Logo

मादल बनाउने पेसा संकटमा

दाङ– घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादी नयाँ मादल बनाउन र पुराना मादल मर्मत गर्न गरेर आफ्नो जिवन चलाउने गरेका छन् । चाडपर्व सुरु भएसँगै उनी पनि अहिले व्यस्त हुन थालेका छन् ।

हरितालिका तीजसँगै पछि दसैं, तिहारलगायतका पर्वहरू नजिकिँदै गर्दा घर खर्चका लागि आयश्रोत जुटाउन मादल बनाउने गरेको उनी बताउँछन् । तर बनाएका मादल बिक्री हुन समस्या रहेको उनको गुनासो छ । केही वर्ष अघिसम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै जुठे भन्छन्, ‘पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ ।’

साढे चार दशक बढी समयदेखि मादल बनाउने र बिक्री गर्ने पेसामा संलग्न रहँदै आएका जुठे मादल बिक्री हुन छोडेपछि वर्षैभरी फुर्सदिलो बन्नु पर्दा पेसा नै हराउँछ कि भन्ने चिन्ता लाग्ने गरेको बताउँछन् । करिब १०/१२ वर्ष अघिसम्म तीज, दसैं तिहारलगायतका चाडपर्वमा ग्राहकलाई मादव पुर्‍याउन धौधौ पर्ने र चाडपर्वको समयमै मादल बिक्री गरेर लाखसम्म आम्दानी गर्ने गरे पनि अहिले वर्षभरी बिक्री गर्दा पनि ५०/६० हजार नपुग्ने गरेको उनी बताउँछन् ।

पछिल्लो समय प्रविधिको विकाससँगै हातहातमा मोबाइल आएको र मादल पनि सस्तोमा भारतबाट भित्रन थालेपछि मादल तथा बासुरी बनाउने पुख्र्यौउली पेसा संकटमा पर्न थालेको उनी बताउँछन् । जुठेको जस्तै दुखेसो छ स्वर्गद्वारी आश्रम टोलकै ५० वर्षीय रामप्रसाद बादीको पनि छ । कुनै समय मादल बनाएर बिक्री गरेर पाँच जनाको परिवार पाल्ने गरेका रामप्रसादले पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्न थालेको बताउँछन् ।

प्रविधिको विकाससँगै जातीय र सांस्कृतिक पेशाका रूपमा रहेको मादल बनाउने पेसा लोप हुने क्रम बढेपछि परिवार पाल्नकै लागि विगत ५/६ वर्षदेखि घर बनाउने काम गर्दै आएको रामप्रसाद बताउँछन् । ‘पहिले मादल बनाउँदै बिक्री गरेर परिवार पाल्न सकिन्थ्यो । अरु काम गर्नु पर्दैन थियो, वर्षभरी नै मादल बनाउने हुन्थ्यो’, रामप्रसाद भन्छन्, ‘तर अहिले मादलको बिक्री घटेको छ,जसले गर्दा चाडपर्वको समयमा मात्रै बनाउने गरेको छु ।’

चाडपर्वसँगै सांस्कृतिक कार्यक्रममा मौलिक बाजा भन्दा बढी प्रविधिमा आधारित साउण्डस्टिम, हातहातमा मोबाइलसँगै स्वदेशमा उत्पादन भएका मादल बिक्री हुन छोडेको उनी बताउँछन् । पहिले तीज, दसैं, तिहारलगायतका चाडपर्वहरू आउँदा मादल बनाउन गाउँमै बोलाउने देखि मर्मतका लागि घरमै आउने गरेपनि पछिल्लो समय छिटफुटका रूपमा मादल किन्न तथा बिग्रिएका मादल बनाउन आउने गरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्