श्रीहीन तीज र मक्किएको व्यवस्था «

श्रीहीन तीज र मक्किएको व्यवस्था

हाम्रा गाउँघरतिर झन्डै आधा आकाश ढाकेर बसेका हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज मनाउने क्रममा आ–आफ्ना माइतीमा झन्डै आठ–दस दिन बसेर आफ्ना माइती, दिदीबैनी र छरछिमेकीका साथी–दौंतरीहरूसँग खानपान, नाचगान र रमझममा रम्दै घर फर्किसकेका छन् । सहर–बजारतिरको भने परिदृश्य बिल्कुलै फरक देखियो । सामाजिक सन्जालहरूमा भाइरलका भाइरल भएर फैलिएको कुनै भद्र महिलाको एउटा प्रवचनमा तीजबारे अभिव्यक्त विचारको कसैले हेक्का राखेनन् । ‘हाम्रा चाडबाडहरूको मिति तोकिएको हुन्छ ।

चाड कसरी मनाउने त्यसको पद्धति हुन्छ । मिति नआउँदैदेखि दर खाने र नाचगान गर्ने भनी महिनौँ अघिदेखि दर खाने र नाचगान गर्ने भनी त्यसको तयारीमा जुट्ने र खानपिन र नृत्यको कार्यक्रम चलाउँदै जाने । यो कस्तो प्रथा हो ? अब दसैँ आउँदै छ, के अहिलेदेखि नै दसैँको टीका थाप्ने ? भाइटीका लगाइदिने ? बत्ती बाल्ने ?’ हाम्रा चाडपर्व हाम्रा सांस्कृतिक धरोहरहरू हुन् । सांस्कृतिक उदारताका विशिष्ट नमुनाहरू हुन्, झन् ‘तीज’ पर्व त नारी स्वतन्त्रताको एउटा ज्वलन्त उदाहरण मानिन्छ । डा. राजेन्द्र चापागाईंका शब्दमा तीज भनेको त्यो दिनको सम्झना हो, जुन दिन माता पार्वतीले देवादिदेव आदिदेव कैलाशपति महादेवलाई नै पतिका रूपमा पाऊँ भनेर व्रत लिई आफ्ना माइतीसमक्ष अडान राखेकी थिइन् र त्यो पूरा पनि भएको थियो । शास्त्रीय परिप्रेक्ष्यमा त्यसलाई नारी स्वतन्त्रताको पौराणिक पाइला थियो भन्न सकिन्छ ।

हाम्रा श्रद्धेय मातृदलले डाढ उदाङ्गिएको चोलो पहिरेर, बियरका र भोड्काका बोतलले घाँटी भर्दै भद्दा हिन्दी गीत बजाएर अजन्ता र एलोराका मूर्ति पनि लजाउने वात्सायनको कोक–शास्त्रमा देखाइएका यौनासनहरूको खुला प्रदर्शन गर्दै पार्टी प्यालेसहरूमा भए–गरिएका चरम लाजलाग्दो वीभत्स तमगुणले भरिएका प्रस्तुतिहरूको झलक सामाजिक सन्जालमार्फत हजारौं हजार मोबाइल वाहकहरूका आँखासम्म पुग्यो ।

सन्जालमै त्यसको भत्र्सनासमेत भयो । हरक्षेत्रमा मुलुक पतनतर्फ लम्केका बेला हालैको तीजका गतिविधिहरूले असल नारीहरूमा थप हीनताबोध गराएको छ र नेपाली नारीहरूले तीजको सांस्कृतिक एवं धार्मिक तथा आध्यात्मिक पतनको सुरुवात गरेका हुन् भन्ने सन्देश समाजमा निर्विघ्न फैलिएको अवस्था रह्यो । त्यसैबीच अन्तर्राष्ट्रिय मञ्चमा नेपालकी होनहार छोरी देशकी नेतृ माननीय सांसद शोभिता गौतमले ‘योङ्ग वल्र्ड पोलिटिसियन अफ द इयर’ को सम्मान पाएको समाचारले सबै नेपालीलाई गौरवान्वित तुल्यायो । केही दिनअघि मात्रै विश्वका १ सय उदीयमान राजनेताका रूपमा काठमाडौं महानगरका नगरप्रमुख युवा बालेन शाहको नाम अमेरिकाको टाइम्स म्यागेजिनमा प्रकाशित भएको घटनाले पनि भोलिको हाम्रो नेपाल वर्तमान दुरवस्थाबाट उन्मुक्त भई एउटा सुविकसित मुलुकका रूपमा विश्वसामु चिनिने निश्चित रहेको आभास दिएको छ ।

आमूल परिवर्तन असम्भव विषय होइन । देशमा जनताले चाहेको आमूल परिवर्तन नै हो, भ्रष्टाचाररहित सुशासन नै हो, प्रत्येक नेपालीका बीच कुनै राजनीतिक पूर्वाग्रह नरहेको जातीय एकता, समझदारी र पारस्परिक मित्रता हो । अहिलेका युवापुस्ताको राजनीतिक अग्रगमन त्यसै दिशातर्फ उन्मुख छ । कुनै पनि परिवर्तन अहिलेका नेताहरूको व्यर्थको भाषण, गुटबन्दी एवं सत्तामात्र टिकाउने वा हत्याउने चलखेलबाट सम्भव छैन । परिवर्तनले समय माग्छ, जनताको संयम, धैर्य, सुविचार, सकारात्मकता र सुसंस्कृत व्यवहार माग्छ । कटिबद्धता र प्रतिबद्धता माग्छ । त्यसका निम्ति हाम्रो समाज कुनै पनि प्रकारको विकृति र विसंगतिरहित स्वस्थ र शिक्षित बन्दै जानुपर्ने आवश्यकता अपरिहार्य छ । राष्ट्रसेवामा संलग्न सम्पूर्ण स्वनामधन्यहरूको इमानदारिता र जनहितका लागि मात्र कार्य गर्ने लगन चाहिन्छ ।

हल्लिएको दाँत त एक दिन फुक्लिन्छ नै, पर्खनुपर्छ । कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर झैं गरी हाम्रा प्रधानमन्त्री हतारिएर बहुतै सीमित कार्यक्रम र ठूलो टोलीसहित अमेरिका र त्यसपछि चीन भ्रमणको सिलसिलामा काठमाडौंबाट प्रस्थान गरेको पनि निकै भयो । भ्रमणको एजेन्डाबारे अधिकांश विश्लेषक स्वयं अनभिज्ञ रहेको बुझाइमा आमजनता छन् । जानुअघि उहाँले सदनमा पेस गर्नुभएको विवरण नै विश्लेषकहरूका लागि छलफलको विषय स्रोत बनेको छ । अमेरिकाको एमसीसी र चीनको (नेपालको चुच्चे भूभाग नरहेको) हालै प्रकाशित नक्साबारे उहाँको फलदायी छलफल हुने आकलन गरिएको छ ।

नेपालको पर्यटन वृद्धिका लागि उहाँले पोखरा र भैरहवाका दुई नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा छलफल गर्ने भनिएको छ । यता यत्रा वर्षदेखि नेपाली पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले नेपालको पर्यटकीय बजार अभिमुखीकरणका लागि संयुक्त रूपमा बेलायतमा आयोजना गर्दै आएको विश्वकै सबैभन्दा ठूलो वल्र्ड टुरिज्म मार्ट (डब्लूटीएम) मा सहभागी नहुने भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अकारण उर्दी जारी भएको समाचारले पर्यटन व्यवसायीहरूमा नैराश्यता छाएको छ । आफ्नै मन्त्रालयअन्तर्गतका सरोकारवालाहरूसँग मनोमालिन्यताको वातावरण सिर्जना गरेर पर्यटन क्षेत्रमा कहिल्यै पनि ‘विन–विनको अवस्था’ सिर्जना हुन सक्दैन ।

बेथिति सम्हाल्ने र मुलुकबाट भ्रष्टाचारको उन्मूलन गर्ने सरकारको अठोटले जनमानसमा ल्याएको एउटा आसलाग्दो सुखद लहर साम्य हुँदै गइरहेको र सरकारसमक्ष हात्तीसरहका नयाँ–नयाँ चुनौतीहरू तेर्सिंदै गइरहेको देख्दा हाम्रो ३ करोड पनि जनसंख्या नभएको देशमा खर्बौंको बजेट आफ्नै अनावश्यक प्रशासनिक संयन्त्र पाल्ने माध्यमबाहेक उल्लेख्य केही छैन । हिजोका जनता जहाँ जुन अवस्थामा थिए, त्यही अवस्थामा रहनुको अर्थ के हो ? सिपाहीकोे काम छैन, जर्नेलको मान ? अझै पनि दलाल, भ्रष्टाचारी र निकम्मा नेताहरूलाई ‘जधो’ ठोक्नुपर्ने ? बोलीको ठेगान नभएका र जनतालाई सधैं झुक्याउनेहरूको किन जयजयकार ? किन जनता तिनका पछि मन्त्रमुग्ध भई भेडासरह लाम लागेर अनिर्दिष्टतातर्फ ढुक्कले हिँडिरहेका छन् ?
शिक्षा क्षेत्र सुध्रला भन्दाभन्दै आजको दुरवस्थामा पुगिसक्यो । विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन, संविधान छापेर घरघर पु¥याउने हल्ला सुनिन्छ । शिक्षकहरूमा सरकारको नीतिले असन्तोष फैलाएको छ ।

उनीहरू स्थानीय तह (जुन अहिलेसम्मकै बलियो सरकार भएको मानिन्छ) मातहत बसेर काम गर्न मञ्जुर छैनन् । सेवाको सुरक्षाको प्रत्याभूति नभएपछि र संघीय सरकारमा परिवर्तन आउनासाथ स्थानीय सरकारमा पनि त्यसको प्रतिच्छाया पर्ने भएकाले शिक्षकहरूबाट त्यस प्रकारको प्रतिक्रिया आएको हुन सक्छ । देशभरका झन्डै साढे २ लाख शिक्षक, जसले वर्षौंदेखि शिक्षण पेसालाई नै सर्वोत्कृष्ट, प्रतिष्ठायुक्त र समाजमा सदैव मानसम्मान पाइरहने पेसा ठानेर शिक्षादानमा लागिरहे, आज अकस्मात् तिनलाई राजनीतितर्फ खिच्ने जुन नाना थरीको प्रयास भइराखेको छ, त्यो न्यायसंगत नभएको शिक्षाविद्हरूको राय छ । देशभरिका करिब ३५ हजार विद्यालयलाई ठप्प पार्ने दुष्प्रयास चाहे जुनसुकै पक्षबाट किन नहोस्, त्यो हुनु हुँदैन । शिक्षकहरूले गर्ने भनिएको आन्दोलन अधिकार हो, विद्यालयमा पठनपाठन कर्तव्य !
त्यसरी नै उच्च तहका विद्यालय अर्थात् महाविद्यालय (कलेज) र विश्वविद्यालयहरूमा हुँदै आएको राजनीतिक दलहरूको दलीय भागबन्डाको अस्वस्थकर र अनुचित व्यवस्था हुँदै आएको प्रचलन छ, त्यसलाई तुरुन्तै बन्द गरिनुपर्छ । शिक्षालयहरूलाई कहिल्यै राजनीतिक अखाडा र शिक्षकलाई कहिल्यै पार्टी (दल) को झोले बनाउने नियत नराखोस् सरकारले । शिक्षालयहरूमाझ प्रतिस्पर्धा आवश्यक छ तर मुढेबल वा अस्त्रशस्त्रको होइन, छ त उत्कृष्टताको, उत्कृष्ट शिक्षा (एक्सिलेन्ट एजुकेसन) को । आजको सन्दर्भमा झन्डै ३५ लाख नेपाली युवा विद्यार्थी गुणस्तरीय शिक्षा पाउन विदेशका कलेज वा युनिभर्सिटीतिर जान बाध्य भइरहेका छन् र हामीकहाँ त्यही स्तरका कलेज-युनिभर्सिटीमा विद्यार्थीहरूको संख्या शून्य वा न्यून रहेको पाइन्छ । हाम्रो देशको अर्थतन्त्रलाई आजको विषम परिस्थितिमा पु¥याउने मुख्य दोष सरकारको असमान शिक्षा नीति हो । निजी विद्यालयहरूको साख बढ्नुका पछाडि यो पनि एउटा प्रमुख कारक तत्व हो ।

अभिभावकहरूको मनोविज्ञानमा पनि त्यो विषले प्रवेश पाइसकेको छ । अंग्रेजी भाषा, अंग्रेजी गीत, अंग्रेजी नाच र अंग्रेजी ‘मुभी’ ! के सार्वजनिक वा सामुदायिक विद्यालयहरूबाट उत्तीर्ण भएकाहरू अन्तर्राष्ट्रिय शैक्षिक प्रतिस्पर्धामा पछि परेका छन् त ? सायदै होलान् । प्रत्येक सांसद निजामती कर्मचारी र लाभको पदमा बसेकाहरूले आफ्ना नानी–बाबुहरूलाई सामुदायिक-सार्वजनिक विद्यालयमा पढाउनुपर्ने अनिवार्य बनाइयोस्, यसले देशको उत्थानमा महत्वपूर्ण योगदान पुग्ने निश्चित छ ।
हामी स्वास्थ्य सेवा सरल, सहज र सुलभ होस् भन्ने चाहन्छौं, तर बढ्दो रूपमा पटक–पटक स्वास्थ्यकर्मीहरूले सेवाग्राहीहरूबाट अनावश्यक अपमानित हुनुपर्ने र कतिपय स्थितिमा त निर्घात कुटाइ-पिटाइसम्म खानुपर्ने भएको अनेकौं दृष्टान्त छन् । यसका धेरै कारण हुन सक्छन् तर अस्पतालभित्र सेतो पोसाक (कोट) लगाएका सम्पूर्ण स्वास्थ्यसेवीहरू सधैं ती कारणहरूमा पर्दैनन् । उपचार गर्न प्रस्तुत हुने चिकित्सक बाहिर जेजस्तो व्यवहार गर्ने व्यक्ति भए पनि आफ्नो बिरामीका छेउ ऊ हजारौँ रोगको एउटै औषधीका रूपमा प्रस्तुत हुन्छ ।

डाक्टरलाई भेटेर मन खोलेर वार्ता गर्नुले पनि धेरै रोगीको आधा रोग निको हुने गरेको कुरामा सत्यता छ । प्रत्येक डाक्टरले आफ्नो रोगी छिट्टै सञ्चो होस् भन्ने चाहन्छ । त्यस्तै, प्रत्येक नर्सले मन लगाएर रोगीको हरप्रकारले स्याहारमा व्यस्त रहन पाउँदा सन्तोषको अनुभव गरेको देखिएको छ । तर, त्यस्तो निःस्वार्थ पेसाकर्मीहरूमा नैराश्यता सिर्जना गर्ने दुईवटा सम्भावना छन् । पहिलो अस्पतालको रुखो कर्मचारीतन्त्र (ब्युरोक्रेसी) र अर्को रुखो दैव । डाक्टर उपचार गर्ने व्यक्ति हो । जीवनदान गर्न सक्ने क्षमता ऊसँग हुँदैन । तसर्थ उपचारका क्रममा अदृश्य दैवले साथ नदिँदा बिरामीको दुःखद देहान्त हुन्छ । यो राम्रो होइन । तर, रोगीका आफन्तजनले यत्तिमात्र मनन गरेर लास बुझिदिए अस्पतालमा उपचाररत अन्य बिरामीहरूमा यसको नकारात्मक ‘भाइभ’ पुग्ने थिएन र अस्पतालभित्रै चलिरहेको चिकित्साको क्रम स्वाभाविक रूपले चलिरहन्थ्यो ।

अस्पतालको हाताभित्र त्रास र आतंक फैलाएर चिकित्सकलाई निर्घात कुटपिट गर्नु मानवताबाहिरको काम हो, यो रोक्नुपर्छ । त्यस्तो कुनै अप्रिय दुर्घटना अप्रत्याशित रूपमा भइहालेको अवस्थामा र परिवारजनलाई चिकित्सकउपर शंका लागेमा अन्य कुनै अस्पतालमा मृतकको पोस्टमार्टम गराउन अग्रसर हुनुपर्छ र उपचार गर्ने डाक्टरको त्रुटिले बिरामीले ज्यान गुमाउनुपरेको ठहर भएमा अदालतमा त्यस डाक्टरका विरुद्ध न्यायको याचना गर्दै मुद्दा पनि दायर गर्न सकिन्छ । अस्पतालको सम्पूर्ण सेवा ठप्प पार्नु चिकित्सकहरूको हकमा नाजायज र अशोभनीय ठहरिन्छ । अहिलेको सन्दर्भमा विभिन्न घातक रोग र संक्रमणहरू फैलिइरहेको अवस्थामा चिकित्सकहरूले स्वास्थ्य सेवा ठप्प पार्नु सरासर विसंगतिपूर्ण सामाजिक अपराध ठहरिने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्