पर्वलक्षित सस्तो पसल १५ असोजबाट «

पर्वलक्षित सस्तो पसल १५ असोजबाट

काठमाडौं– सरकारले असोज १५ बाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । चाडपर्वमा अन्य समयभन्दा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई सहज आपूर्ति गर्न र बजार मूल्य नियन्त्रण गर्न सरकारले विगतदेखि नै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

यो वर्ष पनि त्यसलाई निरन्तरता दिन लागिएको हो । यही असोज १५ देखि छठ पर्वसम्म देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख राजेन्द्र ठाकुरले जानकारी दिए । विगतमा जस्तै यो वर्ष पनि उपभोक्तालाई चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति र सुपथ मूल्यमा उपलब्ध गराउन छलफल भइरहेको उनले बताए । असोज १५ बाट सुपथ मूल्य पसल सञ्चालन गर्ने सहमति जुटेको उनले जानकारी दिए ।

उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई चाडपर्व लक्षित पसल सञ्चालनका लागि कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ । आगामी आइतबार खाद्य व्यापार कम्पनी, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थान र सरोकारवाला निकायसहित बैठक बसेर कुन वस्तुमा कति सहुलियत दिने अन्तिम निर्णय हुनेछ । खाद्य व्यापार कम्पनीले देशभरका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका ७ स्थानमा पसल खोल्नेछ । साथै चार वटा मोबाइल भ्यानमार्फत घुम्ती सेवा पनि सञ्चालन हुनेछ ।

साल्ट ट्रेडिङ कर्पाेरेशनका प्रवक्ता कुमार राजभण्डारीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहको जानकारी दिए । काठमाडौं उपत्यकामा विगतभन्दा थप दुई ठाउँमा साल्ट ट्रेडिङले पसल सञ्चालन गर्ने तयारी भएको उनले बताए । साल्ट ट्रेडिङले सतुंगल, कालिमाटी, पाटन, कोटेश्वर, बालकुमारी, भक्तपुर र लगनखेलमा पसल सञ्चालन गर्ने गरेको थियो । यस वर्ष थप दुई ठाउँ कौशलटार र चाबहिलको सिफलमा पनि सञ्चालन गर्ने प्रवक्ता राजभण्डारीले जानकारी दिए । उनका अनुसार उपत्यका बाहिर पनि स्थानीय सरकारको मागअनुसार पसल सञ्चालन गरिनेछ ।

दुग्ध विकास संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारको निर्णयमा विगतजस्तै यो वर्ष पनि संस्थानले दुग्धजन्य वस्तु सहुलियत मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने जानकारी दिए । कति छुट दिने भन्नेबारे भने निर्णय हुन बाँकी रहेको उनले बताए । सरकारले दशैं, तिहार र छठ पर्वसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यस्ता पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापरलगायत वस्तुमा छुट दिने गरेको छ ।

यस्तै साल्ट ट्रेडिङले नुन, चिनीलगायत खाद्यवस्तु छुटमा बिक्री गर्दै आएको छ । दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिने गरेको छ । गत वर्ष खाद्य व्यापार कम्पनीले फापर, भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको थियो । यसैगरी पिठो, चिउरा, तोरीको तेल, सनफ्लावरको तेल र दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको थियो । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा २० रुपैयाँ छुट दिएको थियो । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्