आयातित वस्तुमा निर्भर निर्यात व्यापार

पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुहरूको संरचनामा परिवर्तन हुँदै गएको देखिन्छ । केही समयअघिसम्म नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरू भन्नेबित्तिकै ऊनी गलैंचा, पस्मिना, जुट तथा जुटका सामान, तयारी पोसाक आदि पर्थे । तर, पछिल्ला आर्थिक वर्षहरूका आँकडा हेर्ने हो भने नेपालको निर्यात व्यापारको संरचना बदलिएको छ । नेपालबाट निर्यात हुने मुख्य वस्तुहरूमा पामतेल, भटमासको तेल, सूर्यमुखी तेलजस्ता प्रशोधित खाद्य तेलहरू पर्ने गरेका छन् । यी वस्तु नेपालको आन्तरिक उत्पादनबाट भन्दा पनि आयातित कच्चा पदार्थलाई प्रशोधन गरेर अन्य मुलुकमा निर्यात गर्ने गरिएको छ । विभिन्न मुलुकबाट पाम, तोरी, भटमासजस्ता तेलहन वस्तुहरूको ठूलो मात्रामा कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर विशेष गरी छिमेकी मुलुक भारतमा यस्ता वस्तुहरू निर्यात गर्ने गरेको देखिन्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९-८० मा नेपालबाट विभिन्न मुलुकमा करिब १ खर्ब ५७ अर्ब १४ करोडबराबरको वस्तु निर्यात भएको जनाएको छ । कुल निर्यात भएका वस्तुमध्ये अग्रस्थानमा प्रशोधित पाम तेल परेको छ । गत आव २० अर्ब ५० करोड ९१ लाखबराबरको पाम तेल मात्र निर्यात भएको छ । जसले कुल निर्यातको करिब १३ प्रतिशत हिस्सा ओगट्छ । पाम तेल पछिल्ला पाँचमध्ये तीनवटा आवमा सर्वाधिक निर्यात हुने वस्तुको सूचीमा समेत पर्न सफल भएको वस्तु हो । यसैगरी बढी निर्यात भएको वस्तुको पाँचौं स्थानमा सोयाबिन तेल परेको छ । गत आव ८ अर्ब ४७ करोडको सोयाबिन तेलमात्र निर्यात भएको छ । यो निर्यात हिस्सामा ५.४ प्रतिशत हो । यसैगरी करिब ४४ करोड १८ लाखबराबरको सूर्यमुखी तेल निकासी भएको थियो । आव ०७८-७९ मा भएको कुल निर्यातमा करिब ३५ प्रतिशतभन्दा बढी योगदान सूर्यमुखी, पाम र भटमासको तेलको थियो । गत वर्ष भने यो योगदान घटेर करिब २० प्रतिशतमा झरेको छ । तथापि, यी वस्तुहरूको वर्चस्व कायमै रहेको छ ।
मुलुकको निर्यात व्यापारमा प्रमुख भूमिका निर्वाह गरेका पाम (ताडी वा खजुर) तेल, भटमास तेल तथा सूर्यमुखी तेलजस्ता वस्तुको आन्तरिक उत्पादन भने पर्याप्त छैन । पूर्वी तराईका केही जिल्लामा पाम रोपिने भए पनि यसको उपयोग निकै कम हुने गरेको छ । यी उत्पादन स्थानीय बजारमै खपत हुने गरेका छन् । भटमास देशैभर उत्पादन हुने नगदे बाली हो । तर, व्यावसायिक रूपमा भटमास खेतीको अभ्यास छैन । सूर्यमुखीको समेत मुलुकका केही विशेष क्षेत्रमा मात्र उत्पादन गरेको पाइन्छ । यी वस्तुको आन्तरिक उत्पादनले स्थानीय बजारको मागसमेत धान्न सम्भव देखिँदैन । तथापि, ठूलो परिमाणमा यस्ता वस्तुहरू निर्यात भएको देखिन्छ । निर्यात भएका प्रशोधित पाम तेल, भटमास तथा सूर्यमुखी तेल नेपालको कच्चा पदार्थबाट बनाइएको उत्पादन भने होइनन् । यी वस्तुका कच्चा तेल इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, युक्रेन, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट आयात गर्ने गरिन्छ ।
गत आवमा तोरी मात्रै २४ अर्ब ६ करोड ३ लाखको आयात भएको तथ्यांक छ । यसैगरी कच्चा पाम आयल मात्र २५ अर्ब ९१ करोड ५४ लाख ८७ हजारको आयात भएको देखिएको छ । यसैगरी भटमासको तेल पनि १२ अर्ब ६७ करोडको आयात भएको देखिएको छ । नेपालका व्यवसायीहरूले यही आयातित कच्चा तेललाई प्रशोधन गरेर छिमेकी मुलुक भारतमा निर्यात गर्ने गर्छन् । विश्व व्यापार संगठन, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र भारतले दिएको विशेष सुविधाको लाभ नेपाली व्यवसायीले यी वस्तुको निर्यातबाट लिने गरेका छन् । अल्पविकसित मुलुकले गरेको प्रशोधित वस्तु निर्यातमा भारतले ट्यारिफ लिँदैन । यद्यपि यस्ता वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धि (भ्यालु एड) भएको हुनुपर्छ ।
अन्य देशबाट हुने आयातमा भने ३० प्रतिशत ट्यारिफ लाग्छ । आयातित कच्चा तेल प्रशोधन गरेर नेपाली व्यवसायीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धिसहित नाफा गर्ने गरेका छन् । अर्को मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने मात्र होइन, प्याकेजिङ गरेरै भारत निकासी गर्ने अन्य वस्तु पनि छन् । सुपारी, मरिच, छोकडा, केराउजस्ता वस्तु नेपाललाई आवश्यक पर्नेभन्दा बढी आयात गरेर अवैध बाटोमार्फत भारत पठाउने गरेको पनि पाइएको छ । यसरी हेर्दा डलर खेर्च गरेर भिœयाइएका कच्चा पदार्थलाई प्रशोधन गरेर भारतीय रुपैयाँमा बिक्री गरेको देखिन्छ । यसैकारण राज्यले यसबाट अपेक्षित लाभ लिन सकिरहेको अवस्था छैन । नेपालको गार्हस्थ्य उत्पादनमा यसले कुनै भूमिका खेल्न सकेको छैन ।
मुलुकको निर्यातमा ठूलो हिस्सा ओगट्ने वस्तुहरू आयातित कच्चा पदार्थमा निर्भर भएका कारण गत वर्ष नेपालबाट निर्यात हुने दर एकै आर्थिक वर्षमा २१.४ प्रतिशतले घटेको छ । पछिल्लो समय भारतले प्रशोधित तेलको आयातमा केही कडाइ गरेपछि यो स्थितिको सिर्जना भएको जनाइएको छ । भन्सार विभागका अनुसार आव ०७८-७९ मा करिब २ खर्बको वस्तु नेपालबाट निर्यात भएकोमा गत वर्ष ४३ अर्बले घटेर १ खर्ब ५७ अर्बमा खुम्चिएको छ । यसैगरी मुलुकको राजस्वमा समेत प्रतिकूल प्रभाव परेको देखिएको छ । यसको प्रमुख कारण प्रशोधित तेलको निर्यातमा आएको असन्तुलन नै हो । आगामी आवमा समेत यसको प्रभाव देखिने संकेत गरेको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांकले पाम, भटमास र सूर्यमुखी तेलको निर्यात परिमाण खस्किँदो देखाएको छ । पहिलो महिनामै पाम नेपालको निर्यात ३ अर्ब ३१ करोड बढीले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनमा ४३ करोड २० लाखबराबरको पाम तेल नेपालले निर्यात गरेको छ । अघिल्लो वर्षको साउनमा ३ अर्ब ७४ करोड २७ लाखबराबरको पाम निर्यात भएको थियो । यसैगरी अघिल्लो वर्षको साउनमा ७ करोड ९१ लाख बढीको सूर्यमुखी तेल निर्यात भएकोमा चालू आवको सोही महिनामा भने ४ करोड ८३ लाखमा झरेको छ । अघिल्लो वर्षको साउनमा १ अर्ब ५९ करोड ६२ लाखबराबरको भटमास तेल निर्यात भएकोमा चालु आवको पहिलो महिनामा १४ हजार रुपैयाँमात्रैको यस्तो तेल नेपालले निर्यात भएको तथ्यांक भन्सार विभागको छ ।यसको प्रभाव सम्पूर्ण वैदेशिक व्यापारमा पर्ने आकलन गर्न सकिन्छ ।
नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभई अधिकांश आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले निर्यात व्यापार अस्थिर देखिएको छ । आत्मनिर्भर अर्थतन्त्रका लागि यो एउटा चिन्ताको विषय बन्न पुगेको छ । यसको निराकरणका लागि नेपालले तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभका क्षेत्र तथा वस्तुहरूको पहिचान गरी निर्यात व्यापारलाई अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । नेपालले निर्यात गर्न सक्ने सम्भावना भएका धेरै वस्तु छन्, जसको निर्यातबाट मात्रै नेपाली किसान, उत्पादन, उद्यमी र राज्यकै लागि फाइदाजनक हुन सक्छ ।
अल्लो, अलैंची, अगरबत्ती, फेल्ट, अदुवा, जडीबुटी, हाते कागज, यार्न तथा टेक्सटाइल, धनियाँ तथा बेसार र गुन्द्री–डोकोजस्ता वानस्पतिक रेसाबाट बनेका हस्तकलाका वस्तु निर्यातबाट नेपालले तत्कालै १ खर्ब ९६ अर्बको निर्यात बढाउन सक्ने सम्भावना बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्स्पोट्र्स एसोसिएनको अध्ययनले देखाएको छ । मौलिक उत्पादन र वस्तुको निर्यात गर्दा विश्व बजारमा प्रतिस्पर्धाको डर पनि नहुने र पाम, भटमासको तेलजस्ता भारतले जति बेला पनि रोक्न सक्ने वस्तुको निर्यातजस्तो जोखिम पनि नहुने हुँदा यी भरपर्दा निर्यातका वस्तुहरू बन्न सक्छन् । पछिल्लो समय नेपालमै उत्पादित अलैंची, कुचो, सिमेन्ट, बिजुलीजस्ता वस्तुहरूमा देखिएको उत्साहजनक निर्यातले केही आशाका किरण देखाएको छ । नेपालमै उत्पादन हुने कच्चा पदार्थमा आधारित उद्योगहरूको प्रवद्र्धन गरेर उत्पादन र उत्पादकत्व वृद्धि गरेको खण्डमा मात्र नेपालको निर्यात व्यापार स्थिर हुनुका साथै यसबाट अपेक्षित लाभ लिन सकिने देखिन्छ ।