युट्युबर र सामाजिक सञ्जालमाथि खनिए सञ्चारमन्त्री «

युट्युबर र सामाजिक सञ्जालमाथि खनिए सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले युट्युबर र सामाजिक सञ्जालले समाजलाई दिग्भ्रमित बनाएको भन्दै आलोचना गरेका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जाल र विशेषगरी युट्युबरको आलोचना गरेका हुन् ।
मन्त्री बास्कोटाले भने, “नेपाली मिडियालाई सामाजिक सञ्जालले दिग्भ्रमित पारेको छ ? युट्युब मिडिया हो कि होइन ? यसैलाई नियमन गर्न सूचना प्रविधि विधेयक ल्याइएको हो ।” सञ्चारमन्त्री बास्कोटाले ‘सोसल मिडिया ट्रायल’ शब्दावलीप्रति आपत्ति जनाउँदै अदालत नै सबैभन्दा ठूलो ट्रायल भएको बताए ।
उनले सञ्चारमाध्यमले उत्तेजना फैलाउने काम गर्न नहुने बताउँदै जिम्मेवार प्रेसको भूमिका निर्वाह गर्न आग्रह गरे । प्रेस कार्ड नै नभएका युट्युबरलाई पत्रकार भन्न नमिल्ने उनको भनाइ थियो । उनले युट्युबरप्रति कटाक्ष गर्दै भने, “अस्ति सिंहदरबारमा कर्मचारी मृत्यु भएको दिन भित्र पस्न पाएनछन्, नत्र के–के रहस्य भनेर सनसनी मच्चाउँथे ।” हालैमात्र सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा एक कर्मचारी मृत भेटिएका थिए ।
फरक प्रसंगमा उनले चिहानमा आराधना गरेर मरेको राजतन्त्र फर्किन नसक्ने टिप्पणी गरे । बाँस्कोटाले भने, “अब मरेको राजतन्त्रले फणा उठाउन सक्दैन ।” नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र बचाउने जिम्मेवारी सबैको भएको बताउँदै उनले पछाडि फर्किन नसकिने बताए । सर्वदलीय बैठक राजतन्त्र फर्किन सक्ने भनेर नबोलाइएको उनले स्पष्ट पारे । उनले प्रश्न गरे, “कुन देशको राजा ? लावण्य देशको ? राजतन्त्र एकादेशको कथा भइसक्यो । अब इतिहासमा पढिनेछ बाइसे–चौबीसे राजादेखि अन्तसम्मको कुरा ।” उनले धमिलो पानीमा माछा मार्ने दिन सकिएको पनि बताए ।

प्रधानमन्त्री देशमा नहुँदा पनि मन्त्रिपरिषद् बैठक बस्ने

प्रधानमन्त्री केपी ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओली सिंगापुर रहँदा पनि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका हुन् ।
सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री नहुँदा पनि भिडियो कन्फ्रेन्सलगायत प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री ओली दुई साताका लागि बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । उनी दुई साता उतै रहनेछन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला निर्णयहरु सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका छन् । उनका अनुसार सरकारले नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका सदस्यमा महानगरपालिकाका मेयरहरु, प्रधानसेनापति, पूर्वराजदूतहरु र वैदेशिक रोजगार संघका अध्यक्ष थप गर्ने निर्णय गरेको छ ।
त्यसैगरी स्थानीय तह तथा प्रदेशका जनप्रतिनिधिहरुलाई तालिम र क्षमता अभिवृद्धिका लागि नर्वे, युरोपियन युनियन र अमेरिकाका अन्तर्राष्ट्रिय विकास साझेदारहरुबाट ११ अर्ब अनुदान स्वीकार्ने निर्णय पनि गरेको छ । यस्तै बर्दियाका मुक्त कमैया बस्तीका रुख हटाउन सम्बन्धित निकायलाई स्वीकृति दिएको छ ।
प्रदेशस्थित मन्त्रालयहरुको सचिव पदमा राजपत्रांकित सहसचिव खटाइने र यसका लागि सामान्यबाट जेष्ठताका आधारमा कम्तिमा १ वर्षका लागि खटाउने निर्णय गरेको छ । यस्तै २१ जिल्लाका निर्माणाधीन आयोजना सञ्चालन गर्न भदौभित्र बजेट तोक्ने र कात्तिकभित्र निकासा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिए ।
न्यायालयका कर्मचारीहरुलाई ७६ साउन १ देखि नयाँ तलबमान स्वीकृत गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि आगामी कार्यक्रमका लागि अस्थायी कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यस्तै सरकारले मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत गाईघाट क्षेत्रमा पर्ने ऐलानी जग्गामा बनेका स्थायी र अस्थायी संरचना क्षतिपूर्ति दिएर हटाउने निर्णय पनि गरेको छ । नवलपरासीमा धौवाधी फलामखानी लिमिटेड स्थापना गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्