रामारोशनमा आएका २५९ विदेशी अलपत्र «

रामारोशनमा आएका २५९ विदेशी अलपत्र

अछामको चौखुट्टेमा अछामी जनतासँग देउडा खेलिरहेका विदेशी नागरिक । तस्बिरः मुकेश चौधरी

धनगढी– सामाजिक सञ्जालबाट एक महिना लामो अन्तर्राष्ट्रिय सञ्जालको निम्तो पाएर आएका २३९ जना विदेशी नागरिक अछाम जिल्लाको सीमानाका चौखुट्टेमा अलपत्र परेका छन् ।

प्रदेशकै मनमोहक पर्यटकीय रामारोशनमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र त्यहाँको रमणीय वातावरणमा घुमफिर गर्ने अवसर रहेको भनि निम्तो पाएका विदेशीलाई प्रशासनले जिल्ला प्रवेश गर्ने अनुमति नदिएपछि उनीहरु चौखुट्टेमा टेन्ट लगाएर बसेका हुन् । उनीहरु स्थानीयसँग रमाएर बसिरहेको त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।

अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले प्रशासनसँग समन्वय नगरी बुटवलका एक व्यक्तिले ती विदेशीलाई बोलाएको बताए । उनले यहाँको नियम कानुन थाहा नपाएर आएको हुनाले विदेश नागरिकले दुःख पाइरहेको बताए । ‘यहाँको नियम कानुन, सुरक्षा र बसोबासको अवस्था के भन्ने कुरा नबुझि बोलाएको छ,’ उनले भने, ‘रामारोशन गएर घुम्ने, कार्यक्रम गर्ने अनुमति नभएकाले हामीले सीमानामै राकेर राखेका छौं ।’

उनका अनुसार बुटवलका युवा नेता सिजन खनालले भाइचारा बढाउन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भनि विदेशीलाई बोलाएका हुन् । खनालले सोमबार जिल्ला प्रशासन कार्यालयमै आएर आफूलाई भेटेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनले रामारोशन गाउँपालिकामार्फत् प्रदेश सरकार र नेपाल पर्यटन बोर्डसँग विदेशी नागरिकलाई रामारोशन प्रवेशको अनुमति माग गरिएको बताए ।

प्रदेश सरकार र पर्यटन बोर्डले विदेशी ल्याएर रामारोशनमा कार्यक्रम गर्ने अनुमित दिए मात्र रामारोशन जान अनुमति दिइने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । खनालले एक महिने कार्यक्रम भनेर दुई हजार विदेशीलाई बोलाएका छन् । ती विदेशीले एकदेखि तीन महिनाको भ्रमण भिसा लिएर आएका छन् । अझै विदेशी आउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रामारोशन जाने भनि यति धेरै संख्यामा विदेशी आएको पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्