१२ करोडको सीमा हटाउन गभर्नर लचक «

१२ करोडको सीमा हटाउन गभर्नर लचक

काठमाडौं– लामो समयदेखि सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लचक देखिएका छन् । अर्थमन्त्री प्रकाशशरण महतसँग भएको पटक–पटकको छलफल र लगानीकर्ताहरूको चर्को दबाबपछि गभर्नर अधिकारीले यो सीमा हटाउने तयारी गरेका हुन् ।

राष्ट्र बैंकले तुरुन्तै निर्देशिकामार्फत यो व्यवस्था हटाउन लागेको स्रोतको दाबी छ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिलाई यो सीमा तुरुन्तै हटाएर सेयर बजारलाई खुला गर्ने प्रतिबद्धता गभर्नरले जनाएको बुझिएको छ । मंगलबार समितिको बैठकमा गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमामा पुनरावलोकन गर्ने सहमति जुटेको छलफलमा सहभागी एक अधिकारीले कारोबारलाई जानकारी दिए ।

‘समग्र बजेट कार्यान्वयन गरी अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा छलफल भएको थियो । जसमा सेयर धितो कर्जाको सीमा हटाउने विषयमा पनि छलफल भयो,’ छलफलमा सहभागी एक अधिकारीले भने, ‘गभर्नरले तुरुन्तै यसलाई पुनरावलोकन गर्ने जानकारी छलफलमै दिनुभयो ।’ पछिल्लो समय सेयर बजार घट्दो क्रममा रहँदा सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंकलाई निकै दबाब आएको छ ।

सरकारले घरजग्गाको कित्ताकाट खुकुलो बनाएसँगै लगानीकर्ताहरूले सेयर बजारलाई पनि खुकुलो बनाएर जानुपर्नेमा जोड दिँदै आएका छन् । मौद्रिक नीतिमार्फत नै यसलाई हटाउनका लागि राष्ट्र बैंकलाई दबाब थियो । तर, मौद्रिक नीतिले त्यसलाई सम्बोधन गरेन । पछिल्लो समय अर्थमन्त्री महतले ब्याजदर र सेयर बजारसम्बन्धी नीतिमा गभर्नरसँग निरन्तर छलफल गर्दै आइरहेका छन् । लगातारको छलफलपछि गभर्नर अधिकारीले यस नीतिमा लचक हुने जनाउ दिएको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ।

गभर्नरले पुनरावलोकनका लागि जनाउ दिए पनि ठ्याक्कै कुन नीति लागु गर्ने भन्नेबारे निक्र्यौल भइसकेको छैन । तर, उच्चस्तरीय समिति बैठकमा सेयर धितो कर्जाको सीमालाई २० करोड बनाउने औपचारिक प्रस्ताव पुगेको छलफलमा सहभागी अर्का अधिकारीले जानकारी दिए । ‘सेयर धितो कर्जाको सीमालाई १२ बाट २० करोड बनाउनुपर्ने प्रस्ताव आएको थियो,’ ती अधिकारीले भने, ‘गभर्नर अधिकारीले छलफल गर्छौं भन्नुभएको छ ।’

गभर्नर अधिकारीले तुरुन्तै पुनरावलोकन गर्ने संकेत गरे पनि मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षासम्म पर्खने वा अहिले नै हटाउने भन्ने विषयमा राष्ट्र बैंकमा छलफल भएको छैन । राष्ट्र बैंकका एक अधिकारीले अर्थमन्त्रीले छिट्टै यसलाई पुनरावलोकन गर्न भनिरहेकाले तत्काल संशोधन हुन सक्ने सम्भावना रहेको औंल्याए । ती अधिकारीले भने, ‘गभर्नरले नै तुरुन्तै भन्नुभएको छ । यसको अर्थ तुरुन्तै भन्ने नै हो जस्तो लाग्छ ।’ गभर्नर अधिकारीले सीमा हटाउने संकेत गरेसँगै लगानीकर्ताहरू उत्साहित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्