झापामा फोहोर व्यवस्थापनको सकस

बिर्तामोड– पछिल्लो समय झापामा फोहोर व्यवस्थापन गर्न सकस भएको छ । जिल्लामा ठूलो परिमाणमा फोहोर उत्पादन हुने भए पनि त्यसको उचित व्यवस्थापन गर्न नसक्दा झापा फोहोरी जिल्लाको रुपमा दरिन थालेको छ । बढ्दो सहरीकरणसँगै फोहोर फाल्ने स्थानको अभाव, सहरमा उत्पादित फोहोरका कारण वातावरणमा पर्ने प्रभाव तथा डम्पिङ साइट आसपासका स्थानीयले विरोध गर्ने गरेका कारण झापामा फोहोरको समस्या दिनानुदिन बढ्दै गएको छ ।
झापाका विभिन्न सहरमा जताततै फोहोर थुपार्दा दुर्गन्ध बढेको छ । फोहोरमैलाको दिगो व्यवस्थापनका लागि डम्पिङ साइट नहुँदा झापामा फोहोर व्यवस्थापन गर्न सकस भएको हो । झापामा सबैभन्दा बढी फोहोर उत्पादन हुने बिर्तामोड नगरपालिकामा फोहोर व्यवस्थापन गर्न पनि बढी नै सकस भएको छ । तीव्र सहरीकरण हुँदै गएको बिर्तामोड नगरपालिकामा फोहोर विसर्जन गर्ने स्थान अभाव हुँदा हप्तौंसम्म फोहोर नउठेर दुर्गन्धित बन्दै गएको छ ।
नगरपालिकाले जनस्तरमा फोहोर वर्गीकरण शिक्षा प्रदान गरिसकेको भए पनि सहरमा फोहोर वर्गीकरण गर्न मुख्य चुनौती रहेको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डे बताउँछन् । शहरमा उत्पादित फोहोर एकै ठाउँमा राख्ने गरिएका कारण झापाको कनकाईमा निर्माण गरिएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा प्लान्टमा फोहोर लैजान समस्या भएको उनले बताए । फोहोरमैलाको दिगो व्यवस्थापनका लागि निर्माण गरिएको प्लान्ट पूर्ण क्षमतामा चलाउन नसक्दा त्यहाँ गरिएको करोडौं लगानी डुब्ने अवस्थामा छ ।
२०७५ सालदेखि निर्माण सुरु भएको ऊर्जा प्लान्ट सञ्चालनको सम्पूर्ण तयारी पूरा गरिएको भए पनि सञ्चालन गर्न चाहिने कुहिने फोहोर संकलन नहुँदा त्यहाँ गरिएको करोडौं लगानी डुब्ने अवस्थामा रहेको सञ्चालक दीपक चापागाईंले बताए । ‘फोहोर संकलन गरेर प्लान्टबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन गर्ने लक्ष्य राखिए पनि प्लान्ट निर्माण सम्पन्न भएको १ वर्ष बितिसक्दा समेत सञ्चालन गर्न चाहिने कुहिने फोहोर संकलन नहुँदा समस्या भएको छ,’ उनले भने ।
प्लान्टबाट मलबाहेक निर्माण सामग्री (पेवर्स) बनाइने ‘कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन’ कम्पनीका प्राविधिक जीवन श्रेष्ठले बताए । पेवर्स बनाउने उपकरण खरिदका लागि तीन स्थानीय तहबीच हालसम्म समन्वय नै हुन नसकेको उनको भनाइ छ । ‘४ हजार टन क्षमताको प्लान्टबाट हरेक दिन १ हजार किलोे ग्यास, ४ हजार किलो ठोस मल र ३० हजार लिटर झोल मल उत्पादन गर्न सकिन्छ,’ उनले भने । ६० प्रतिशत सरकारी लगानी भएको कनकाई नवीकरणीय ऊर्जामा कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले २ करोड ५४ लाखका दरले लगानी गरेका छन् ।
कुल २२ करोड लगानी भएको उक्त परियोजना सञ्चालनमा आएपछि फोहोरमैलाको दिगो व्यवस्थापन हुने बताइए पनि सामान्य परीक्षणबाहेक लक्ष्य अनुसारको काम हुन नसकेको सञ्चालक चापागाईंले बताए । पहिलो चरणमा कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले लगानी गरे पनि शिवसताक्षी, मेचीनगर र भद्रपुर नगरपालिका समेतले आफ्नो नगरको फोहोरमैला व्यवस्थापनका लागि कनकाई ऊर्जासँग सहकार्य गर्ने मनसाय बनाएका छन् । तर, यसबारे ठोस काम भएको छैन ।
कनकाई ऊर्जा सञ्चालनपछि उत्पादित ग्यास ठूला होटल र उद्योगहरूमा निर्यात गर्ने योजना सञ्चालकको भए पनि त्यो पूरा हुनेमा उनले आशंका व्यक्त गरे । परियोजनाका प्राविधिक श्रेष्ठले फोहोरको स्रोतमै वर्गीकरण हुन आवश्यक भएको बताउँदै वर्गीकरण गरिएको फोहोर संकलन गरेर प्लान्टमा प्रयोग गरिने जानकारी दिए । आम नागरिकले कुहिने, नकुहिने र धातुजन्य फोहोर अलग्गै छुट्याएर दिनुपर्ने बताउँदै उनले झापाका कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले फोहोरलाई वर्गीकरण गरेर छुट्याउने काम नै गर्न नसकेको जनाए ।
‘प्लान्टलाई आवश्यक पर्ने कुहिने फोहोर जम्मा नभएपछि स्थानीय कृषकको गोठबाट गोबर संकलन गरी परीक्षण उत्पादनसम्म गरिएको छ,’ उनले भने । बिर्तामोड नगरपालिकाकै सक्रियता र तीनवटा नगरपालिकाको सहभागितामा कनकाईमा फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण भएको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले बताइन् । नगरपालिकाले कुहिने फोहोर ढुवानीका लागि गाडी पनि खरिद गरिसकेको बताउँदै उनले नागरिकले फोहोर वर्गीकरण नगर्दा फोहोर संलन गर्ने काम चुनौतीपूर्ण बनेको बताइन् ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाले फोहोर वर्गीकरणका लागि नगरवासीलाई तालिम दिइसकेको बताए । कनकाईमा उत्पादित फोहोर प्लान्टमा लान थालिएको र कुहिने फोहोरबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन हुन थालेको उनले जानकारी दिए । असारदेखि ग्यास उत्पादन हुन थाले पनि हालसम्म बिक्री नभएपछि उत्पादित ग्यास हावामा नष्ट गर्दै आएको कनकाई नगरपालिकाका सूचना अधिकारी खगेन्द्र मिश्रले जानकारी दिए । ग्यास बिक्रीका लागि पर्याप्त सिलिण्डर खरिद गरिएको भए पनि हालसम्म उत्पादित ग्यास खेर गइरहेको उनले बताए ।
त्यस्तै अर्जुनधारा नगरपालिकाले प्लान्टमा फोहोर व्यवस्थापनका लागि लैजाने विषयमा प्रक्रिया सुरु नगरेको फोहोर व्यवस्थापन शाखाका कर्मचारी माधव भण्डारीले बताए । प्लान्ट बनिसकेपछि फोहोर वर्गीकरणका लागि स्थानीयलाई तालिम प्रदान गर्नुपर्नेमा यसतर्फ हालसम्म नगरले कुनै चासो नराखेको उनी बताउँछन् । फोहोर वर्गीकरणका लागि वडाका नागरिकलाई तालिमसम्म नदिइएको उनले बताए ।
स्थानीय एकजना व्यवसायीको अर्जुनधारा–४ को बागेडाँगी भन्ने स्थानको जमिनमा फोहोर थुपार्दै आएको अर्जुनधारा नगरपालिकाले अर्काे वर्ष पनि फोहोर फ्याल्न सम्झौता गर्ने तयारी गरेको भण्डारीले जानकारी दिए । अर्जुनधारा नगरपालिकामा फोहोर व्यवस्थापनको ठूलो समस्या नभएको बताउँदै उनले नगरपालिकामा प्रशस्त खाली जमिन भएकाले जहाँ पनि डम्पिङ साइट बनाउन सकिने तर्क गरे । अर्जुनधारामा २० प्रतिशतमात्र कुहिने फोहोर उत्पादन हुँदै आएको उनको भनाइ छ ।