संघीयता कार्यान्वयनमा सरकार गम्भीर हुनुप-यो’ «

संघीयता कार्यान्वयनमा सरकार गम्भीर हुनुप-यो’

राष्ट्रिय सभाका सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक संविधानको मूल मर्म विपरीत भएको भन्दै संविधान अनुसार संघीयताको सफल कार्यान्वयनका लागि गम्भीर हुन सरकारको ध्यानाकार्षण गराएका हुन् ।
उनीहरुले सैद्धान्तिक दृष्टिले संघीयता विपरित विधेयक आएको भन्दै प्रश्न उठाए । सांसद राधेश्याम अधिकारीले आन्तरिक सुरक्षाको नाममा प्रदेशसभा प्रहरीले हेर्दै आएका कसुरलाई सूचना प्रकाशित गर्दै संघीय प्रहरीले खोस्दै जाने प्रवृति बढ्न सक्ने भन्दै त्यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराए । नेपाल प्रहरीले प्रदेश प्रहरी प्रमुखलाई आदेश वा निर्देशन दिन सक्ने भनेर राख्दा के कस्तो तहकाले निर्देशन दिने भन्ने उल्लेख नभएकाले स्पष्ट पार्नुपर्ने धारणा उनले राखे ।
जितेन्द्र नारायण देवले संघीयता कार्यान्वयन गर्ने गम्भीरता नेपाल सरकार संग नभएको आरोप लगाए । संविधानको मर्म विपरीत संघीय प्रहरीको शाखाको रुपमा प्रदेश प्रहरीलाई स्थापित गर्न खोजिएको भन्दै संविधानको सही कार्यान्वयनमा गम्भीर हुन उनले सरकार र गृहमन्त्रीको ध्यानाकर्षण गराए । कर्मचारीतन्त्र र सरकारभित्रैबाट पनि संघीयतालाई खतरा रहेको भन्दै उनले त्यसतर्फ गम्भीर हुन गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
रामनारायण विडारीले संघीयता कार्यान्वयनको विषय पुरानो साइकल चलाई राखेकालाई नयाँ साइकलको बानी नपरे जस्तै भएको टिप्पणी गरे । प्रदेश प्रहरीलाई अनुसन्धान गर्न सक्दैन भन्ने अनुमान गर्नु संघीयताको मर्मविपरीत भएको भन्दै उनले सबैतर्फ योग्यतामा समरुपता कायम गरेर प्रदेश प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने धारणा राखे ।
सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले संविधानमा व्यवस्था भए अनुसार नै विधेयकमा प्रदेशलाई दिने अधिकार परिमार्जित ढंगले दिने काम गरिएको र प्रदेशको अधिकारलाई अतिक्रमण गर्ने प्रयास नगरिएको स्पष्ट पारे । नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकार अतिक्रमण भएको भए परिमार्जनका लागि भूमिका खेल्न पनि उनले आग्रह गरे । प्रमुख जिल्ला अधिकारीलाई दोहोरो भूमिका दिइएको र निश्चित अवस्थामा संघीय नेपाल प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन र नेतृत्व केन्द्रले लिने उनले स्पष्ट पारे । उनले अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी केन्द्र र प्रदेश दुवैको भएको भएपनि संघीय प्रहरीले दोहोरो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
छलफलपछि बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्