायी संरचना बनाउन सम्भव देखिँदैन । यसका लागि संरचना बनाउन नयाँ स्थान खोज्नुपर्ने हुन्छ । सरकारले विगतमा यो आयोजना निर्माणलाई उच्च प्राथमिकता दिएको भन्दै आए पनि आयोजना निर्माण पूरा हुन १३ वर्षभन्दा बढी समय लागेको सबैलाई थाहा भएकै विषय हो ।

स्थानीय बासिन्दा र निर्माण कम्पनीको पटक–पटकको अवरोध छिचोल्दै ५० अर्बभन्दा धेरै लगानी गरेर सुरु भएको आयोजनाका लागि तीन महिना नहुँदै प्रकृति बाधक बनेको थियो । लामो समय लगाएर बनाएको यो आयोजनाबाट हिउँदमा मात्र पानी आपूर्ति हुने अवस्था आउँदा पनि सरकार गम्भीर नबन्नु दु:खद कुरा हो । नेपालजस्तो गरिब मुलुकले आधा खर्ब लगानी गरेर बनाएको मेलम्ची खानेपानी आयोजना अस्थायी बनिरहनुमा दैवी प्रकोपका घटनाबाहेक सरकारको पनि उत्तिकै दोष छ । दैवी प्रकोपबाट हुने क्षतिलाई कसैले पनि रोक्न सक्दैन ।

तर, क्षति भइसकेपछि त्यसलाई पुनर्निर्माण गर्न सकिँदैन भन्ने कहीं छैन । सरकार आफैं पुनर्निर्माण गरी आयोजनालाई बाह्रै महिना सञ्चालन गर्ने भनिरहेको छ । पुनर्निर्माण सम्भव छ र वर्षैभरि काठमाडौं उपत्यकामा पानी ल्याउन सकिन्छ भने सरकार के हेरेर बसिरहेको छ ? मेलम्ची आयोजनाको सुरुङको मुहानलगायतका संरचनामा क्षति पुगेको दुई वर्षभन्दा धेरै भइसकेको छ । दुई–दुई वर्षमा पनि आयोजना पुनर्निर्माण गर्न नसक्नुमा सरकारको चरम लापरवाही हो । यो आयोजनाका लागि राज्यले आधा खर्बभन्दा बढी लगानी गरेको सरकारको जिम्मेवारी लिएर बसेकाहरूले भुलेका होलान्, सर्वसाधारण जनताले बिर्सेका छैनन् ।

त्योभन्दा पनि महत्त्वपूर्ण विषय राजधानीका बासिन्दा मेलम्चीको आशामा बसेको धेरै भइसकेको छ । राजधानीमा खानेपानी आपूर्तिको सवालमा धेरै महत्त्वपूर्ण स्थान राख्ने यो आयोजना पुनर्निर्माणमा सरकार खरो रूपमा उत्रिनुपर्छ । नत्र आधा खर्ब रुपैयाँ खर्च गर्नुको औचित्य जनतालाई बुझाउन सक्नुपर्छ । सरकारले गरेको एक अध्ययनले हेड वक्र्सको संरचना निर्माणस्थल नै सारेर अलि माथि सुरक्षित स्थानमा लैजानुपर्ने देखाएको छ । तर, यसका लागि थप दुई वर्ष समय लाग्नेछ । आधा खर्ब खर्च भइसकेको आयोजनालाई विपत्तिको नाममा त्यसै अलपत्र पार्नु हुँदैन । बरु थप केही लगानी गरी आयोजनालाई बाह्रै महिना चल्ने बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्