सेयर धितो कर्जामा सीमा १८ वा २५ करोड ? «

१२ को सीमा हट्ने हल्लाले बजार तरंगित

सेयर धितो कर्जामा सीमा १८ वा २५ करोड ?

काठमाडौं– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सयेर कर्जामा अहिलेको १२ करोडको सीमा हटाउन तयार भएको समाचार बाहिरिएसँगै सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । बजार एकै दिन ४४ अंकले बढेको छ ।

तर, सीमा हटाएर कतिमा पु¥याइन्छ भन्ने अन्योल अझै बाँकी नै छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा १२ करोडबाट २० करोड रुपैयाँ सीमा पु¥याउने प्रस्ताव पुगेको छ । तर, अर्थमन्त्री प्रकाशशरण महतको चाहना २५ करोड पुर्याउने रहेको स्रोत बताउँछ ।

गभर्नर अधिकारी भने १८ करोडसम्म सेयर धितो कर्जाको सीमा पुर्याउन सकिने मनस्थितिमा छन् । यसकारण गभर्नर अधिकारीले सीमा १२ करोडबाट कति पु¥याउँछन्, त्यसले सेयर बजारको आगामी दिशा तय गर्ने बजार विश्लेषकहरू बताउँछन् । पुँजी बजार विश्लेषक मुक्ति अर्यालले अर्थमन्त्रीले पनि २५ करोडको चाहना राखेको भन्दै सेयर बजारलाई अगाडि बढाउन धितो कर्जाको सीमा १२ करोडबाट २५ करोड वा सोभन्दा बढी पु¥याउनुपर्ने जोड दिए ।

हल्लाले बजार उचालियो
लगानीकर्ताहरूले लामो समयदेखि माग गर्दै आएको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउन गभर्नर तयार भएपछि सेयर बजारमा उत्साह छाएको छ । लगानीकर्ताको चर्को दबाब र अर्थमन्त्री महतसँगको निरन्तरको छलफलपछि गभर्नर अधिकारी तयार भएपछि बिहीबार नेप्से परिसूचक ४४ अंकले बढेको छ ।

लगानीकर्ता र गभर्नरबीच विवाद ल्याउने मुख्य कारणको रुपमा रहेको १२ करोडको सीमा हटाउन गभर्नर तयार भएसँगै अब लगानीकर्ता यसबारे राष्ट्र बैंकको निर्णयको पर्खाइमा छन् । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको मंगलबारको छलफलमा गभर्नर अधिकारीले १२ करोडको सीमा हटाउने बताएका थिए । त्यसकै असरस्वरुप बिहीबार सेयर बजारमा उत्साह छाएको हो ।

राष्ट्र बैंकले तुरुन्तै निर्देशिकामार्फत यो व्यवस्था हटाउने तयारी गरेको राष्ट्र बैंक स्रोतको दाबी छ । गभर्नर अधिकारीले पनि समितिलाई यो सीमा तुरुन्तै हटाएर सेयर बजारलाई खुला गर्ने प्रतिवद्धता जनाइसकेका छन् । पछिल्लो समय सेयर बजार घट्दो क्रममा रहँदा सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंकलाई निकै दबाब आएको छ । सरकारले घरजग्गाको कित्ताकाट खुकुलो बनाएसँगै लगानीकर्ताहरूले सेयर बजारलाई पनि खुकुलो बनाएर जानुपर्नेमा जोड दिँदै आएका थिए ।
मौद्रिक नीतिमार्फत नै यसलाई हटाउनका लागि राष्ट्र बैंकलाई दबाब थियो । तर, मौद्रिक नीतिले त्यसलाई सम्बोधन गरेन । पछिल्लो समय अर्थमन्त्री महतले ब्याजदर र सेयर बजारसम्बन्धी नीतिमा गभर्नरसँग लगातार छलफल गर्दै आइरहेका छन् । मंगलबारको छलफलले सेयर बजारलाई उकास्न भूमिका खेल्नेमा अर्थमन्त्री पनि विश्वस्त बनेको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४४.५३ अंकले बढ्दै २०२९.७८ विन्दुमा पुगेको छ । आइतबार ४२.१४ अंकको उच्च गिरावट आएको नेप्से सोमबार र मंगलबार बढेको थियो । मंगलबार सेयर बजार १९८४.४३ मा बन्द भएको थियो । बिहीबार भने २.२३ प्रतिशतले बढेर बन्द भएको छ । बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढ्दै तीन अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीप्रसाद ढकाल राष्ट्र बैंककै कारण सेयर बजार निराशाजनक अवस्थामा पुगेको बताउँछन् । उनले राष्ट्र बैंकले यस्ता नीति ल्याउनै नहुनेमा ढिलै भए पनि सच्याउन तयार हुनु राम्रो भएको बताए । ‘नियामक निकायको नीतिकै कारण पुँजी बजार ध्वस्त भएको थियो । १८०० बिन्दुमा झर्नुमा नीतिकै दोष छ,’ उनले भने । अझै पनि यो नीति नहटाई खुशी हुने अवस्था नआउने उनको भनाइ छ । उनले भने, ‘आशा राखौं– राष्ट्र बैंकले यसलाई संशोधन गरोस्, त्यो राम्रो कुरा हो ।’ अध्यक्ष ढकालले बिहीबार राष्ट्र बैंकले १२ करोडको सीमा हटाउने नीति ल्याउने तयारी गरेको सुनेपछि लगानीकर्ता उत्साहित भएको र बजार बढेको बताए ।

पुँजी बजार विश्लेषक मुक्ति अर्यालले राष्ट्र बैंकले १२ करोडको सीमा हटाउने तयारी गरेको खबर सुनेपछि लगानीकर्ता उत्साहित हुँदा बजार बढेको बताए । राष्ट्र बैंकको गलत नीतिका कारण मारमा परेका लगानीकर्ताले अब राहत पाउने अपेक्षा गरिएको उनको भनाइ छ । राष्ट्र बैंकले १२ करोडबाट सीमा कतिमा पुर्याउँछ, त्यसले बजारको भविष्य निर्धारण हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले १२ करोडको सीमालाई २४ करोड वा सोभन्दा माथिको बनाएमा बजारलाई सहज हुन्छ,’ उनले भने ।

उनले अहिले सेयर बजारमा १२ करोडको सीमा संशोधनको खाँचो रहेको भन्दै यसबाहेक कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झार्नुपर्नेमा समेत जोड दिए । १२ करोडको सीमा संशोधनले बजारलाई केही माथि लैजाने भन्दै उनले दुवै नीति संशोधन भएमा बजार थप अगाडि बढ्ने बताए । लगानीकर्ता पछिल्लो समय १२ करोडको सीमा जसरी भए पनि हटाउन राष्ट्र बैंकलाई बाध्य पार्ने रणनीतिमा थिए । उनीहरूले राजनीतिक दलका शीर्ष नेतादेखि सांसदसम्मलाई भेटेर यो व्यवस्था हटाउनका दबाब दिएका थिए । गत मंगलबार पनि सांसद हरि ढकालसहितको टोलीले गभर्नर अधिकारीलाई भेटेर सो व्यवस्था हटाउनुपर्नेमा जोड दिएका थिए ।

लगानीकर्ताको बाक्लो भेटघाट र चर्को दबाबपछि अर्थमन्त्री प्रकाशशरण महत पनि सेयर बजारको गाँठो फुकाउन ‘कन्भिन्स’ भएका थिए । घरजग्गाको कित्ताकाट खुकुलो गरेको तथा अन्य क्षेत्र पनि सहज हुँदै गएकोमा सेयर बजारमा भने गभर्नरले अतिरिक्त चासो दिएर कडाइ गरिरहेको बुझाइ अर्थमन्त्री महतको थियो । उनले गभर्नर अधिकारीसँग निरन्तर छलफल गरी सेयर बजारलाई खुकुलो पार्नका लागि आग्रह गर्दै आएका थिए । लामो समयको रस्साकस्सीपछि सेयर बजारको गाँठोको रुपमा रहेको धितोमा १२ करोडको सीमा हटाउन गभर्नर तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्